फिल्म 'ऊनको स्वीटर'ले चार विधामा अवार्ड जितेको छ।
'क्रिटिक्स फिल्म अवार्ड २०८२' मा आफ्नो बर्चश्व जमाउँदै यसले चार अवार्ड जितेको हो।
चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार 'ऊनको स्वीटर' उत्कृष्ट फिल्म घोषित हुनुका साथै चार विधामा अवार्ड जित्न सफल भएको हो। अवार्डमा नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भएका छन्। फिल्मले उत्कृष्ट पटकथा (नवीन चौहान/सुरज कटुवाल) र उत्कृष्ट पाश्र्व संगीत (कोविद बज्र) विधामा समेत अवार्ड जित्दै समग्रमा चार पुरस्कार आफ्नो नाममा पारेको हो।
त्यस्तै, 'भूठान' ले तीन विधामा अवार्ड जितेको छ। यो फिल्मका हरिवंश आचार्य उत्कृष्ट अभिनेता घोषित भएका छन् भने सुशन प्रजापति उत्कृष्ट छायांकन र अञ्जय खड्का उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन्। उत्कृष्ट अभिनेत्रीको अवार्ड भने फिल्म 'रमिताको पिरति' बाट आना शर्माले जितेकी छन्।
चलचित्र समीक्षक समाजले वर्ष २०८२ भरि प्रदर्शनमा आएका फिल्महरूको अध्ययन, विश्लेषण तथा मूल्यांकन आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा र फिल्म छनोट गरेको जनाएको छ।
२०८१ र २०८२ सालका अवार्ड संयुक्त रूपमा भव्य समारोहका बीच वितरण गर्ने तयारी भइरहेको समाजले जनाएको छ। यसले सन् २०१४ देखि 'क्रिटिक्स फिल्म अवार्ड' प्रदान गर्दै आएको छ।