ओसासुना विरुद्धको कठिन खेलमा २-१ को जित निकाल्दै बार्सिलोना लगातार दोस्रो पटक ला लिगाको उपाधि जित्नबाट मात्र दुई अंक टाढा पुगेको छ।
यो जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा १४ अंकको फराकिलो अग्रता बनाएको छ।
यदि आइतबार हुने खेलमा रियल मड्रिडले एस्पान्योललाई हराउन सकेन भने बार्सिलोना च्याम्पियन बन्ने पक्का हुनेछ।
तर, यदि रियल मड्रिडले उक्त खेल जित्यो भने बार्सिलोनाले मे १० मा आफ्नै मैदानमा हुने रियल मड्रिड विरुद्धको खेलमा हार नबेहोरे पुग्नेछ। अर्थात् बराबरी वा जितले बार्सिलोना च्याम्पियन बन्नेछ।
शनिबार ओसासुनाको मैदान 'इस्टाडियो एल सादार' मा भएको खेल निकै प्रतिस्पर्धात्मक थियो। खेलको बीचमा मैदान प्रवेश गरेका मार्कस रासफोर्डले दिएको सटीक क्रसलाई स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले उत्कृष्ट हेडिङमार्फत गोल गरेपछि खेलले मोड लिएको थियो।
त्यसको पाँच मिनेट लगतै मिडफिल्डर फर्मिन लोपेजको पासमा फेरान टोरेसले ओसासुनाका गोलकिपर सर्जियो हेरेरालाई छक्काउँदै दोस्रो गोल गरे।
ओसासुनाले पनि तुरुन्तै गोल फर्काएर खेलमा फर्कने प्रयास गर्यो। एबेल ब्रेटोनेसको सुन्दर क्रसमा राउल गार्सियाले हेडिङमार्फत गोल गरे। तर, त्यसपछि थप गोल हुन सकेन र बार्सिलोनाले आफ्नो जित जोगाउँदै लिगमा लगातार १० औं जित दर्ता गर्यो।