फिल्म 'रोल नं १' अब दर्शकले ५० प्रतिशत छुटमा हेर्न पाउने भएका छन्।
निर्माणपक्षले फिल्मको टिकटमा आधा मूल्य छुट दिने निर्णय गरेको हो।
यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन्। यो छुट सहभागी सिनेमाघरका सबै शोमा लागू गरिएको निर्माणपक्षले जनाएको छ।
निर्माता विनोद पौडेलका अनुसार विद्यार्थी, अभिभावक र विद्यालयबाट आएको आग्रहलाई ध्यानमा राख्दै टिकट मूल्यमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो।
'स्कुल, अभिभावक र विद्यार्थीहरूको विशेष अनुरोधलाई सम्मान गर्दै अब सेभेन सिज सिनेमाले फिल्म रोल नं. १ को टिकटमा ५० प्रतिशत छुट प्रदान गरेको छ। नेपालभरका सहभागी सिनेमाघरहरूमा ५० प्रतिशत छुट लागु भइसकेको छ,' निर्माता पौडेलले भने।
फिल्मले शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ कथा उठाएको निर्माता पौडेलले बताएका छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्ममा जोन योञ्जनको निर्देशन छ। फिल्ममा मुकुन भुसाल, निर्भिक रेग्मी, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतको अभिनय छ।
जेठ १५ गते रिलिज फिल्मले गत आइतबार (जेठ ३१)सम्म १ करोड ३५ लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। फिल्मले दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् भने शिवराम श्रेष्ठको डीओपी रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, मदन घिमिरेको सम्पादन छ।