अभिनेता निखिल उप्रेती निर्देशित फिल्म 'आचार्य'को फर्स्टलुक सार्वजनिक गरिएको छ। निर्माण पक्षले बिहीबार फर्स्टलुक भिडिओ सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको हो।
यो एक्सन फिल्म असोज ९ (सेप्टेम्बर २५) देखि प्रदर्शनमा आउने भएको छ।
'आचार्य'बाट निखिल उप्रेती एक दशकपछि निर्देशनमा फर्किएका हुन्। उनले यसअघि सन् २०१५ मा 'भैरव' निर्देशन गरेका थिए।
'आचार्य' को सार्वजनिक फर्स्टलुक भिडिओमा निखिललाई शक्तिशाली र रहस्यमय अवतारमा प्रस्तुत गरिएको छ।
पहाडी तथा जंगल क्षेत्रको पृष्ठभूमिमा देखाइएको भिडिओमा उनी शारीरिक रूपमा सशक्त देखिन्छन्। उनको हातमा बाज बसेको दृश्य, ढाडमा खोपिएको ट्याटू र प्रस्तुतीकरणले फिल्म उच्चस्तरीय एक्सन, शक्ति र रहस्य मिसिएको कथामा आधारित रहेको संकेत गर्छ।
भिडिओमा प्रयोग गरिएको सिनेमाटिक दृश्य, पृष्ठभूमि संगीतले फिल्मलाई भव्य रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको देखिन्छ। निखिलको छोटो एक्सन दृश्य समेत फर्स्टलुकमा समेटिएको छ।
निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुति रहेको 'आचार्य'मा निखिल उप्रेतीसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, भारतीय कलाकार दीपराज राणासहितको अभिनय रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको लेखन निखिल उप्रेती स्वयंले गरेका हुन्। डिओपी मनु बिस्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामा रहेको फिल्ममा शुक्रराज शाहको द्धन्द्ध निर्देशन, बन्दे प्रसादको सम्पादन छ।
'आचार्य' को निर्मातामा कृष्ण भट्टराई रहेका छन्।