नाटक 'लौरो'को मञ्चन सुरू भएको छ।
ललितपुर-१५ सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीहरू अभिनीत नाटकको मञ्चन बुधबारदेखि कुञ्ज थिएटरमा सुरू भएको हो।
हजुरबुवा र नातिनीको सम्बन्धमा आधारित नाटकले देशको वर्तमान अवस्था, युवाको विदेश पलायन र गाउँमा रित्तिँदै गएको युवा जनशक्तिको विषयलाई उठाएको छ।
नाटकमा गाउँमा युवाको अभावसँगै वृद्ध बुवा-आमाको एक्लोपन र परिवारबीच बढ्दै गएको दूरीलाई प्रस्तुत गरिएको छ।
नाटकमा संरक्षण मिश्र, रिमुन दाहाल, सुशना सञ्जेल, अग्रता अधिकारी, आरोग्य श्रेष्ठ, अभिमान श्रेष्ठ, अभिमन्यु भट्टलगायतले अभिनय गरेका छन्। यसको मञ्च व्यवस्थापन प्रसिज घिमिरे, प्रप्स व्यवस्थापन रेश्मी राई र प्रकाश परिकल्पना प्रकाश दाहालले गरेका छन्। रूबिन सुनार सहायक निर्देशक रहेको नाटकको लेखन तथा निर्देशन पुष्पराज अवस्थीले गरेका हुन्।
निर्देशक अवस्थीले 'लौरो' बुवाआमाका भावनालाई अभिव्यक्त गर्ने माध्यम भएको बताए। उनका अनुसार नाटक कुनै एक परिवारको कथा मात्र नभई धेरै परिवारको साझा कथा हो।
विद्यालयका प्रशासन प्रमुख रामरमण हुमागाईंले नाटक मञ्चनले विद्यार्थीमा अभिनयसँगै संवादकला, अभिव्यक्ति क्षमता, समूहमा काम गर्ने संस्कार, समय व्यवस्थापन र आत्मविश्वास विकासमा सहयोग पुग्ने बताए।
विद्यालयमा सिकेको सीपलाई वास्तविक रंगमञ्चमा प्रस्तुत गर्दै विद्यार्थीले दर्शकमाझ आफ्नो प्रतिभा देखाउने अवसर पाउने उनको भनाइ छ।
नाटक २७ गतेसम्म दैनिक तीन शो मञ्चन हुनेछ।