हलमा प्रदर्शन भइरहेको सुपरहिट फिल्म 'परान' को टिजर, ट्रेलर र गीतहरू युट्युबबाट हटाइएको छ।
यसअघि 'ओएसआर डिजिटल' मार्फत सार्वजनिक गरिएका फिल्मका सम्पूर्ण प्रचार सामग्रीहरू अहिले उक्त च्यानलमा भेटिँदैनन्।
फिल्मको चर्चित गीत र ट्रेलर मंगलबार युट्युबमा नभेटिएपछि दर्शकहरूमा समेत चासो बढेको छ।
यस विषयमा जानकारी दिँदै फिल्मका निर्माता रञ्जित आचार्यले निर्माण कम्पनीको आफ्नै आधिकारिक च्यानलमा सार्ने तयारीस्वरूप भिडियोहरू हटाइएको बताए।
आचार्यका अनुसार ओएसआर डिजिटलमा रहेका सामाग्रीहरू अब ‘बाइस्कोप सिनेमा’ को युट्युब च्यानलबाट पुनः सार्वजनिक गरिनेछ।
निर्माता आचार्यले भने, 'हामी फिल्मका सामाग्रीहरू आफ्नै च्यानलमा सार्ने तयारीमा छौं। सोही कारण अहिले युट्युबमा नभेटिएको हो, केही समयमै ती सामाग्री अपलोड हुनेछन्।'
दीपक आचार्यको निर्देशन रहेको ‘परान’ हाल प्रदर्शनको चौथो सातामा चलिरहेको छ। यो फिल्म 'बाइस्कोप सिनेमा प्रा.लि.' को ब्यानरमा निर्माण भएको हो। उक्त कम्पनीमा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा 'प्रिज्मा एड्भटाइजिङ' का रञ्जित आचार्यको संयुक्त स्वामित्व रहेको छ।
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, अञ्जना बराईली, पूजा चन्द, प्रविण खतिवडा, केकी अधिकारीलगायतका कलाकारहरूको अभिनय छ।
'परान' ले मंगलबारसम्म १५ करोड रूपैयाँ हाराहारी कमाइ गरेको छ।