रेडियन्ट पब्लिक, रिब्स र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार च्याम्पियन बनेका छन्। रेडियन्ट सिनियर ब्वाइज, रिब्स सिनियर गल्र्स र स्वर्णिम यु–१२ गल्र्समा पहिलो भए ।
स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा रेडियन्टले राराहिललाई ५८–४३ ले पराजित गर्यो । रेडियन्टका सुसनराज न्यौपानेले २७ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा रिब्सले एक्सेल्सियरलाई २२–६ ले हरायो । रिब्सकी सुप्रिया मल्लले ८ अंक जोडिन् ।
यु–१२ गल्र्स फाइनलमा स्वर्णिमले चाँदबागलाई ४–२ ले पाखा लगायो । स्वर्णिमका लागि पलिस्था हाडाले २ स्कोर गरिन् । यो विधा पहिलो पटक एक्सेल्सियर कपमा समावेश गरिएको हो ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय सुसन, सुप्रिया र पलिस्था ‘मोस्ट भेलुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा ओरेकल रे, सिनियर गल्र्समा ह्वाइटफिल्ड र यु–१२ गल्र्समा युरो स्कुल उदीयमान टिम चुनिए । बास्केटबलको ३ विधामा २६ टिम सहभागी थिए ।
काष्ठमण्डपलाई दोहोरो उपाधि
एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा काष्ठमण्डप विद्यालयले शुक्रबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डपले यु–९ र यु–१३ उमेरसमूहमा उपाधि जित्यो ।
यु–९ को फाइनलमा काष्ठमण्डपले एक्सेल्सियरलाई २–१ गोलले पराजित गर्यो । काष्ठमण्डपका अनय रेग्मीले दुवै गोल गरे। एक्सेल्सियरका आरभ गौतमले १ गोल फर्काए ।
यु–१३ को फाइनलमा काष्ठमण्डपले एक्सेल्सियरलाई २–१ गोलले हरायो । विजयी टिमका लागि सुजस्विन ओझा र सम्यम बुढाथोकीले गोल गरे । एक्सेल्सियरका तेन्जिङ गोले तामाङले सान्त्वना गोल गरे ।
यु–११ मा जोन डेवीले उपाधि चुम्यो । जोन डेवीले काष्ठमण्डपलाई ३–१ गोलले पाखा लगायो । जोन डेवीका रोनिश खड्काले २ तथा प्रणम भण्डारीले १ गोल गरे । काष्ठमण्डपका शिभांकराज भट्टराईले १ गोल गरे ।
यु–१६ को फाइनलमा न्यु एरा एकेडेमीले रिब्सलाई २–१ गोलले पन्छायो । न्यु एराका आयुश बरामले १ गोल गरे । १ गोल आत्माघाती थियो ।
यु–९ मा काष्ठमण्डपका अनय रेग्मी, यु–११ मा जोन डेवीका प्रणम भण्डारी, यु–१३ मा एक्सेल्सियरका तेन्जिङ गोले तामाङ र यु–१६ मा न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । यु–९ मा काष्ठमण्डपका अक्षय पौडेल, यु–११ मा जोन डेवीका मेल्भिन लामा, यु–१३ मा काष्ठमण्डपका सौर्य गौतम र यु–१६ मा न्यु एराका सुबरिना तामाङ उत्कृष्ट गोलरक्षक चुनिए ।
यु–९ मा कोहिनुर, यु–११ मा अनमोल ज्योति, यु–१३ मा बाल दीक्षा सदन र यु–१६ मा ह्वाइट हेभेन एकेडेमी उदीयमान टिम ठहरिए । चार उमेरसमूहमा ५६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई पूर्व सांसद गीता क्षेत्री, एक्सेल्सियरकी अध्यक्ष शीता राणालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।