करातेकी स्टार एरिका गुरुङ महिलातर्फ र टि ट्वान्टी राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी पुरुषतर्फ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
हाम्रो खेलकुद डटकमको ११ औं वार्षिकोत्सवका अवसरमा आज एरिका र दीपेन्द्रलाई वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रका तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले अवार्ड ग्रहण गरेकी थिइन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, भाटभटेनी होल्डिङ निर्देशक कल्याण गुरुङले सम्मानित गरे।
एरिकालाई राखेपका सदस्य सचिव राम चरित्र मेहता, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सम्मानित गरे। उनीहरुले अवार्डसहित २५ हजार रुपैयाँ प्राप्त गरेका हुन्।
त्यसअघि हाम्रो खेलकुद कन्क्लेभ आयोजना गरिएको थियो। नेपाली खेलकुदमा पूर्वाधार- लगानी, संरक्षण तथा महिला एवं पारामैत्री अवस्थाका विषयमा सरिता श्रेष्ठले चलाएको सत्रमा एनओसी अध्यक्ष श्रेष्ठ, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव रविन्द्र चन्द, पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोबर्धन, सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले आ आफ्नो विचार राखे ।
त्यस्तै नेपाली खेलकुदको व्यवसायीकरण - वास्तविकता , चुनौती र सम्भावना विषयक प्रकाश तिमल्सिनाले चलाएको सत्रमा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, ललितपुर सिटी एफसी प्रबन्ध निर्देशक आलोक जंग जोशी, लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले आ आफ्नो धारणा राखेका थिए।
हाम्रो खेलकुदले सातौं वार्षिकोत्सवदेखि खेलाडी सम्मान र गतवर्षदेखि हाम्रो खेलकुद कन्क्लेभ आयोजना गर्दै आएको छ।