हामी ५२ औँ दिनको लकडाउनमा छौँ। नेपालको विभिन्न भागमा एकै दिन ८३ जनामा कोरोना भाइरस संक्रमित देखिएसँगै देश तरंगित भएको छ। जसमा पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि संक्रमित भएकोले नेपाल तेस्रो अवस्थामा पुगेको प्रमाणित हुन्छ।
यसैबीच लकडाउन कडा पार्ने भन्ने कुरा आएको छ। प्रत्येक हप्तामा लकडाउन कडा, लकडाउन कडा भनिरहेकै छौँ। अब प्रश्न आउछ, हामीलाई चाहिने लकडाउन कति कडा हो? त्यो कडाको लेवल कति हो? अहिलेसम्मको लकडाउनले किन काम गरेन?
कोरोना हावाको माध्यमबाट मानिसबाट मानिसमा फैलने हुनाले लकडाउन नियन्त्रणको गतिलो औजार हो, तर लकडाउनसँगै अन्य कार्यहरु जस्तै सीमामा नागरिक रोकिनु, शक्तिको दुरुपयोग गरी पास बनाई काठमाडौँ बाहिर र भित्र गरिनु, उद्धारको नाममा राजनीतिक मानिसको ओसार-पसार गरिनु, समयमानै अनौपचारिक श्रम जीविका समस्याहरु सम्वोधन नगरिनु, प्रभावकारी रुपमा परिक्षण नगरिनु जस्ता कार्यले थुप्रै समस्या थपिएका छन्, जसले हामीलाई अझ अनिश्चित बनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस कहिल्यै नहराउने चेतावनी दिएको छ। विभिन्न देश जस्तै अमेरिका, भारत र पाकिस्तानका प्रतिवेदन र वस्तुस्थितिअनुसार कोरोना नियन्त्रणका लागि लकडाउन गरे पनि विश्वमा कोरोना नियन्त्रणमा नआउने देखिएको छ।। नियन्त्रण हुन नसक्नुमा लकडाउन कडा रुपमा पालना नहुनु र आर्थिक समस्याका कारण लकडाउन खुकुलो बनाउनु रहेका छन्।
त्यसैले सुनिश्चितताको लागि लकडाउन र द्रुत परीक्षणसँगै अन्य रणनीतिहरु अगाल्दै जानु पर्ने देखिन्छ। त्यस्ता कार्यहरुमा विदेशबाट फर्कनेको सहज उद्धार, भविष्यमा महामारी कसरी फैलन सक्छ, यसको लागि मोडेलहरु तयारी र यसै मोडेलको आधारमा हामीलाई चाहिने पूर्वाधार, जनशक्ति, स्वास्थ्यका साधनहरुको खरिद तथा मौजुदा तयारी, महामारीपश्चात आउने आर्थिक र सामाजिक समस्याका निराकरणका उपाय पर्दछन्।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनको इन्कुबेसन अवधि २ देखि १४ दिन हुने जनाएको छ। विभिन्न अध्ययनअनुसार एकलकाटे केसहरु (आउट लायर) शुन्यदेखि २८ दिनसम्ममा देखिने उल्लेख छ, जुन नगन्य मात्रामा हुन्छन्। यसरी एकलकाटे केसहरुलाई मध्येनजर गर्दै लकडाउन ५५ दिनसम्म गर्दा नेपालमा कोरोना शुन्य हुनुपर्ने हो, पचेर जानु पर्ने हो। तर यस्तो देखिएको छैन।
हामी अनुभवबाट कुरा गरौँ। २०२० जनावरीको २३ मा लकडाउन सुरु हुँदा चीनमा ७७१ संक्रमित रहेको थिए। २०२० फेब्रुअरीको १८ तारिकबाट नयाँ केसभन्दा धेरै निको भएको केस आएका थिए, जसले कोरोना नियन्त्रणमा रहेको भन्न सकिन्थ्यो। लकडाउनको ५६ औँ दिन मार्च १९ मा चीनमा देशभित्रको नयाँ केस शुन्य भएको थियो। नेपालमा ५० दिन देखि लकडाउन छ र जेठ ५ गते सम्म नेपाल ५५ औ दिनको लकडाउनमा रहन्छ।
यो लकडाउन व्यवस्थापन गर्न खर्चिएको मनग्य समय हो। हामीले सही योजना र रणनीति बनाउन नसक्दा जनताहरुले गरेको यत्रो दुख बालुवामा पानी राखेको जस्तो भएको छ। अहिले देखाएको स्थितिले र काठमान्डौँ पनि पुनः रेड जोनमा पर्नुले आजसम्म गरेको लकडाउन व्यर्थै भएको छ। यसले थप समस्या थपिरहेको छ। यस्तै हो भने वर्षौँ लकडाउन गरेपनि कोरोनाबाट उम्किन सक्दैनौँ।
