भारतीय संगीत क्षेत्रका चर्चित पार्श्वगायक शान सांगीतिक प्रस्तुति दिन नेपाल आउने भएका छन्।
आगामी भदौ ६ गते (२२ अगस्ट) उनी काठमाडौंमा गुञ्जिने भएका हुन्।
उनले नेपालकै ठूलो इन्डोर इभेन्ट भेन्यु क्लब नोभामा आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।
९० को दशकदेखि हालसम्म विभिन्न पुस्तामाझ लोकप्रिय रहेका शानले आफ्नो सुमधुर आवाजमार्फत नेपाली संगीतप्रेमीलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ। यो कार्यक्रमको आयोजना तथा व्यवस्थापन नेपाली टच नेपालले गरेको हो।
कार्यक्रममा शानले 'मुसु मुसु हासी', 'बहती हवा सा था वो', 'चाँद सिफारिश', 'जब से तेरे नैना', 'हे शोना' र 'कुछ तो हुआ है' जस्ता आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्ने बताइएको छ।
बलिउड फिल्म र आफ्ना एल्बममार्फत चर्चित बनेका शानका गीतहरू आज पनि विभिन्न पुस्तामाझ उत्तिकै लोकप्रिय छन्।
सयौं हिन्दी फिल्मका गीतमा स्वर दिएका शान भारतीय संगीत क्षेत्रका सफल पार्श्वगायकमध्ये एक मानिन्छन्।
नेपालमा हुन लागेको उनको प्रस्तुति संगीतप्रेमीका लागि विशेष आकर्षण बन्ने आयोजकको अपेक्षा छ।
