लकडाउन खोल्ने बेला भएको छैन भनि लम्ब्याउँदै गर्दा हाल हामी सबैको मनमा थुप्रै प्रश्न सृजित भएका छन्। चैत ११ देखि गरिँदै आएको लकडाउन अब कैलेसम्म गर्ने? कैलेसम्म गरे ठीक हुने हो?
के अब सबैतिर लकडाउन गरिराख्नु पर्ने हो? लकडाउनपछि पनि रोग फैलन सक्ने आधार हुन्छ कि नाई? लकडाउन कसरी हटाउने? नेपालमा कोरोना कसरी फैलिइरहेको छ?
महामारीको स्थिति आएमा कति जनासम्मलाई यो रोग लाग्न सक्छ? कति जनाको मृत्यु हुन सक्छ? यसको कन्ट्रोलका माध्यम ठीक छन् कि छैनन्? भविष्यमा हाम्रो लागि सबभन्दा खराब स्थिति के हुन सक्छ?
के हामी रोग नदेखिएको क्षेत्रमा रोग छैन भनि विश्वस्त हुन सक्छौ ? हामीलाई कति स्वास्थ्य सामग्री चाहिने हो? अहिलेसम्म स्वास्थ्य सामग्री केको आधारमा किनेका छौं?
रोकथामको लागि आउने दिनमा कस्तो कस्तो जनशक्ति आवश्यक पर्ने हो? कति मान्छे किन कोरोना प्रमुख कारणले नभई अकालमा ज्यान गुमाउनु परेको छ ? आदि।
मानव विकासको २ लाख वर्षमा कैयौं प्राकृतिक प्रकोप आए होलान् तीमध्ये कोभिड-१९ पनि एक हो। मानव प्रकृतिको महत्वपूर्ण अंग भएको हुँदा प्राकृतिक रूपमा सिर्जना हुने मानवीय समस्यालाई स्वीकार्नुको विकल्प छैन।
कोभिड-१९ भर्खरैमात्र उत्पत्ति भएको,यसको रोकथामको लागि औषधि बनाउन विकसित राष्ट्र लागि परेका छन्। तर त्यसमा सफलतमा हात पार्न सकिरहेका छैनन्।
नेपालमा अहिलेसम्म हेर्दा कोरोना समुदायस्तरमा पनि फैलिसकेको अवस्था छ।यद्यपी यसले महामारीको रूप भने लिइसकेको छैन।जुन राम्रो कुरा पनि हो। तर महामारी नहुँदै महामारीको दर्जा दिइ यसरी हेरिएको छ कि कोरोनापछि त नेपालमा अरू समस्या आउँदै आउँदैनन्, अहिले कोरोनाबाहेक अन्य समस्या छँदै छैनन्।
कोरोनाले केही होस् नहोस् बिनाकारण अन्य काराणले मृत्युवरण गर्नु परेको समाचार आएका छन्। यस लकडाउनसँगै थुप्रै कुरा नजर अन्दाज गरिएको छ, बाँकी विश्वको भन्दा नेपालको रहनसहन, संस्कार तथा खान पानमा फरक छौं। त्यसैले अन्य देशमा गरिएको अध्ययन नेपालमा लागू नहुन पनि सक्छ।
जसले गर्दा रोगसम्बन्धी सर्वपक्षीय तथ्यांक निर्माण, तथा प्रयोग नगरिनु, कोरोनाबाहेक र कोरोनासँगैका समस्याहरूको अध्ययन नगरिनु, हामीसँग मौजुदा विकल्पहरूको अध्ययन र प्रयोग नगरिनु र एकरूपता र हल्लाहरू चिर्नको लागि, वैज्ञानिक रूपमा काम गर्नको लागि विज्ञहरूबाट निर्देशिका र कार्य विधिको प्रकाशन नगरिनु रहेका छन्।
