गायक हेमन्त रानाको नयाँ गीत 'सुन कुरा' सार्वजनिक भएको छ। वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य नेपाली युवा र उनीहरूले छाडेर जाने परिवारको कथा यसमा समेटिएको छ। गीतको शब्द तथा संगीत पनि स्वयं रानाकै हो।
गीतले रोजगारीको खोजीमा गाउँ छाडेर विदेशिन बाध्य युवाको पीडा, एक्लिँदै गएका वृद्ध आमाबुबा, रित्तिँदै गएका गाउँ, बसाइँसराइले निम्त्याएको सामाजिक तथा भावनात्मक असर र बदलिँदो वातावरणीय अवस्थालाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ।
गीतलाई विदेशिएका नेपाली युवा र उनीहरूले पछाडि छाडेर जाने परिवारप्रति समर्पणका रूपमा प्रस्तुत गरिएको छ। यसले विदेशिने एउटा व्यक्तिको कथा मात्र नभई त्यसको असर परिवार, गाउँ, समाज र वातावरणसम्म कसरी पुगिरहेको छ भन्ने प्रश्न उठाउँछ।
गीत सार्वजनिक गर्दै रानाले समाजका यथार्थलाई कला र संगीतमार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताएका छन्। उनले भने, 'गीत-संगीत, कविता, कथा र फिल्मजस्ता सबै कलाले कुनै न कुनै रूपमा समाजको प्रतिनिधित्व गर्छन्। आजभोलि गाउँघरमा वृद्धवृद्धा, महिला र बालबालिकाबाहेक तन्नेरी पुस्ता खासै देखिँदैन। कतिपय जिल्लाका गाउँहरू लगभग रित्तिँदै गएका छन्। यही सामाजिक यथार्थको एउटा सानो कथा बोकेर म यो गीतमार्फत दर्शक-श्रोतामाझ आएको हुँ।'
गीतमा कोबिद बज्रको म्युजिक प्रोडक्सन तथा मिक्सिङ-मास्टरिङ छ। बिकेश बज्रको स्ट्रिङ एरेन्जमेन्ट तथा रेकर्डिङ र ड्रम्स, निशाद श्रेष्ठको चेलो तथा रोमन बुढाथोकीको भायोलिन रहेको छ।
भिडिओमा विजय बराल, रक्षा थापा र मणि के. राईले अभिनय गरेका छन्। हेमराज बीसीको निर्देशनमा बनेको भिडियोमा शैलेन्द्र डी. कार्कीको छायांकन र निमेश श्रेष्ठको सम्पादन छ।
सामाजिक विषयवस्तुलाई गीतमार्फत प्रस्तुत गर्दै आएका हेमन्तका लागि ‘सुन कुरा’ नयाँ विषय भने होइन। यसअघि उनको चर्चित गीत ‘सुन साइँली’ले पनि वैदेशिक रोजगारीका लागि विदेशिएको नेपाली युवा र उसले घरमा छाडेर गएको परिवारको पीडालाई कथाका रूपमा प्रस्तुत गरेको थियो।
उक्त गीतले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको भावनात्मक प्रभावलाई निकै बलियोसँग उठाएको थियो।
'सुन कुरा'को भिडिओ जीएच इन्टरटेन्मेन्ट नेपाल युट्युब च्यानलमा सार्वजनिक छ।