हालैको अध्ययनअनुसार अहिले भारतमा १० दिनमा संक्रमितको संख्या दोब्बर भएको छ। अध्ययनअनुसार छुट्टाछुट्टै ६ ओटा अध्ययन मोडेलको औषत निकाल्दा भारतको राजधानी दिल्लीमा जुन महिनाको २० को आसपास तिर संक्रमितको संख्या बढ्ने र सक्रिय संक्रमितको संख्या १२ हजार हुने देखाएको छ।
हालै अमेरिकाका विज्ञहरुबाट कोरोनाको महामारी २०२२ सम्म रहने अनुमान प्रतिवेदन सार्वजनिक भएको छ। साथै मे ५ को वासिङटन पोस्टमा उल्लेखित जानकारीअनुसार जुन महिनामा संक्रमितको संख्या दैनिक दुई लाख हुने र दैनिक तीन हजारको मृत्यु हुने सरकारी अनुमान प्रतिवेदन सार्वजनिक भएको खबर छ।
कोरोना संक्रमित बढीरहँदा उता पाकिस्तानले मे महिनाको ९ तारिखबाट लकडाउन हटाएको छ। जसमा साबधानी अपनाएर पसल, बजार र कलकारखाना बन्द हुने जनाएपनि संक्रमित बढिरहेका छन्। अफ्रिकन देशहरुले आर्थिक समस्याका कारण लकडाउन खुकुलो बनाउने जनाएका छन्।
स्वास्थ्य पेशाकर्मीहरुले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) प्रयोग गर्दा समेत उनीहरुमा संक्रमण देखिएकोले सावधानी अपनाएर लकडाउन खुकुलो बनाएपनि सर्वसाधारण पूर्णरुपमा संक्रमण विरुद्धको कार्यविधि पालना गर्न सक्दैनन् र संक्रमित बढ्ने हुन्छ। अर्कोतिर कोरोनको उपस्थिति लम्बिरहँदा, कोरोना प्रति आम मानिसको विभिन्न बाध्यताले डर भगाउने र संवेदनशीलता घट्दै जाँदा कोरोनको संक्रमण बढ्ने सम्भावना हुन्छ।
चीनको वुहानमा कोरोनाका केसहरु पुनः देखिएको छ। यी सबै हेर्दा कोरोनाको यात्रा लामो हुन्छ भन्ने हो। त्यसैले लकडाउनसँगै अन्य रणनीति अवलम्बन गर्नु अति नै आवश्यक छ। डब्लुएचओले कोरोना भाइरस कहिल्यै नहराउने चेतावनी दिएसँगै लकडाउनका साथसाथै भविष्यमा आउनसक्ने महामारीको लागि स्वस्थ्य पूर्वाधारहरु व्यापक रुपमा तयार गर्नुपर्ने देखिन्छ।
हामी वैज्ञानिक युगमा छौँ तर हाम्रो काम वैज्ञानिक भएको छैन। हामीले हाम्रो कार्यले नै समस्या उत्पन्न गरीरहेका छौँ। जब हामी संक्रमित छ कि छैन भनेर जाँच्न सक्छौ भने सीमामा नेपालीलाई ४५-५० दिनसम्म किन राखेको? जबकी टेस्ट गर्दै उनीहरुलाई घर पठाईदिन सकिन्छ। अहिले सिमानामा कोरोना फैलनुको कारण खुल्ला सिमाना र सीमामा नागरिक रोकीराख्नुको परिमाण हो। यदि नागरिकलाई पहिले नै सहजपूर्वक नेपाल आउन दिएर क्वारेन्टाइनमा राखेको भए नियन्त्रणमा सहयोग पुग्ने थियो।
अर्को विदेशमा रहेका नेपाली उद्धारको आश गरेकालाई भर्खरै उद्धार गर्न सकिदैन भनेका छौँ। यो ठिक कुरा होइन। अफ्ठ्यारोमा जसलाई पनि अभिभावकको आश हुन्छ। जब आपत पर्दा देशले गरेन भने देशप्रति र समाजप्रति कसरी सम्मान जाग्छ। यसको दुष्चक्र ठूलो हुन्छ। जस्तोसुकै अवस्थामा पनि नेपालको नागरिकहरु देश फर्कन पाउनु पदर्छ।
देशभित्र प्रवेश गर्न अहिले हुँदैन भन्न मिल्दैन। जनता देशको अभिन्न अंग भएको हुँदा र संविधानअनुसार सार्भभौमसत्ता र राज्यसत्ता जनताको हातमा हुने भएको हुँदा स-सम्मान देशमा फिर्ता हुन पाउन पर्दछ। रेमिट्यान्स पठाइ सहयोग गर्ने नागरिकलाई १-२ दिन पख भन्न मिल्ला तर अहिले सकिदैन भन्न मिल्दैन।
ती नागरिकहरु ढिलो चाडो कुनै न कुनै दिन नेपाल आउछन् नै। पछि आउदा पनि रिस्क बढ्ने हुन्छ्। अरु देशले नेपालबाट उद्धार गरी लगेको उदाहरण छन्।
