ऐतिहासिक नाटक 'वीर गणेशमान' यही भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।
गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा नाटक मञ्चन हुन लागेको हो। नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, संघर्ष, त्याग, साहस र निष्ठामा आधारित यस नाटकलाई वरिष्ठ रंगकर्मी अशेष मल्लले परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन गरेका छन्।
नाटकमा गणेशमान सिंहले राणा शासनविरूद्ध गरेको संघर्ष, भद्रगोल जेल जीवन तथा ६ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनलाई प्रस्तुत गरिएको जनाइएको छ।
त्यस्तै, २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको ऐतिहासिक घटनालाई पनि नाटकमा समेटिएको छ। व्यक्तिगत स्वार्थ, पद र सत्ताभन्दा देश र जनताको अधिकार तथा स्वतन्त्रतालाई प्राथमिकता दिने गणेशमान सिंहको राजनीतिक दर्शनलाई नाटकमार्फत प्रस्तुत गरिएको निर्देशक मल्लले बताए।
मल्लका अनुसार 'वीर गणेशमान' केवल जीवनीमा आधारित नाटक नभई निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो। आफ्नो करिब पाँच दशक लामो नाट्य यात्रामा यथार्थपरक शैलीको यस्तो नाटक पहिलोपटक निर्देशन गर्न लागेको उनले बताए।
वि.सं. २०३८ सालमा स्थापना भएको सर्वनामले नेपाली रंगमञ्चको विकासमा लामो समयदेखि योगदान दिँदै आएको छ।
'वीर गणेशमान'मार्फत गणेशमान सिंहको जीवन र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।