भारतीय अभिनेत्री कंगना रनौत अभिनीत फिल्म 'भारत भाग्य विधाता' बक्स अफिसमा कमजोर देखिएको छ।
जुन १२ देखि प्रदर्शनमा आएको फिल्मले सुरूआती दिनदेखि नै कमजोर व्यापार गरिरहेको हो। पाँचौं दिनसम्म आउँदा फिल्मको व्यापार निरन्तर गिरावट देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार फिल्मले मंगलबार भारतमा ५२ लाख भारू नेट कलेक्सन गरेको छ। यससँगै पाँच दिनको कुल कमाइ ५ करोड ४२ लाख भारू पुगेको छ। फिल्मले पहिलो दिन १ करोड भारूको ओपनिङ गरेको थियो। त्यसपछि शनिबार १ करोड ४५ लाख र आइतबार १ करोड ८० लाख भारू कमाउँदै केही सुधार देखाएको थियो। तर सोमबार ब्यापार घटेर ६५ लाख भारूमा सीमित भयो भने मंगलबार थप घट्दै ५२ लाख भारूमा झरेको हो।
पाँच दिनको कमाइको हिसाबले 'भारत भाग्य विधाता' कंगनाको अघिल्लो फिल्म 'इमर्जेन्सी' भन्दा निकै पछाडि परेको छ। 'इमर्जेन्सी'ले प्रदर्शनको पाँच दिनमा १२ करोड ४० लाख भारू नेट कलेक्सन गरेको थियो। यद्यपि, कंगनाकै सन् २०२३ मा रिलिज भएको 'तेजस' ले सोही अवधिमा ४ करोड ६५ लाख भारू कमाएको तुलनामा भने नयाँ फिल्म केही अगाडि देखिएको छ।
मनोज तापडियाको लेखन तथा निर्देशन रहेको 'भारत भाग्य विधाता'लाई कंगना रनौतले सह-निर्माणसमेत गरेकी हुन्। फिल्ममा कंगनासँगै ईशा डे, गिरिजा ओक र स्मिता ताम्बेलगायतको पनि अभिनय छ।
सत्य घटनाहरूमा आधारित यो फिल्मले नर्स गीता माधव गन्धारेको कथा बताउँछ, जुन २००८ को मुम्बई आतंकवादी हमलामा २० गर्भवती महिलालाई बचाउन मद्दत गर्ने अञ्जली कुल्थेमा आधारित छ।
'भारत भाग्य विधाता' नेपालमा भने रिलिज भएको छैन।