मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'जलाकी'को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार रोहित सोनार र मेलिना राईको स्वर समावेश 'पहिलो माया' बोलको गीत सार्वजनिक गरेको हो।
सरित रायनको संगीत तथा कम्पोजिसन रहेको गीतमा राम अबिरल बिष्टको शब्द रचना छ। भिडिओमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। प्रेमी-प्रेमिकाबीचको प्रेम र आकर्षणलाई देखाइएको भिडिओमा उपासना र सोनमको जोडी देख्न सकिन्छ।
'खुस्मा' फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित 'जलाकी'मा सोनम र उपासनासहित अस्तित्व भट्टचन, सहारा हाङ्मा लिम्बु, माओत्से गुरूङ, शिल्पा मास्के, विजय लामा, बुद्धी तामाङ, संगीता थापा मगर, रजनी गुरूङ, राजु रेग्मी मगर, लुनिभा तुलाधर, उषा खड्गी, खड्गबहादुर पुन मगर, कर्मा सिंह लामा, दीपिका मगरलगायत कलाकारको अभिनय छ।
मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुंगे स्तम्भलाई 'जलाकी' भनिन्छ। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरूङ समुदायको संस्कृति, परम्परा र भावनामा आधारित कथा फिल्ममा प्रस्तुत गरिएको निर्देशक मगरले बताएका छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो। निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर, सुस्मिता बुढाथोकी, राधा थापा छन्।
फिल्मको छायांकन विवेक लामा र सम्पादन अशोक थापा मगरले गरेका हुन्।