महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा मुख्य भूमिकामा रहेको फिल्म 'आशा'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। उडान स्टुडियोको प्रस्तुति रहेको फिल्मको पोस्टरले फिल्म पारिवारिक कथावस्तुमा रहेको संकेत गर्छ।
रोयल भीमसेनले तयार पारेको पोस्टरमा एउटा घर देखाइएको छ। घरभित्र अभिनेता शुशांक मैनालीको तस्बिरमा माला लगाइएको छ भने आशान्त शर्मा पण्डितको भूमिकामा देखिएका छन्। महेश त्रिपाठी किरिया बसेको अवस्थामा छन् भने अञ्जना बराइली घरको दैलोबाट चिहाइरहेकी छिन्।
निर्मात्री शर्मिला थापाका अनुसार फिल्म पूर्णरूपमा पारिवारिक कथामा निर्माण गरिएको छ। उनले परिवारका सबै सदस्यले एकसाथ हेर्न र मनन गर्न सक्ने फिल्म तयार पारिएको बताइन्।
फिल्म आगामी फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। वितरक तथा प्रदर्शकसँगको छलफलपछि उक्त मिति तय गरिएको निर्मात्री थापाले जानकारी दिइन्।
राजिव गुरूङको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतको अभिनय छ। बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारी पनि फिल्ममा देखिनेछन्।
काठमाडौं उपत्यका, नमोबुद्ध र धुलिखेल आसपासमा छायांकन गरिएको फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ। फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन छ।
संगीतमा युग भुसाल र एसडी योगी, साउण्ड डिजाइनमा किशोर आचार्य तथा मेकअप र हेयरमा सोनाली शिल्पकार छन्।