हलिउड फिल्म 'अब्सेसन' ले विश्वव्यापी बक्स अफिसमा लगातार प्रभावशाली प्रदर्शन गरिरहेको छ।
कम बजेटमा बनेको यो हरर फिल्मको विश्वव्यापी कमाइ करिब ३० करोड अमेरिकी डलर (३०० मिलियन) नजिक पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
पाँचौं सातासम्म आइपुग्दा फिल्मले विश्वव्यापी कमाइका आधारमा सर्वाधिक कमाउने हरर फिल्महरूको शीर्ष ३० सूचीमा स्थान बनाएको छ।
उत्तर अमेरिकामा पाँचौं सप्ताहन्तमा फिल्मले १ करोड ९० लाख अमेरिकी डलर कमाउँदै घरेलु बक्स अफिसमा आफ्नो कुल कमाइ १८ करोड ८४ लाख डलर पुर्याएको छ। यो अघिल्लो सप्ताहन्तको तुलनामा करिब २७.६ प्रतिशतको मात्र गिरावट हो। अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मको प्रदर्शन बलियो देखिएको छ। पाँचौं सप्ताहन्तमा १ करोड ५१ लाख डलर थप कमाउँदै ५६ बजारबाट यसको अन्तर्राष्ट्रिय कमाइ ९ करोड ८१ लाख डलर पुगेको छ। यससँगै विश्वव्यापी कुल कमाइ २८ करोड ६५ लाख डलर पुगेको छ, जसले यसलाई ३० करोड डलरको आँकडातर्फ अघि बढाइरहेको छ।
यस उपलब्धिसँगै 'अब्सेसन' ले सर्वाधिक कमाउने हरर फिल्महरूको सूचीमा ३० औं स्थान सुरक्षित गरेको छ।
बक्स अफिस विश्लेषकहरूका अनुसार फिल्मको अन्तिम विश्वव्यापी कमाइ ३७ करोड ५० लाखदेखि ४२ करोड ५० लाख डलरबीच पुग्न सक्ने अनुमान गरिएको छ।
क्युरी बार्कर निर्देशित यो फिल्ममा माइकल जोनस्टन र इन्डे नाभारेते शीर्ष भूमिकामा छन्। फिल्मको कथा एक युवाको वरिपरि घुम्छ, जसले रहस्यमय शक्तिसँग जोडिएको वस्तु प्रयोग गरेर आफ्नो प्रेम प्राप्त गर्ने प्रयास गर्छ। तर इच्छा पूरा भएपछि सम्बन्ध क्रमशः डर, मनोवैज्ञानिक तनाव र नियन्त्रण बाहिर जाने जुनूनमा बदलिन्छ।
रिपोर्टहरूका अनुसार 'अब्सेसन' को निर्माण बजेट १० लाख अमेरिकी डलरभन्दा पनि कम रहेको बताइएको छ।
'अब्सेसन' नेपालमा १७ जुन (असार ३) बुधबारदेखि प्रदर्शन हुँदैछ। थ्रिलर, हरर र रोमान्स जनरामा राखिएको फिल्मको नेपालमा अग्रिम बुकिङ खुलिसकेको छ।