दक्षिण कोरियामा बसोबास गर्ने नेपालीका लागि यसपटकको छुसक पर्व विशेष बनेको छ।
महत्वपूर्ण पर्वको अवसरमा आयोजित नेपथ्यको कन्सर्टमा व्यापक नेपाली सहभागिता देखिएको छ। दक्षिण कोरियामा छैटौंपटक प्रस्तुत भएको नेपथ्यको कन्सर्ट भव्य रूपमा सम्पन्न भएको हो।
शुक्रबार आयोजित कन्सर्टमा दर्शकको भीड सम्हाल्न आयोजकदेखि कोरियाली सुरक्षाकर्मीसम्मलाई हम्मेहम्मे परेको थियो। आयोजनास्थल किन्टेक्स हलसम्म पुग्ने जीटीएक्स स्टेसनतर्फ जाने रेलसमेत नेपाली दर्शकले भरिएका थिए। हजारौँ दर्शक अट्ने क्षमताको अत्याधुनिक हल पनि टम्म भरिएको थियो।
मञ्चको अग्रभागमा दर्शकको भीड बढेपछि गायकले समेत दर्शकलाई केही पछाडि सर्न आग्रह गर्नुपरेको थियो। साढे तीन दशक लामो सांगीतिक यात्रामा बन्द हलभित्र यति ठूलो सहभागिता देखिनु नेपथ्यका लागि बेलायतको वेम्बली एरिनामा भएको प्रस्तुति सम्झाउने क्षण बनेको जनाइएको छ।
कन्सर्टको सुरूआत ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो। गीत प्रस्तुत गर्नुअघि नेपथ्यका मुख्य गायक तथा ब्यान्ड अगुवा अमृत गुरूङले नदी सभ्यतासँग जोडिएको नेपाली समाज पछिल्लो समय जलवायु परिवर्तनका कारण तिनै नदी-नालाबाट डराएर बाँच्नुपर्ने अवस्थामा पुगेको बताए।
भोटेकोशी र त्रिशूलीमा आएको बाढीले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले उपस्थित नेपालीलाई विपद्मा सहयोग गर्न आग्रह गरे।
'भोटेकोशी र त्रिशूलीमा आएको भर्खरैको बाढीले हामीलाई अपूरणीय घाउ दिएर गएको छ,' उनले भने, 'तत्काल राहतका लागि हामी एकजुट हुनुपर्ने भएकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तपाईंहरू पनि सक्दो सहयोग गरिदिनुस्।'
अमृतले गीतसँगै समसामयिक विषयमा आफ्ना धारणा राख्दै करिब दुई घण्टा दर्शकलाई मनोरञ्जन दिएका थिए। कन्सर्टपछि दर्शकले सामाजिक सञ्जालमार्फत नेपथ्यको प्रस्तुतिको प्रशंसा गरेका छन्। दर्शक सुष्मा रानाहँमा राईले कन्सर्टपछि सामाजिक सञ्जालमा नेपथ्यलाई जीवनमा पटकपटक हेर्न र सुन्न मन लाग्ने ब्यान्डका रूपमा उल्लेख गरेकी छन्। अर्का दर्शक मनोज गुरूङले नौ वर्षपछि नेपथ्यको प्रस्तुति हेर्न पाएको उल्लेख गर्दै कन्सर्टको प्रशंसा गरेका छन्।
यसपटकको प्रस्तुतिमा केही नयाँपनसमेत देखिएको थियो। अमृतले 'चरी मर्यो सिसैको गोलीले' गीत सुरू गर्दा 'ए साइँला'अघि 'ए नि हाउ... हा... हा...' भन्दै आलाप तानेका थिए। यसले गीतको सुरूआती माहोललाई थप प्रभावकारी बनाएको थियो।
दर्शक पास्तेम्बा शेर्पाले अमृत गुरूङको फेसबुकमा प्रतिक्रिया दिँदै कन्सर्टलाई 'राष्ट्रियता'को पाठसँग जोडेर प्रशंसा गरेका छन्। त्यस्तै, कल्ता लावती लिम्बूले अमृतलाई सधैं दर्शकलाई उत्साहित बनाउने जोस र जाँगर कायम रहोस् भन्दै शुभकामना दिएकी छन्। आफू एक्लै कन्सर्टमा आएर रमाएको र खुसी भएर फर्किएको उनले उल्लेख गरेकी छन्।
कन्सर्टमा दर्शकको उपस्थितिमा पनि विविधता देखिन्थ्यो। केही समूहले आपसमा डिजाइन गरिएको नेपथ्य अंकित टिसर्ट लगाएर सहभागिता जनाएका थिए। त्यस्तै, नेपाली परम्परागत खानाका विभिन्न परिकारका स्टल रहेको छुट्टै हलमा पनि उल्लेख्य भीड देखिएको थियो।
कन्सर्टपछि अमृत गुरूङले दक्षिण कोरियाले नेपथ्यलाई यसपटक अझ भव्य स्वागत गरेको बताए।
'हामीलाई सदैव न्यानो माया दिँदै आएको कोरियाले यसपाला झनै भव्य स्वागत गर्यो,' उनले भने, 'यसलाई थप प्रेरणाका रूपमा लिएका छौं।'
स्थानीय आयोजक सुरेश लिम्बूले पनि नेपालीबीच एकताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण आयोजनासँग जोडिन पाउँदा गौरव महसुस भएको बताए। उनका अनुसार गुणस्तर र दर्शक सहभागिताका दृष्टिले कन्सर्ट मानक बन्न पुगेको थियो।
कन्सर्टको प्राविधिक पक्षमा संलग्न कोरियाली संस्था डीएस मेडियाटेकका ली जो युङले पनि नेपाली टोलीसँग काम गर्न पाउनु विशेष अनुभव भएको बताए।
'यत्तिको व्यावसायिक नेपाली टोलीसँग मिलेर यस्तो सफल कन्सर्ट दिन सक्नु हाम्रा लागि पनि महत्वपूर्ण रह्यो,' उनले भने, 'हामी फेरि पनि यो टोलीसँग काम गर्न प्रतीक्षारत रहनेछौं।'
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।
दक्षिण कोरियाको कार्यक्रम सम्पन्न गरेर नेपथ्य टोली शनिबार स्वदेश फर्किएको छ। अब नेपथ्यले अक्टोबर ४ मा संयुक्त अरब इमिरेट्सको दुबईमा प्रस्तुति दिनेछ। त्यसपछि नेपालका सात सहर र भारतको सिक्किममा समेत कन्सर्ट गर्ने तालिका ब्यान्डले सार्वजनिक गरिसकेको छ। यसै वर्ष अस्ट्रेलियामा पनि कन्सर्टको शृंखलाबद्ध यात्रा गर्ने तयारी रहेको ब्यान्डले जनाएको छ।
यी कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनमार्फत टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ।
इच्छुक दर्शकले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत टिकट तथा कार्यक्रमसम्बन्धी जानकारी लिन सक्नेछन्।


