निर्देशक राजबहादुर सानेको आगामी फिल्म 'गंगा रानी'मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन्।
'गंगा रानी' बाट उनले नेपाली फिल्ममा डेब्यु गर्न लागेका हुन्। उनी करिब ५०० आवेदकमध्ये छनोट भएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्। यससँगै ‘गंगा रानी’मा रोशन र वर्षाको जोडी पहिलोपटक पर्दामा देखिनेछ।
निर्माण टिमले ४ अभिनेता र ४ अभिनेत्रीका लागि खुलाएको अडिसनबाट रोशन मुख्य भूमिकामा छनोट भएका हुन्।
यसअघि केही म्युजिक भिडिओमा अभिनय गरिसकेका रोशन 'गंगा रानी'लाई लिएर उत्साहित छन्। राम्रो कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले फिल्ममार्फत डेब्यु गर्न तयार भएको उनले बताएका छन्। निर्देशक राजबहादुर सानेका अनुसार बाँकी ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन्। सानेकै लेखन तथा निर्देशन रहने 'गंगा रानी'को छायांकन आगामी भदौको दोस्रो साताबाट सुरू गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।
राजबहादुर साने निर्देशित अर्को फिल्म 'लज्जावती' आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।