हालसम्म १०९ जनामा यो रोग लागे ता पनि ३० जना निको भैसकेका छन्, हालै तीन जना निको भएकोमा पनि फेरि देखिएको समाचार आएको छ।
विश्व स्वास्थ्य संगठनको अनुसार यो रोग सरिसकेपछि लक्षण देखा पर्न १०-१४ दिन लाग्ने, र विभिन सन्दर्भ सामग्री आनुसार विषम परिस्थितिमा २८ दिन पनि लाग्ने, रोग लागेका १५ प्रतिशतलाई अस्पतालमा राख्नु पर्ने, रोग लागेका ५ प्रतिशतलाई अस्पतालमा अति सघन स्याहार गर्नुपर्ने उल्लेख छ तर नेपालमा आजसम्म साधारण लक्षण मात्र देखिएको अथवा लक्षण नै नदेखिएको उल्लेख छ।
पहिलो अनुच्छेदमा उल्लेखित प्रश्नहरूको वैज्ञानिक रूपमा समाधान गर्न नेपालको आफ्नै रोगसम्बन्धी सर्वपक्षीय तथ्यांक निर्माण, तथा निर्णयमा प्रयोग अति नै आवश्यक छ।
कोरोनाबाहेक नेपालमा अन्य मौजुदा समस्याहरू छन्, थुप्रै दीर्घ रोगी छन् अस्पताल गइरहनु पर्ने,डाक्टरको निगरानीमा रहनुपर्ने लकडाउनको कारण घरमा नै बसिरहेका छन्।
कैयौं कोरोना नभएकाहरू सही समयमा उपचार नपाएर मृत्युवरण गरिरहेका छन्। ज्वरो आएको कति बिरामीले अस्पतालमा ठाउँ पाएको छैनन्।
कोरोनाको कारणले लकडाउनमा हुँदा नागरिकमा देखिने मनोवैज्ञानिक समस्या, बसी रहँदा सिर्जना हुने विभिन्न रोगजन्य समस्या आदि विस्तारै विस्तारै मुख्य बन्दैछन्।
कोरोनाको समस्याबाहेक अन्य थुप्रै समस्या छन्। तराईमा डेंगू तथा मलेरियाको समस्या छ विभिन्न प्रदेशमा हैजा जस्ता अन्य रोगले महामारीको जोखिम छ।
यसका साथै पहाडमा बाढी पहिरो र अन्य जोखिम छन्। कृषकलाई खेती गर्न बिउ विजन,मल तथा बजारको समस्या छ लकडाउन खुलेपछि आपूर्ति व्यवस्थामा समस्या हुन सक्छ।
छिमेकी र अन्य दातृराष्ट्रले औषधि तथा खाद्यान्न निर्यात नगर्दा भोकमरी र अन्य समस्या आउन सक्ने पनि देखिन्छ।यी समस्याले थप महामारी र विपत्ति निम्त्याउन सक्दैनन् भन्न सकिन्न।
शक्तिको दुरूपयोग गरी पास बनाइ काठमाडौं बाहिर र भित्र गर्नेले, राजनीतिको लागि उद्दारको नाममा मानिस ओसारपसार गर्नेले लकडाउन कमजोर बनाइ थुप्रै समस्या निम्त्याएका छन्। जसको कारण पुन: लकडाउन गर्नुपर्ने र पुन: आइसोलेसनमा बस्नुपर्ने समस्या निम्तिएका छन्।
यो मात्र हैन हुने खानेहरूलाई लकडाउनले रोकेको छैन, उनीहरू पास बनाएर घुमिरहेका छन् तर सर्वसाधारण र मजदूर वर्गलाई घरबाहिर निस्किन दिइएको छैन।
राहत वितरण भए पनि सही मान्छेले र राजनीतिक पार्टीमा असंग्लनले राहत पाउन नसकेका समाचार आइरहेका छन्। औंठी र आइफोन बोकेर राहत लिन लाइनमा बसेको समाचार आएका छन्। यी गम्भीर सामाजिक समस्या हुन्। यी समस्याको अध्ययन तथा समाधान गर्नुपर्ने अति नै आवश्यक देखिन्छ।
