अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली फेरि एकसाथ पर्दामा देखिने भएका छन्। सरोज पौडेल निर्देशित फिल्म 'सिन्दुरे जात्रा'मा उनीहरूले सहकार्य गरेका हुन्।
विजय र अञ्जनाले नेपाली बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको फिल्म 'पूर्णबहादुरको सारंगी'मा सहकार्य गरेका थिए। उक्त फिल्म सरोज पौडेलकै निर्देशनमा बनेको थियो।
निर्माणपक्षले 'सिन्दुरे जात्रा' को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै विजय र अञ्जनालाई एकसाथ प्रस्तुत गरेको छ। पोस्टरमा दुवैलाई भावुक मुद्रामा देख्न सकिन्छ। विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेकी छन् भने विजयका आँखामा पनि आँसु देखिन्छ।
गाउँले परिवेशमा तयार पोस्टरको पृष्ठभूमिमा मन्दिर र जात्रामा सहभागी भीड देखिन्छ।
'सिन्दुरे जात्रा'मा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरूङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन्। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन्। फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ।
'सिन्दुरे जात्रा' आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउनेछ।