आइसिसी टी-२० विश्वकप २०२६ मा इटालीको डेब्यू खेल राम्रो हुन सकेन।
इटालीले सोमबार विश्वकपमा आफ्नो पहिलो खेल खेल्दा नमिठो हार बेहोर्नुपर्यो।
यो संस्करणमा पहिलो पटक विश्वकप खेलेको टोली इटाली मात्र हो।
भारतको कोलकातास्थित इडेन गार्डेनमा स्कटल्यान्डविरूद्ध टस जितेर पहिले बलिङ गरेको इटालीका कप्तान वेन म्याडसेन फिल्डिङ गर्ने क्रममा सुरुमै घाइते हुन पुगे। जसले उनका लागि पनि डेब्यू खेल खल्लो भयो।
खेल सुरु भएको केही बेरमै उनको काँध चोट लागेपछि म्याडसेन बाहिरिनुपर्यो। त्यसपछि ह्यारी मानेन्टीले कप्तानी सम्हालेका थिए।
डेब्यू टोलीविरूद्ध 'भाग्य' ले टी-२० विश्वकप खेल्न पाएको स्कटल्यान्डले उत्कृष्ट सुरुवात गर्यो। युरोपियन छनोटमा इटालीसँगै हारेपछि स्कटल्यान्ड बाहिरिएको थियो।
बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि वरीयताको आधारमा आइसिसीले स्कटल्यान्डलाई मौका दिएको हो।
यसलाई उसको भाग्य भन्दा फरक नपर्ला। त्यही भाग्यले विश्वकपमा आएको स्कटल्यान्डले इटालीविरूद्ध समेत बदला लियो।
इंग्ल्यान्डका लागि जर्ज मुन्सेले ८४ रन बनाउँदै उत्कृष्ट पारी खेले। स्कटल्यान्डले २०७ रनको विशाल लक्ष्य प्रस्तुत गर्दा इटालीका बलरहरू निकै महँगो सावित भएका थिए।
जवाफी ब्याटिङ गरेको इटालीको प्रदर्शन पनि राम्रो भएन। कप्तान म्याडसेन खेल्न नसक्ने भएपछि टोलीलाई थप घाटा लाग्यो। बेन मानेन्टीले ५२ रनको योगदान दिएर इटालीको तर्फबाट विश्वकपमा पहिलो अर्धशतक बनाए।
तर पनि इटाली ७३ रनले पराजित भयो। इटाली १७औं ओभरमा १३४ रनमै अलआउट भएको थियो।
प्रशिक्षक जोन डेभिसनले खेलपछि कप्तान घाइते हुँदा घाटा भएको बताए। उनले भने, 'सुरूमै कप्तान घाइते हुनु हाम्रा लागि ठूलो झट्का थियो। सायद हाम्रा खेलाडीलाई विश्वकप जस्तो ठूलो मञ्चको केही दबाब पनि भयो। केही खेलाडीले राम्रो प्रयास गरे पनि मानसिक रूपमा हामी अझै बलियो हुन जरूरी छ।'
ऐतिहासिक अर्धशतक बनाएका बेन मानेन्टीले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा टोलीको जित ठूलो हुने बताए।
उनले भने, 'यदि मेरो ५० रनको बदलामा टोलीले जित्थ्यो भने म शून्यमै आउट हुन तयार थिएँ। स्कटल्यान्डले हामीलाई निकै दबाबमा राख्यो।'
अब इटालीको आगामी यात्रा सजिलो पक्का पनि छैन। इटालीले अब मुम्बई भ्रमण गर्नेछ। मुम्बईको ऐतिहासिक वानखेडे रंगशालामा बिहीबार दिउँसो सवा तीन बजे इटालीले नेपालविरूद्ध खेल्नेछ।
नेपालले यहाँ आफ्नो पहिलो खेल खेलिसकेको छ। त्यसैले नेपाल यहाँको कन्डिसनसँग परिचित छ।
अझ नेपालको बलियो पक्ष 'फ्यान बेस' हो। अहिले ठूलो संख्यामा नेपालको खेल हेर्न समर्थक मुम्बईमा छन्।
आइतबार मुम्बईमा इंग्ल्यान्डविरूद्ध खेल हेर्न २० हजारभन्दा बढी नेपाली समर्थक वानखेडे आएका थिए।
नेपालले इंग्ल्यान्डविरुद्ध देखाएको प्रदर्शनलाई इटालीले नियालेको छ। इंग्ल्यान्डविरूद्ध अन्तिम ओभरमा १० रन बनाउन नसक्दा नेपालले ४ रनले खेल गुमाएको थियो।
इटालीका लागि अर्धशतक बनाएका बेन मानेन्टीले नेपालबारे भने, 'हामीले हिजो नेपालको खेल देख्यौं, नेपाल उत्कृष्ट टोली हो। अचेल एसोसिएट टोली र टेस्ट खेल्ने टोलीहरू बीचको अन्तर घट्दै गएको छ। हामी अर्को खेलमा राम्रो गर्ने प्रयास गर्नेछौं।'
समूह 'सी' मा नेपाल, इंग्ल्यान्ड, स्कटल्यान्ड, वेस्ट इन्डिज र इटाली छन्। इंग्ल्यान्ड र वेस्ट इन्डिजले आफ्नो पहिलो जितेका छन्।
पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको स्कटल्यान्डले पनि सोमबार इटालीलाई हराएर दुई अंक जोडेको छ।
नेपाल र इटालीले पहिलो खेल गुमाएका छन्।