अहिलेभन्दा ठूलो समस्या अझपछि आउँदै छ। जहिलेसुकै लकडाउन गर्न सकिँदैन, विश्वको अवस्था हेर्दा कोरोना छिट्टै संसारबाट बिदा लिने छाट देखिँदैन लकडाउन पश्चात विदेशबाट थुप्रै फर्कने छन्।
तिनीहरूको संख्या लाखौंमा हुन सक्छ,तिनीहरूको चेक तथा व्यवस्थापनको आवश्यकता छ, विश्वको यो अवस्था हेर्दा कोरोनाको कारण पर्ने आर्थिक असर र यसको समस्या, अन्तर्राष्ट्रिय श्रम बजार र यसमा पर्ने असरले हुने बेरोजगार र विप्रेषण कम हुने समस्या आदि आइपर्न सक्छन्।
त्यसैले यस्ता समस्या कसरी सुल्झाउन सकिन्छ अहिल्यै त्यसतर्फ ध्यान दिनुपर्ने जरूरी देखिन्छ।
भनिन्छ समस्या एक्लै आउँदैन समस्यासँगै उपाय र विकल्प आएका हुन्छन्। तसर्थ ती उपाय र विकल्पहरूको अध्ययन र प्रयोग गर्नु अति नै आवश्यक छ।
अब सुरक्षा सतर्कता अपनाइ सुरक्षित देखिएका स्थानमा लकडाउन खुकुलो बनाउनुपर्ने देखिन्छ।महामारी नै नदेखिएको हुँदा सावधानी अपनाई स-सानो क्षेत्र हुँदै जिल्ला प्रदेश हुँदै विश्वको परिवेश अनुसार देशबाट लकडाउन हटाउने विकल्प पनि छ। तसर्थ लकडाउन लम्ब्याउनेसँगै यसले ल्याउने समस्या समाधानको लागि विकल्प खोज्न जरूरी छ।
यतिमात्र होइन लकडाउनको कारण सिर्जना हुने आर्थिक सामाजिक र मनो वैज्ञानिक समस्याको समाधानको लागि विकल्पको प्रयोग गर्दै जानु पर्ने देखिन्छ ।
लकडाउनको पहिलो हप्ता, थुप्रै स्थानीय निकायले सडकभरी डिसइन्फेक्टेन्ट छरियो के यो अति नै आवश्यक थियो? अहिले पनि मानिसहरूमा डिसइन्फेक्टेन्ट छर्किंदै छ के यो वैज्ञानिक रूपमा ठीक हो?
के हामीले कोरोना रोकथामको लागि गरेका कार्य ठीक छन्? हामी कोरोनाको रोकथामको लागि उच्चस्तरीय समितिको बैठक बसिरहेको देख्छौ तर त्यहाँ विज्ञ सम्मिलित भएको देखिँदैन के नेपालमा विज्ञ छँदै छैनन्?
तसर्थ नमूना संकलन र ओसारपसार, बिरामीको हेरचाहमा खटिने सम्पूर्ण जनशक्तिको संचालन गर्न, व्यक्तिगत सुरक्षा उपकरणको सुरक्षित प्रयोग, कोरोनाका बिरामीहरूबाट उत्सर्जन भएको फोहोरको व्यवस्थापन बजारमा आउने हल्लाहरूको सत्यतथ्य के हो?
लकडाउनको कारण सिर्जना हुने आर्थिक सामाजिक र मनोवैज्ञानिक समस्याको समाधानको लागि र लकडाउनबाट पर्ने अन्य असर कम गर्न विज्ञहरूबाट निर्देशिका र कार्यविधिको तयारी तथा प्रचार-प्रकाशन गर्न अति नै आवश्यक छ। कोरोनाको रोकथामको लागि उच्चस्तरीय समितिको बैठकमा विज्ञ सम्मिलित गर्नु पर्दछ।