२८ वर्षे जागिरे जीवन पार गर्दै गर्दा २.५ आनाको जग्गामा घर बनाएँ मैले।
त्यो भक्तपुरको एउटा कुनामा थियो। ११ वर्ष अगाडि दोलखाको पिच सडकको घर–जग्गा छोड्दा मन खिन्न थियो।
सुरूमा भक्तपुर दोलखाभन्दा अनकन्टार र निर्जन लाग्थ्यो मलाई। समयक्रममा भक्तपुरका कुना–कुनामा सडक सञ्जाल द्रुतगतिमा विस्तार भयो।
बाहिरी जिल्लाबाट हुलका हुल मानिस आए। हजारमा किनेको जग्गा एकाएक लाख मोलिने भयो। हेर्दाहेर्दै खाली जग्गाहरू घरले भरिए।
स्थानीयहरूका भाषामा म दुई आने भएँ। मेरा पूर्वज गाउँलेका भाषामा नवधनाढ्य सहरिया भएँ।
परिचय फेरियो मेरो। त्यही दुई आनाको घर ठूलै सम्पत्तिमा परिणत भयो। आर्जेकोभन्दा समयक्रमले त्यसलाई ठूलो सम्पत्ति बनाइदियो। कमाएर होइन, समयले मलाई करोडपतिको बनायो। अब भने खाट्टि सहरिया भएँ म! सहरमा बास हुनु सन्तोषकै विषय भयो मलाई।
सहरमा घर निर्माणका आफ्नै कहानी हुन्छन् जागिरेका! सञ्चयकोष र लगानी कोष दाता थिए। सस्तो ऋण सुविधा हुन्थेन भने कुरा अर्कै हुन्थ्यो। भाडाको घरमै हुन्थेँ म।
कर्मचारीहरू भ्रष्ट र कामचोर हुन्छन् भन्ने आम मानिसको बुझाइ छ। विश्वविद्यालयका सबै कर्मचारी/शिक्षक त्यो वर्गमा पर्लान्/नपर्लान् फरक पाटो भयो। तै पनि आम मान्छेका बुझाइको त्यो हिस्सा मेरो भागमा पनि पर्छ। त्यसलाई सहुँला/बेहोरौँला।
जागिरेको जसोतसो जिन्दगी चल्दै छ। श्रीमती घरकै गृहमन्त्री हुन्। कुशल घर व्यवस्थापनले मलाई बिहान–बेलुका कलेज–कलेज धाउन समय निस्क्यो। त्यही हो मेरो अतिरिक्त कमाइ। उमेरले सक्दासम्म दौडिएँ। त्यो दौड बाँच्नका लागि थियो। चालीस कटेपछि रमाउला भन्ने गीत सुनेर खुसी भएको थिएँ कुनै दिन। त्यो भ्रम रहेछ। रोगले सताउँदै गएपछि बिहान–बेलुका कलेज धाउने काम बन्द गरिदिएँ। बाँकी बस्यो सुख्खा तलब।
अहिले ज्यानका घनिष्ठ र नछुट्ने साथी बनेका छन् औषधि। साँच्चै भन्नुहुन्छ भने खाजा नै हुन्छ औषधि। सरकारको स्वास्थ्य बीमाले राम्रै सघाएको थियो मलाई। भरपूर उपयोग गर्यौँ दुवैले। अब भने फसाद पर्यो। सरकारले स्वास्थ्य बीमालाई खुम्च्यायो। मासिक कम्तीमा १० हजार औषधि र चेकजाँचका लागि छुट्याउनुपर्ने भयो। सञ्चयकोष र लगानी कोषको किस्ता त बाँकी नै छ।
गाउँबाट सहर मान्छे किन पस्छन् भन्ने कुरा बल्ल बुझेँ मैले। अदालतको तारिख धाएजस्तो प्रत्येक महिना अस्पतालमा पुग्ने रूटिन हुन्छ हाम्रो। गाउँमा डाक्टर होइन, सिटामोल पाउन मुस्किल छ। सहर भरिभराउ हुनुमा ग्रामीण क्षेत्रको कमजोर स्वास्थ्य सेवा हो भन्ने कुरामा म निश्चित भएँ।
समय फेरिँदै थियो। तर मेरी श्रीमतीको लवाइँमा खासै परिवर्तन थिएन। श्रीमतीजीले कहिल्यै फेसनका कपडा मागिनन्। उनका चाहना बुझ्ने कोसिस पनि गरिनँ खासमा मैले। परिवारका लागि आफ्ना रहर र इच्छाहरू मारिन् होला सायद। गरगहना र फेसनका कपडा क्षमता बाहिरका वस्तु थिए मेरा।
समाजमा बसेपछि समाजको रीतिरिवाज र चालचलन मान्नु पर्छ। बिहे, व्रतबन्ध आदिमा जानुपर्छ। त्यसमा तसक र मसक गर्दै गहना, लुगा–कपडाको प्रदर्शन हुन्छन्। समाजमा यो हरदिन बढ्दै गएको छ। एक हिसाबले समाज अझ भड्किलो हुँदैछ। समाजको तडकभडक देखेर अचम्म लाग्छ। यसै क्रममा एकदिन आफन्तका विवाहमा जानैपर्ने भयो। दुवै जना गयौँ। विवाहमा उपस्थित हुने महिलाका गला र ज्यान सुनले छप्पकै ढाकिएका थिए। त्यो प्रदर्शनी स्थल हो। मानौँ हामी त्यो प्रदर्शनी हेर्न गएका थियौँ। त्यस्तो अनुभूति भयो मलाई।
