भक्तपुरमा आगामी चैत ६ र ७ मा भक्तपुर फिल्म फेस्टिभल हुँदैछ। भक्तपुरका युवा फिल्मकर्मीहरूको समूहले पहिलो पटक यो फेस्टिभल आयोजना गर्ने भएको हो।
युवा फिल्मकर्मीहरू किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न लागेका हुन्। भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उदेश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताए।
'भक्तपुर हाम्रो जन्मथलो पनि हो। त्यसैले यहाँको साँस्कृतिक र कलालाई विकास गर्ने हेतुले हामीले यो महोत्सव भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागेका हौं,' किलम्बुले भने।
महोत्सव निर्देशक किलम्बुले 'कब्बडी ४', 'फूलबारी', 'दिमाग खराब', 'फेरि रेशम फिलिली', 'डिग्री माइला' लगायतका फिल्ममा काम गरेका छन्।
महोत्सव संयोजक स्मित गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्मकर्मीका फिल्म र उनीहरूका फिल्मलाई प्लेटफर्म दिन पनि यो महोत्सवको आवश्यकता देखेर आफूहरूले यो महोत्सव सुरू गरेको हो। 'स्वतन्त्र रूपले फिल्म बनाइरहेका फिल्मकर्मीलाई प्लेटफर्म दिन हामीले यो महोत्सव आयोजना गरेका हौं। सिनेमा लिट्रेसी बढाउनु पनि महोत्सवको उदेश्य हो,' स्मितले भने। स्मितसँगै एभरेस्ट एकेडेमीमा फिल्म अध्ययन गरेका सफल वैद्य पनि महोत्सव संयोजक हुन्।
२ दिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन्। नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' देखाउँदै महोत्सव सुरू हुनेछ। महोत्सवमा सुजित बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' देखि अंकित पौडेलको 'सङ्ग अफ क्लाउड्स', किरण श्रेष्ठको 'एट एनोदर विन्टर', राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री 'ढोरपाटन' लगायतका फिल्महरू देखाइनेछन्।
सन्देश भुर्तेलको डकुमेन्ट्री 'मदर रेबिका' भने महोत्सवको समापन फिल्म हुनेछ। महोत्सवमा २ नेवा संस्कृति समेटिएका फिल्म 'किजा पूजा' र 'नेवा बुद्धिजम इन नेपाल' देखाइनेछ।
महोत्सवमा फिल्मकर्मी केशव पाण्डेले कथा लेखनसम्बन्धि कार्यशाला दिँदैछन्। महोत्सव सुरू हुनेअघिल्लो दिन उनले यो कार्यशाला दिने भएको हो। यही फागुन ३० मा भने महोत्सवले रूशेल शिल्पकारसँगको सहकार्यमा भक्तपुरमा 'हेरिटेज वाक' पनि आयोजना गर्दैछ। महोत्सव भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना हुँदैछ।