यसवर्षको मदन पुरस्कार 'रणहार' पुस्तकका लागि योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँला दिइने भएको छ।
आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा-श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार 'रणहार' पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो।
‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो। गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो।
सानु शर्माको 'एकादेशमा', बिन्दु शर्माको 'ओक्कल दोक्कल पिपल पात', कुमार नगरकोटीको 'ज्ञ', छुदेन काविमोको 'फातसुङ', महेश थापाको 'मरीचिका', योगेश राजको 'रणहार' र ध्रुव सापकोटाको 'विचारको लास' पुरस्कारका लागि सिफारिस भएका थिए।
पब्लिकेसन नेपालयको 'रणहार'का मुख्यपात्र भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल थिए। रणजीत मल्लकै पालामा पृथ्वीनारायण शाहले उपत्यकाकै उतिबेलाको सबैभन्दा शक्तिशाली र बैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए। भक्तपुर हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो।
उति बेला उपत्यकाका तीनवटा राज्यमध्ये पनि सबैभन्दा महत्वपूर्ण भक्तपुरमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका थिए। पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित छ।
अठारौं शताब्दी सिंगो भारतीय उपमहाद्वीपकै लागि उथलपुथलको समय थियो। लगभग सम्पूर्ण जसो क्षेत्रमा इस्ट इण्डिया कम्पनीले धमाधम कब्जा जमाइरहेको थियो। त्यहि बेला यता हिमालयको मुनी रहेका ससाना पर्वते राजा रजौटाहरु पनि आ–आफ्ना प्रभुत्व जोगाउने र बढाउन लागिपरेका थिए। त्यो बेला नेपालखाल्डोका तीनवटै राज्य आकर्षणका केन्द्र थिए।
यस पुस्तकले त्यही कालखण्डको भक्तपुरमा सत्तासिन कुलीन वर्ग र गोर्खालीसामु तिनले गरेको आत्मसमर्पणका परिदृश्य उभ्याउँदै तत्कालिन समयको लडाईंको कथा भनेको छ।
लेखक योगेश राजको यस पुस्तकले नेपाली इतिहासको आजसम्म भनिँदै आएको भाष्यसमेतकै विनिर्माण गरेको छ।
पुस्तकले तत्कालीन राज्यका शासक र नागरिक कसरी आफूलाई एउटै मूल हाँगोबाट छुट्टिएको ठान्थे र एकै बोली बोल्थे भन्ने चर्चा पनि गरेको छ।आपसमा लड्ने, भब्य मन्दिर र प्रासाद बनाउन प्रतिस्पर्धा गर्ने अनि मर्दापर्दा सुखदुःखमा सामेल पनि हुने उनीहरु नै फेरि सत्ता, भूमि, ग्रह, नक्षत्र र पूँजी हडप्नका निम्ति अन्तस्कलहमा पनि अल्झिरहने विवरण पुस्तकमा वर्णित छ।
जतिबेला रणजीत मल्ल ब्यूँझिए त्यतिन्जेल धेरै ढिला भइसकेको थियो। गुमेको राज्य त अब फर्कँदैन थियो। तर, जीवनको अर्थ पहिल्याउन भने अझै केही समय उनीसँग थियो। त्यस्तो बेलामा उनले के गरे ? पुस्तकले त्यसैको सेरोफेरोमा आफूलाई केन्द्रित गरेको छ।
रणजीतले जय र पराजयलाई आफू भएरै गुज्रिनदिए। रणजीतको त्यो जीत थियो वा हार भन्ने निश्कर्षमा पुग्न पाठकहरुलाई मद्दत गर्नु नै पुस्तकको मुख्य उद्देश्य हो।
पुस्तकमा प्रयोग भएको भाषा यसको अर्को आकर्षण रहेको छ। यसको भाषाले पाठकलाई तत्कालिन भक्तपुर विचरणको यथार्थ नजिकको काल्पनिक अनुभूति गराउँछ।