राष्ट्रिय विपद्का कारण स्थगित भएको अगस्ट महिनाको 'पलेँटी' कार्यक्रम यही सेप्टेम्बरको अन्तिम साता आयोजना हुने भएको छ।
हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार काठमाडौं कालीकानगरस्थित नेपालयको ‘आर’शालामा हुँदै आएको पलेँटी यसपटक शुक्रबार र शनिबार, सेप्टेम्बर २५ र २६ मा आयोजना हुन लागेको हो।
यसअघि गत महिना गीतकार तथा अभिनेता नीर शाहलाई प्रस्तुत गर्ने तयारी गरिएको थियो। रसुवाको विनाशकारी बाढीबाट उत्पन्न शोकका कारण स्थगित कार्यक्रम अब पुनः आयोजना गर्न लागिएको हो।
यसपटक पलेँटीमा नीर शाहद्वारा रचित झण्डै डेढ दर्जन गीत प्रस्तुत गरिनेछ। उनका गीतलाई पलेँटीका कण्ठशिल्पी अभिज्ञा घिमिरे र रूपक चौधरीले गाउनेछन्।
नेपाली फिल्म क्षेत्रमा अभिनेता तथा निर्देशकका रूपमा लामो समयदेखि सक्रिय शाह गीतकारका रूपमा पनि परिचित छन्। उनले 'पर्खी बसेँ आउला भनी', 'कहिलेकाहीँ म हाँस्छु', 'गहिराईमा डुब्दै नडुब', 'अधरको मुस्कान त केही होइन', 'बादल बनाई देऊ' र 'हिउँभन्दा चिसो' लगायतका गैरफिल्मी गीत रचना गरेका छन्।
त्यस्तै, 'आँखैमा कसैको तस्वीर बसेछ', 'जति निर्मल', 'छोरी मलाई भागी भागी' र 'यो साँझ यो सुवास' लगायतका फिल्मी गीत पनि उनका चर्चित सिर्जनामा पर्छन्।
यसपाली पलेँटीमा प्रस्तुत हुने नीर शाहका रचनामा संगीतकार नातिकाजी, शम्भुजित बास्कोटा, सिके रसाइली र दीप श्रेष्ठहरूले धुन भरेका गीत समेटिएका छन् ।
कार्यक्रमको पूर्वाभ्यासमा सहभागी शाहले पलेँटीसँग जोडिन पाउँदा उत्साहित भएको बताए।
उनले भने, 'संगीत र नाट्य विधासँग म यसरी नजिक छु कि संगीतको सानो ध्यान वा ठूलो कन्सर्ट भइरहेको ठाउँ उत्तिकै प्रिय लाग्छ। पलेँटीको पूर्वाभ्यासमा सहभागी हुन आइपुगेँ। गायक-वाद्यवादक सबै प्रतिभासम्पन्न हुनुहुँदो रहेछ। गौरवशाली इतिहास हो यो। उहाँहरूको प्रतिभासित प्रत्यक्ष साक्षी हुने मौका पाउँदा उत्साहित बनेको छु।'
आफ्नो पुरानो अनुभव सम्झँदै शाहले पलेँटीलाई जीवनका महत्वपूर्ण सांगीतिक शृंखलामध्ये एकका रूपमा लिएको बताए।
'नारायण गोपाल दाइको लाइभ कन्सर्ट गरेको सम्झना छ। त्यो मेरो दायित्व थियो। त्यस्तै प्रकृतिको पलेँटीलाई जीवनका महत्वपूर्ण शृंखलामध्ये एक हो भन्ने ठानेको छु,' उनले भने।
पलेँटीका संयोजक आभासका अनुसार संगीतका विभिन्न विधालाई समेट्ने क्रममा यसपटक नीर शाहलाई प्रस्तुत गर्न लागिएको हो।
'सांगीतिक रचनाका तीनवटै विधालाई समेट्ने क्रममा यसपटक गीतकार नीर शाहलाई निम्त्याएका छौं। सञ्चार र चलचित्र क्षेत्रका साथै गीति साहित्यमा उहाँको उल्लेख्य योगदान छ। सिर्जनात्मक अनुभवसहितको यसपटकको पलेँटी रोमाञ्चक रहनेमा विश्वस्त छु,' उनले भने।
कार्यक्रममा सहभागी हुन पलेँटीको वेबसाइटबाट अनलाइन टिकट लिन सकिनेछ। कार्यक्रममा उपस्थित हुन नसक्ने संगीतप्रेमीका लागि अनलाइनमार्फत प्रत्यक्ष हेर्न 'पे-पर-भ्यु'को व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।