भारतीय टीभी सिरियल तथा फिल्म अभिनेत्री संचिता उगलेको निधन भएको छ। उनी मुम्बईको वसई क्षेत्रमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।
भारतीय संचारमाध्यमका अनुसार ३० वर्षीया संचिताले आत्महत्या गरेको आशंका गरिएको छ। घटनापछि प्रहरीले अनुसन्धान सुरू गरेको जनाइएको छ।
घटना हुनुअघि संचिताले इन्स्टाग्राममा एउटा रील भिडिओ पोस्ट गरेकी थिइन्, जसमा उनी खुसी र उत्साहित देखिएकी थिइन्। सो पोस्ट अहिले उनका फ्यानहरूबीच चर्चा र भावनात्मक प्रतिक्रियाको विषय बनेको नवभारत टाइम्सले जनाएको छ।
उनको पारिवारिक अवस्थाबारे बताइएअनुसार उनी आमाबुबा र बहिनीसँग बस्दै आएकी थिइन्। घटना भएको बेला घरमा बहिनी मात्र रहेको र केही समयका लागि बाहिर गएको समयमा घटना भएको बताइएको छ। तर वास्तविक कारणबारे प्रहरीले आधिकारिक पुष्टि गरेको छैन।
संचिताले टेलिभिजनका लोकप्रिय धारावाहिकहरू 'कुमकुम भाग्य' र 'वागले की दुनिया' मा अभिनय गरेकी थिइन्। साथै उनले 'छावा' लगायतका फिल्ममा पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेकी थिइन्।