युरो २०२० अन्तर्गत डेनमार्क र बेल्जियमबीचको खेल कोपनहेगनमा जारी थियो।
बिहीबार भएको खेलको दशौं मिनेटमा रेफ्री बिजोर्न कुइपर्सले खेल रोके।
त्यसअघि नै बेल्जियम टिमले दशौं मिनेटमा खेल रोक्ने निर्णय गरेको थियो।
खेल रोकिएपछि दुवै टिमका खेलाडी, अफिसियल र मैदानमा उपस्थित दर्शकले एक मिनेटसम्म ताली बजाएका थिए।
फिनल्यान्डविरुद्धको अघिल्लो खेलमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमै ढलेका थिए। मैदानमा १५ मिनेट उपचारपछि बेहोस अवस्थामै उनलाई अस्पताल लगिएको थियो। त्यसक्रममा उनको होस आएको थियो।
अहिले स्वास्थलाभ गरिएका उनको सम्मानमा बिहीबार दशौं मिनेटको खेल रोकिएको हो। एरिक्सन १० नम्बर अंकित जर्सी लगाउँछन्।
खेल रोकिनुअघि युसुफ पाउलसेनले गोल गर्दै घरेलु टिम डेनमार्कलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा बेल्जियमले दुई गोल फर्काउँदै २-१ को जित निकाल्यो।
बेल्जियमका लागि केभिन डे बुएनले उत्कृष्ट खेले। उनले ५४ मिनेटमा थोर्गन हजार्डलाई गोल गर्न पास दिएका थिए। ७० मिनेटमा गोल गर्दै ब्रुएनले बेल्जिमयलाई अग्रता दिलाए।
खेलका दौरान घरेलु समर्थकले एरिक्सनको जर्सी लगाएर रंगशालामा उपस्थित भएका थिए। स्थानीय घरहरूमा एरिक्सनको सम्मानमा ब्यानर टागिएका थिए।
रंगशालामा दुवै देशका समर्थकले एरिक्सनको सम्मानमा विभिन्न ब्यानर देखाएका थिए।