अभिनेता प्रदीप खड्का र पल शाह फेरि एउटै फिल्ममा देखिने भएका छन्। कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म 'उही तिम्रो'मा यी दुई अभिनेताले दोस्रोपटक सहकार्य गर्न लागेका हुन्। शुक्रबार पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो।
यसअघि फिल्म 'पूजार सार्की'मा पहिलोपटक पर्दा साझा गरेका प्रदीप र पल पुनः एउटै फिल्ममा देखिन लागेका हुन्। 'पूजार सार्की'ले बक्स अफिसमा राम्रो व्यवसाय गरेको थियो। दुई चर्चित अभिनेताको पुनः सहकार्यले 'उही तिम्रो'प्रति दर्शकको चासो बढाउने टिमको अपेक्षा छ।
केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा प्रदीप र पलसँगै अभिनेत्री सिम्रन पन्त मुख्य भूमिकामा रहनेछिन्। मोडल जुना विश्वकर्माले यही फिल्मबाट डेब्यु गर्दैछिन्। फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना, सुरज तमुलगायत कलाकारको पनि अभिनय रहनेछ। ‘उही तिम्रो’ शीर्षकले फिल्म प्रेमकथामा आधारित हुने संकेत गर्छ।
अभिमन्यु निरविको कथा तथा संवाद रहेको फिल्मको निर्देशन कृषा चौलागाईंले गर्नेछिन्। विशाल चौलागाईं निर्माता रहेको फिल्मको छायांकन मंसिरबाट सुरू हुनेछ। निर्माणपक्षका अनुसार फिल्मको छायांकन म्याग्दीका रमणीय स्थानबाट सुरू भई काभ्रेको बनेपामा पनि हुनेछ।
फिल्मलाई पुरूषोत्तम प्रधानले छायांकन गर्नेछन्। यसमा सुरेश अधिकारी, राजनराज शिवाकोटी र हर्क साउदको संगीत रहनेछ। वसन्त अधिकारी मुख्य सहायक निर्देशकका रूपमा रहनेछन्। सविन ढुंगाना फाइनान्स म्यानेजर र रविन बख्रेल प्रोडक्सन म्यानेजर छन्।
'उही तिम्रो' आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। फिल्मलाई आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्देशक चौलागाईंले जानकारी दिएकी छन्।