नेपाली म्युजिक भिडिओमा खासगरी प्रेम र विरहका कथा बोकेर देखिने परिचित अनुहारमध्ये एक हुन् बिक्रम बुढाथोकी।
एक दशकभन्दा लामो समयदेखि मोडलिङमा सक्रिय उनले अहिलेसम्म ५ सयभन्दा बढी म्युजिक भिडिओमा काम गरिसकेका छन्। 'म बाँचेकै', 'धोकेबाज'लगायतका थुप्रै सुपरहिट गीत छन्, जसमा बिक्रमको अभिनय देख्न सकिन्छ।
'आई लभ यू'बाट म्युजिक भिडिओ यात्रा थालेका बिक्रमले त्यसपछि 'म बिना नि बाँच्न', 'सपनीमा तिमी आउँदा', 'तिमीलाई माया गर्ने मान्छे अर्कै भए पनि' लगायतका गीतमा अभिनय गरे।
सन्तोष केसीसँगको सहकार्यमा आएको 'जसलाई धेरै माया गर्थे' उनको करियरको सुरूआती महत्वपूर्ण मोड बन्यो। यो बिक्रमको करोड क्लबमा पुग्ने पहिलो गीत थियो। गीत सुपरहिट भएपछि उनलाई लगातार काम आउने क्रम बढ्यो।
त्यसपछि आएको प्रमोद खरेलको स्वर रहेको ‘म बाँचेकै’ले उनको लोकप्रियतालाई अझ माथि पुर्यायो।
'म बाँचेकै तिमीसँग माया लाउन हो
मर्ने पनि अर्को जुनी तिमीलाई पाउन हो'
बिक्रम आत्मसन्तुष्टिसहित सम्झन्छन्, 'त्यो गीतबाट सबभन्दा बढी फाइदा मलाई भयो। किनकि अरू त चलिसक्नुभएको थियो। अहिले पनि मलाई ‘म बाँचेकै’ गीतबाट चिन्ने धेरै मान्छेहरू पाउँछु।'
यो म्युजिक नेपालको युट्युब च्यानलमा अहिलेसम्मकै सर्वाधिक हेरिने गीत समेत हो। बिक्रम अभिनीत त्यसपछिका प्रमोद खरेलकै स्वरमा रहेका 'उसलाई पाउनलाई मन्दिरमा पुग्थेँ', 'भूपूमाया ३' पनि चर्चामा रहे।
शिव परियारको स्वरमा रहेको 'धोकेबाज', रमेशराज भट्टराईको स्वरमा रहेको 'टन्न पैसा कमाउन मन थ्यो'लाई पनि निकै रूचाइयो।
उनको करियरको अर्को विशेष पक्ष भनेको धेरै चर्चित गायक/गायिकासँग काम गर्ने अवसर पाउनु हो।
प्रमोद खरेलसँग उनको सहकार्य निकै लामो छ। उनीसँग मात्रै २ सयभन्दा बढी गीतमा सहकार्य गरेको विक्रम बताउँछन्।
शिव परियार, अञ्जु पन्त, स्वरूपराज आचार्य, प्रताप दास, निशान भट्टराई, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, प्रविशा अधिकारीलगायतका कलाकारका गीतमा पनि उनले काम गरेका छन्।
बिक्रमको यहाँसम्मको यात्रा भने सहज थिएन।
उनको बाल्यकाल दाङको धापुर, रत्नपुरमा बित्यो। सानैदेखि नृत्यप्रति रूचि थियो। स्कुलका कार्यक्रमदेखि देउसी-भैलोसम्ममा उनी नाच्थे। त्यही रूचि विस्तारै कलाकारिताप्रतिको आकर्षणमा बदलियो।
केही समय वैदेशिक रोजगारीका लागि कतार पुगेपछि पनि उनको त्यो रूचि रोकिएन। त्यहाँ हुने मेला तथा शुक्रबारका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै आफ्नो रूचिलाई निरन्तरता दिए। त्यही क्रममा केही दाइहरूले उनलाई म्युजिक भिडिओमा काम गर्न हौसला दिए। त्यसपछि नेपाल आएका उनले नरेश खातीको शब्द तथा संगीत र मेक्सम खातीको स्वरमा रहेको 'आई लभ यू' मा मोडलिङ गरे।
सुरूमा केही महिना नेपाल बसेर फेरि विदेश फर्किने सोच बनाएका बिक्रमलाई आफूले गरेका सुरूआती कामले रोके। दर्शकबाट आएको सकारात्मक प्रतिक्रिया र लगातारको कामले उनलाई यही क्षेत्रमा सम्भावना देखायो।
'सुरूमा छ/सात महिना बस्छु, काम गर्छु अनि फेरि फर्किन्छु भन्ने सोचेको थिएँ। तर यहाँ काम गर्दै जाँदा एउटा नशाजस्तो हुन्छ। सुरूआती कामहरू दर्शकले रूचाइदिनुभयो, चार/पाँचवटा काम राम्रो भएपछि मलाई यहीँ केही गर्नुपर्छ भन्ने लाग्यो,' उनी सुनाउँछन्।
करिब १० वर्षभन्दा लामो समय मोडलिङमा बिताइसकेका बिक्रमका लागि यो यात्रा केवल पहिचान बनाउने माध्यम मात्रै रहेन। आर्थिक रूपमा पनि आफूले राम्रै उपलब्धि हासिल गरेको उनी बताउँछन्। तर उनका लागि सबभन्दा ठूलो उपलब्धि भनेको दर्शकले दिएको पहिचान हो।
'यो क्षेत्रले मलाई जति दिनुपर्ने हो, त्योभन्दा बढी दिएको जस्तो लाग्छ। सरल तरिकाले काम गर्दा पनि दर्शकले रूचाइदिएपछि काम हुँदो रहेछ भन्ने मैले यहीँबाट सिकेको छु,' उनी भन्छन्।
यही यात्रामा उनले विभिन्न अवार्डसमेत हात पारेका छन्। हालै उनले चौथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०८३ बाट 'दशकका सम्मान' पाएका छन्।
अब भने उनी फिल्ममा पनि काम गर्ने योजनामा छन्। केही फिल्मका लागि कुराकानी भइरहेको र आफूलाई मन परेको कथा र चरित्र पाए फिल्ममा जाने सोच रहेको उनी बताउँछन्।
'फिल्ममा गएपछि आफूलाई सुहाउने चरित्र गर्न मन छ। सकारात्मक मात्रै होइन, बाहिरबाट नेगेटिभ देखिए पनि अन्त्यमा सकारात्मक सन्देश दिने पात्र भयो भने त्यस्तो भूमिका पनि गर्न चाहन्छु,' बिक्रम भन्छन्।
