फिल्म 'चिरञ्जीवी भव:'मा समावेश गीत 'जाले रूमाल' सार्वजनिक भएको छ। निर्माणपक्षले बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।
दीपकप्रसाद आचार्यको शब्द रहेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर छ। बाबुल गिरीले नै संगीत भरेको गीत लोकलयमा आधारित छ। युवक र युवतीबीचको दोहोरी शैलीमा तयार गीतमा एकअर्काको रूपप्रति आकर्षित भएको प्रेमभाव प्रस्तुत गरिएको छ।
मौलिक शब्द र सवाल-जबाफले गीतलाई आकर्षक बनाएको छ। भिडियोमा आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी देखिएका छन्। यसमा फिल्मका अधिकांश पात्रलाई समेटिएको छ। भिडिओमार्फत पात्रहरूबीचको पारिवारिक सम्बन्ध समेत प्रस्तुत गरिएको छ। गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्।
दीपकप्रसाद आचार्य ‘काकु’को लेखन तथा निर्देशनमा बनेको फिल्म हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। साथमा करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिश निरौला, गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय छ।
कुमार कट्टेल 'जिग्री ब्रो'को कथामा निर्माण भएको फिल्मको पटकथा तथा संवाद लेखनमा सविन अधिकारी र वसन्त न्यौपानेले सहकार्य गरेका छन्। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा उमेशकुमार बराल र चिरन केसी निर्माता तथा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन्।
सोसल ड्रामा विधाको फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धको कथा प्रस्तुत गर्नेछ। गत वर्ष 'परान' निर्देशन गरेका आचार्यको यो दोस्रो फिल्म हो। ‘परान’ गत वर्षको सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली फिल्म बनेको थियो।
'चिरञ्जीवी भव:'मा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरूङको सम्पादन छ।
फिल्म आगामी माघ १ गते (१५ जनवरी) देखि देशभर प्रदर्शनमा आउनेछ।