विदेशबाट नेपाल फर्किँदा एकमात्र गन्तव्य काठमाडौंलाई बनाउँदै आएकी गायिका रचना रिमाल यसपटक भने दुबईबाट सिधै पोखरा पुगेकी छन्।
फ्लाई दुबईको दुबई-पोखरा नियमित उडानमार्फत उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको अनुभव लिनकै लागि यसपटक पोखरा हुँदै नेपाल प्रवेश गर्ने निर्णय गरेको रचनाले बताएकी छन्। दुबईबाट पोखरासम्मको यात्रा आफूलाई निकै आरामदायी र सुखद लागेको उनले बताइन्।
'नेपालको एउटा पर्यटकीय गन्तव्य सिधै अन्तर्राष्ट्रिय उडानमार्फत विश्वसँग जोडिँदा कस्तो सम्भावना सिर्जना हुन सक्छ भन्ने अनुभव गर्न पाएँ,' रचनाले सामाजिक सञ्जालमा लेखेकी छन्।
उनले अगाडि लेखेकी छन्, 'यो मेरो एउटा सानो प्रयास थियो कि हामीले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्यौं भने मात्र यस्ता उडानहरू दिगो र विस्तार हुने सम्भावना बलियो हुन्छ।'
अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढेमा यस्ता उडानलाई दिगो बनाउन र थप विस्तार गर्न सहयोग पुग्ने उनको धारणा छ। उनले पोखरा अवतरण गरेसँगै त्यहाँबाट काठमाडौं आइपुगेकी छन्।
रचनाअघि सांगीतिक ब्यान्ड कन्दरा फ्लाई दुबईको दुबईबाट पोखराको पहिलो अन्तर्राष्ट्रिय यात्रुवाहक उडानमै पोखरा फर्किएको थियो।
कन्दराको 'रिदम अफ चेन्ज' टुरअन्तर्गत करिब दुई महिनाको अन्तर्राष्ट्रिय सांगीतिक यात्रा सकेर ब्यान्डका सदस्यहरू सेप्टेम्बर २३ मा दुबईबाट पोखरा फर्किएका थिए।
अन्तर्राष्ट्रिय उडानमार्फत आफ्नै गृहनगर फर्किन पाउँदा आफूहरूका लागि त्यो जीवनभर सम्झनलायक क्षण बनेको गायक विवेक श्रेष्ठले बताएका छन्।