कुनै सिनेमाले बक्सअफिसमा उत्साहजनक व्यापार गर्छन् त कुनै अपेक्षाअनुसार चल्दैनन्।
अभिनेता दयाहाङ राईका लागि पछिल्लो समय व्यावसायिक रूपमा सुखद् थिएन। उनका एकपछि अर्को सिनेमा प्रदर्शनमा आए पनि अपेक्षित व्यापार गर्न सकेका थिएनन्। यतिबेला भने दयाहाङले लगातार दुई सफल सिनेमा दिएका छन्। पछिल्ला दुई सिनेमा 'पेन्सन पट्टा' र 'कबड्डी ५:आफ्टर द फाइनल म्याच'ले उनका फिल्मको व्यावसायिक असफलताको शृंखला तोडेका हुन्।
यसअघि दयाहाङ अभिनीत 'महाभोज', 'रिमै', 'वरिष्ठ बलराम', 'मैझारो', 'जारी २', 'मिरमिरे', 'मितज्यू'लगायत सिनेमाले बक्सअफिसमा अपेक्षित व्यापार गर्न सकेका थिएनन्। लगातारका सिनेमा व्यावसायिक रूपमा कमजोर हुँदा दयाहाङको बक्सअफिस सफलतामा खडेरी लागेको थियो। तर भदौ २६ गतेदेखि प्रदर्शनमा आएको 'पेन्सन पट्टा'ले दयाहाङलाई लामो समयपछि व्यावसायिक सफलता दिलाएको थियो।
माओत्से गुरूङ निर्देशित सिनेमाले घरेलु बक्सअफिसमा १० करोड रूपैयाँको आँकडा पार गरिसकेको छ। हालसम्म १० करोड २३ लाख रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको सिनेमा अझै हलमा प्रदर्शनरत छ।
'पेन्सन पट्टा'को सफलतापछि दयाहाङ अभिनीत अर्को सिनेमा 'कबड्डी ५: आफ्टर द फाइनल म्याच' पनि व्यावसायिक रूपमा सफल भइसकेको छ। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमाले पाँच दिनमै सात करोड रूपैयाँको आँकडा पार गरिसकेको निर्माणपक्षले जनाएको छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दयाहाङका यी दुवै सिनेमालाई 'सुपरहिट' घोषणा गरेको छ। सुरूमा 'पेन्सन पट्टा'ले 'सुपरहिट'को ट्याग पाएको थियो। त्यसपछि 'कबड्डी ५'ले प्रदर्शनको तेस्रो दिनमै यो ट्याग पायो।
यससँगै अहिले हलमा दयाहाङका दुई 'सुपरहिट' सिनेमा प्रदर्शनमा छन्।
आगामी फिल्मको कुरा गर्दा दयाहाङले ऐतिहासिक कथामा आधारित ‘बुकी फूल’को छायांकन हालसालै सकेका छन्।