बलिउड अभिनेता सलमान खानले ११ वर्षपछि फेरि फिल्मको गीतमा स्वर दिएका छन्।
उनले आफ्नो आगामी फिल्म 'मातृभूमि' को नयाँ गीत 'तेरी सेक्सी ब्युटी' मा स्वर दिएका हुन्। सलमानले बुधबार बिहान कुनै पूर्वसूचनाबिनै यो गीत सार्वजनिक गरेका छन्।
सलमानले यसअघि 'ह्याङओभर', 'बेबीको बास पसन्द है', 'जग घुमेया' जस्ता चर्चित गीतमा स्वर दिइसकेका छन्। सन् २०१५ मा प्रदर्शन भएको फिल्म 'हिरो' को 'मै हुँ हिरो तेरा' उनको पछिल्लो चर्चित पाश्र्वगायन थियो। त्यसयता फिल्मका लागि गीत नगाएका सलमानले करिब ११ वर्षपछि पुनः आफ्नो स्वर दिएका हुन्।
यद्यपि, यसबीच उनले सन् २०२० मा 'प्यार करोना', 'तेरे बिना' र 'भाइ भाइ' जस्ता स्वतन्त्र गीत पनि सार्वजनिक गरेका थिए। 'तेरी सेक्सी ब्युटी' मा सलमानसँगै गायिका मुस्कानको स्वर छ। गीतमा साजिद खानको शब्द तथा संगीत छ। भिडिओमा सलमानसँगै अभिनेत्री चित्रांगदा सिंह देखिएकी छन्।
बिहानै गीत सार्वजनिक गरेपछि सलमानको पोस्टले सामाजिक सञ्जालमा चर्चा पाएको छ। तर युद्धको कथामा आधारित फिल्ममा यस्तो रमाइलो र रोमान्टिक गीत समावेश गरिएको भन्दै दर्शकले आश्चर्यसमेत व्यक्त गरेका छन्।
अपूर्व लाखिया निर्देशित 'मातृभूमि' मा सलमान भारतीय सैनिकको भूमिकामा छन् भने चित्रांगदा उनकी पत्नीको भूमिकामा देखिनेछिन्।
फिल्मको प्रदर्शन मिति भने निर्माण पक्षले सार्वजनिक गरिसकेको छैन।