बलिउड फिल्म 'मिर्जापुर: द मुभी'ले प्रदर्शनको सात दिनमा विश्वव्यापी बक्स अफिसमा २ सय करोड भारूको आँकडा पार गरेको छ।
पंकज त्रिपाठी, अली फजल र दिव्येन्दु अभिनीत यो ग्याङ्स्टर-एक्सन थ्रिलर फिल्मले सात दिनमा २१३ करोड भारू कमाएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले घरेलु बजारमा सात दिनमा १४८ करोड भारू नेट (१७७ करोड भारू ग्रस)कमाएको छ।
पहिलो दिन २५ करोड भारूको कारोबार गरेको फिल्मले सातौं दिन अर्थात् बिहीबार पनि १० करोड भारूभन्दा बढी नेट कमाइ गरेको बताइएको छ।
विशेषगरी उत्तर भारतका साना तथा मध्यम सहरमा फिल्मले राम्रो व्यापार गरिरहेको छ। लखनउ, जयपुर र भोपालजस्ता सहरमा बिहीबार रातिका शोमा ६० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको रिपोर्टमा उल्लेख छ।
विदेशी बजारबाट भने फिल्मले सात दिनमा ३.७ मिलियन अमेरिकी डलर कमाएको छ। यससँगै फिल्मको विश्वव्यापी कमाइ २१३ करोड भारू पुगेको हो।
योसँगै 'मिर्जापुर: द मुभी' यस वर्ष सर्वाधिक कमाउने हिन्दी फिल्मको सूचीमा पाँचौं स्थानमा उक्लिएको छ। यसले गत महिना रिलिज भएको इमरान हाश्मी अभिनीत 'आवारापन २' लाई पछि पारेको छ। 'आवारापन २'ले २१२ करोड भारू आसपास कमाएको बताइएको छ।
अब 'मिर्जापुर: द मुभी'को लक्ष्य अक्षय कुमारका 'धमाल ४' र 'भूत बंगला'लाई पछि पार्दै वर्षकै सर्वाधिक कमाउने हिन्दी फिल्मको शीर्ष तीनमा प्रवेश गर्नु रहेको छ।
गुरमीत सिंहको निर्देशन तथा पुनीत कृष्णको लेखन रहेको फिल्मलाई एक्सेल इन्टरटेनमेन्टको ब्यानरमा रितेश सिधवानी र फरहान अख्तरले निर्माण गरेका हुन्।
फिल्ममा अली फजल, पंकज त्रिपाठी, दिव्येन्दु, रवि किशन, अभिषेक बनर्जी, रसिका दुगल, श्वेता त्रिपाठीलगायत कलाकारहरूको अभिनय छ।
लोकप्रिय वेब सिरिज 'मिर्जापुर'को फिल्म संस्करण 'मिर्जापुर: द मुभी' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।
फिल्मले नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ।