बहुप्रतीक्षित मानिएको फिल्म 'रामायण'ले बक्स अफिसमा उत्साहजनक सुरूआत गरेको छ।
फिल्मले पहिलो दिन दिउँसो ४ बजेसम्म भारतमा ३२ करोड ८१ लाख भारू नेट कमाइ गरेको छ। बक्स अफिससम्बन्धी तथ्यांक सार्वजनिक गर्ने वेबसाइट स्याकनिल्कका अनुसार ४ बजेसम्म फिल्मले भारतभर ३२ करोड भारूभन्दा माथिको कमाइ गरेको हो।
फिल्मको भारतमा कुल ग्रस कलेक्सन ३८ करोड ७२ लाख भारू पुगेको छ।
स्याकनिल्कका अनुसार फिल्मको कमाइमा हिन्दी संस्करणको योगदान सबभन्दा बढी देखिएको छ। हिन्दी संस्करणले २४ करोड १७ लाख भारू नेट कमाएको छ। त्यस्तै, कन्नड संस्करणले ३ करोड ९१ लाख, तेलुगु संस्करणले २ करोड ९८ लाख, तमिल संस्करणले १ करोड ११ लाख र मलयालम संस्करणले ६४ लाख भारू नेट कमाइ गरेका छन्।
स्याकनिल्कले सार्वजनिक गरेको यो तथ्यांक पहिलो दिनको अन्तिम कमाइ भने होइन। दिउँसो ४ सम्म ट्याक गरिएका शोका आधारमा तयार पारिएको प्रारम्भिक अनुमान हो। रातिका शोको कमाइ जोडिएपछि पहिलो दिनको अन्तिम व्यापारिक आँकडा सार्वजनिक हुनेछ।
नितेश तिवारी निर्देशित 'रामायण'मा रणवीर कपूरले राम, यशले रावण, साई पल्लवीले सीता, सनी देओलले हनुमान र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन्। 'रामायण' नेपालमा समेत बिहीबारदेखि नै प्रदर्शनमा आएको छ।