बेलुका घरमा फर्किएपछि श्रीमतीले ज्यादै गुनासो गरिन्। महिलाहरू गहना प्रेमी हुन्छन् भन्ने कुरा त्यसबेला बुझेँ मैले। आधारभूत आवश्यकता पूरा गर्न यसअघि आफ्ना इच्छा र चाहनाहरू मारेको रहेछ। मनका कुरा खोलिन् उनले। यसपछि भने मलाई मेरो जागिरप्रति ग्लानि भयो। हेर्दाहेर्दै सुनको भाउ सुन्न मात्र सकिने भयो। किन्न नसकिने भयो। हरेक महिना र हरेक वर्ष त्यसको पारो चढ्यो। तोलाको ३ लाख नाघेपछि श्रीमतीले दिक्क मानिनन्।
वास्तवमै उनी सुनप्रेमी होइनन्। उमेरमा पनि गहना खोजिनन्। तर बुच्चो कान मलाई देखाइन्। घर बनाउँदा उनका झुम्का बेचिदिएको थिएँ मैले। सट्टा भर्ना गर्छु भनेको थिएँ। कहिल्यै सकिनँ। टोल–छिमेकका महिलाको शरीर सुनले ढाकेको देखेपछि जागिरबाट राजीनामा दिई आएको पैसाले सुन किनिदिन सुझाइन् मलाई। दोधारमा परेँ म।
समय बित्दै थियो। एक दिन कोठामा टोलाएर बसेको थिएँ म। जागिरबारे सोच्दै थिएँ। गम्दै थिएँ। अझै १५ वर्ष अवधि बाँकी थियो। अकस्मात् कोठाको भित्तामा नजर गयो। विश्वविद्यालयले दिएको पदक थियो त्यो। निहालेर हेरेँ त्यसलाई। चाँदीको सिक्कामा पहेँलो धातु थियो त्यसमा। त्यो सुन होला भन्ने कहिल्यै अनुमान गरेको थिइनँ। भोलिपल्ट नै त्यसलाई सुन पसलमा लगेर देखाएँ। पसलेले ४० हजार आउने बतायो। अनि सिक्काको नि? सोधेँ मैले। पहिले पहिलेको सुनको मूल्य अहिले चाँदीको मूल्य भएछ। मूल्य हिसाब गर्दा १२ हजार आउँछ रे त्यसको। खुसीले गद्गद भएँ। श्रीमतीलाई सुनाएँ त्यो।
त्यो दिन त्यसै भयो। पदक बोकेरै घर फर्किएँ। पदकलाई पहिलाभन्दा बढी जतन गरेँ। बेलुका श्रीमतीजीलाई पदकको सुन–चाँदी गरी ५० हजार आउने बताएँ। मुस्काइन् उनी। धेरै कुरा खोजेकी थिइनन् उनले। कानमा लाउने टपको रहर दर्शाइन्। धेरै पटक सोचेँ मैले। पदक लगाएर हिँड्ने होइन; सजाउने र आत्मसन्तुष्टि लिने त हो। होस्, बेच्छु यसलाई। श्रीमतीको खुसीका लागि विश्वविद्यालयले दिएको पदक साँच्चिकै बेचिदिएँ मैले।
पदक बेचेको दिन जागिरप्रति थप निराशा बढ्यो। अर्को कोणबाट फेरि सन्तुष्टि लिएँ। त्यही जागिरले यहाँसम्म ल्याइपुर्याएको होइन मलाई? किन निरास हुनुपर्यो? आफैलाई प्रश्न सोधेँ र आफैँले उत्तर दिएँ। यही जागिरबाट आएको पैसाले मलाई र मेरी श्रीमतीलाई बचाएको छ। अनि किन असन्तुष्ट हुने? होस्…।
अरू सेवाका कर्मचारी र विश्वविद्यालय सेवाका कर्मचारीमा फरक छ। त्यसमाथि म बबुरो! अरू कर्मचारीलाई चाहिँ कसरी तडकभडक गर्न पुगिरहेको छ? सोचमग्न भएँ।
अहिले श्रीमतीको कानमा टल्केको सुनले पदकको भन्दा धेरै गुणा खुसी दियो। त्यसैले त पदक बेचेर श्रीमतीलाई खुसी दिए। यस घटनापछि पुरूषको जिम्मेवारीबारे गहिरोसँग गम्न मन लाग्यो मलाई। वास्तवमा पुरूषका खुसीहरू विवाहपछि खोसिँदा रहेछन्। लुटिँदा रहेछन्। साँच्चिकै पुरूषहरू छोराछोरी, घरव्यवहार र परिवारका लागि बाँच्दा रहेछन्। बुढापाकाले यही कुरा भनेको सुनेको थिएँ। आज बल्ल विश्वास लाग्यो मलाई। नेपाली समाजमा पुरूषलाई रूने छुट छैन। पुरूष भएर रूनु हुँदैन रे! त्यसैले त पुरूष रूँदैन। यदि त्यो छुट हुन्थ्यो भने म धक फुकाएर रून्थेँ!