भारतीय फिल्म 'अल्फा'को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको छ। बुधबार यशराज फिल्मको अफिसियल युट्युबमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा अभिनेत्री आलिया भट्ट र शर्वरीका प्रशस्त दमदार एक्सन दृश्यहरू समावेश छन्। आलिया 'सीता'को भूमिकामा बबी देओलले निभाएको 'फतेह' पात्रविरूद्ध उत्रिएकी छन् भने शर्वरीले आलियाको पात्रको अभियानमा साथ दिएकी छन्।
ट्रेलरको सुरूवातमा फतेहले शिशु सीतालाई हुर्काएर खतरनाक हत्याराका रूपमा तयार पारेको देखाइन्छ। तर पछि सीताले नै उसविरूद्ध विद्रोह गर्दै आफ्नै बलमा 'लंका' ध्वस्त पार्ने अभियान सुरू गर्छिन्। शर्वरी पनि मिशनमा सहभागी हुन्छिन् भने अनिल कपूरले दुवै एजेन्टलाई मार्गदर्शन गर्ने भूमिकामा देखिन्छन्। बबी देओलको पात्र देशसँग बदला लिन चाहने पूर्व गुप्तचरका रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा उनको संवाद छ, 'भारतले अल्फाको कदर गरेन, अब भारत अल्फासँग डराउनेछ।'
ट्रेलरको अन्त्यमा भने दर्शकका लागि विशेष सरप्राइज राखिएको छ। 'वार' र 'वार २'का लोकप्रिय पात्र मेजर कबिर धालीवालको भूमिकामा ऋतिक रोशनको झलक देखाइएको छ। यद्यपि उनको अनुहार पूर्ण रूपमा नदेखाइए पनि छोटो उपस्थितिले नै प्रशंसकलाई उत्साहित बनाउँछ।
शिव रवैल निर्देशित तथा आदित्य चोपडा निर्मित 'अल्फा' मा आलिया भट्ट, शर्वरी, अनिल कपूर र बबी देओल मुख्य भूमिकामा छन्। यशराज फिल्मको स्पाई युनिभर्सअन्तर्गत फिल्म बनेको हो। 'अल्फा' आगामी जुलाई ३ (असार १९) देखि विश्वव्यापी प्रदर्शनमा आउनेछ।