अध्ययनअनुसार भारतमा ३५ लाख नेपाली श्रमजिवी छन्, तीमध्ये १० लाख अस्थाई श्रमजिवी अनौपचारिक श्रम बजारमा काम गर्छन। यीसँगै अन्य पनि लकडाउनमा र लकडाउन पश्चात नेपाल फर्कने छन्। ४० लाख जति भारत बाहेक अन्य देशको श्रम बजारमा काम गर्छन। वैदेशिक रोजगार बोर्डको अनुसार ५ लाख ३४ हजार मध्ये पूर्वको अन्तर्राष्टिय श्रम बजारबाट तत्काल नेपाल फर्कन चाहेका छन्।
सर्वप्रथम तत्काल र अलि पछि गरि नेपाल फर्कने नागरिकको नामावली तयार गरौँ। अन्य सफ्टवेर बनाउँदा समय लाग्ने भएकोले गुगलको फारामहरु प्रयोग गर्न सक्छौँ। यस कार्यले महामारी नियन्त्रणको लागि सही योजना बनाउन सहयोग मिल्दछ।
नेपाल फर्कनेको तथ्यांक तयार भैसकेपछि नेपालमा भएका ठूला तथा साना हवाई कम्पनीले उद्धारको लागि टिकट खुल्ला गरौँ। जहाजमा चढ्नुभन्दा पहिला किट टेस्ट गरेर जहाजमा राखौँ, उद्धार गरि ल्याएकोलाई स्थिति हेरेर नेपालको होटेलमा राखौँ। बिरामीलाई अस्पतालमा।
होटेलमा बसेकाहरु एक हप्तामा पिसिआर टेस्ट गरि घर पठाईदिउ। जसको अनुगमनको लागि स्थानीय निकायलाई जिम्मा दिउँ। यसको लागि प्रति व्यक्ति रकम धेरै नहुने भएको हुँदा उद्धारपछि तिर्नेगरी ऋणको रुपमा व्यावस्था गरौँ। तिर्न नसक्ने पछि मुल्यांकन गरी छुटको व्यवस्था गर्न सकिन्छ। यसो गर्दा होटल र हवाई कम्पनीहरुलाई राहत मिल्ने तथा राज्यलाई व्यय भार कम पर्ने हुन्छ।
यसका साथसाथै विभिन्न देशबाट फर्कनेको आँकडा तयार भैसकेपछि अब नेपालमा कोरोना कसरी फैलन सक्छ, त्यसको लागि रोकथामको लागि अँगाल्नु पर्ने रणनीतिहरु के-के हुन्, कार्यनीति के-के हुन्? तयार गरौँ।
विश्व स्वास्थ्य संगठनको अनुसार यो रोग सरिसकेपछि लक्षण देखा पर्न १०-१४ दिन लाग्ने, र विभिन सन्दर्भ सामग्रीअनुसार विषम् परिस्थितिमा २८ दिन पनि लाग्ने, रोग लागेका १५ प्रतिशतलाई अस्पतालमा राख्नु पर्ने, रोग लागेका ५ प्रतिशतलाई अस्पतालमा अति सघन स्याहार गर्नुपर्ने उल्लेख छ।
तर नेपालमा आजसम्म साधारण लक्षण मात्र देखिएको अथवा लक्षण नै नदेखिएको उल्लेख छ। बाँकी विश्वको भन्दा नेपालको रहनसहन संस्कार तथा खानपानमा फरक छ। अन्य देशमा गरिएको अध्ययन नेपालमा लागु नहुन पनि सक्छ। कोरोनाको रोकथामको लागि हाम्रो देशको आफ्नै तथ्यांक सिर्जना गर्दै जाऊँ। यसैको आधारमा भविष्यमा महामारी कसरी फैलन सक्छ यसको लागि मोडेलहरु तयार गरौँ।
अनि यसै मोडेलको आधारमा हामीलाई चाहिने पूर्वाधार, जनशक्ति, स्वास्थ्यका साधनहरुको खरिद तथा मौजुदा तयारी गरौँ। महामारी नियन्त्रणको लागि विभिन्न पक्षको सहभागिता हुने हुँदा त्यसैअनुसारको उप-समिति तयार गरि भर्चुअल सम्मेलन गरौँ र निकासको लागि विभिन्न विकल्पहरुमा छलफल गरौँ।
अबका दिनमा कोरोनाबाट नेपाली समाजमा सिर्जित हुने समस्याहरुमा देशमा आर्थिक समस्याबाट सुरु भई यसको प्रभावमा बेरोजगार दर बढ्ने र गरिबी बढेर जाने देखिन्छ। विस्तार-विस्तार गरिबी बढ्दै जादा भ्रष्टचार बढ्ने, चोरी, लुटपाट र कलह बढ्ने, मद्यपान र लागुऔषधको प्रयोग बढ्ने, जसले गर्दा समाजमा बलात्कार, वेश्यावृत्ति समेत बढ्ने हुन्छ।
खाद्यान्नको माग र आपूर्तिको सन्तुलन नमिल्दा मूल्य निकै नै बढेर जाने देखिन्छ। निजी तवरबाट संचालित विभिन्न व्यवसायहरु पर्ने आर्थिक असरले आत्महत्या बढ्ने हुन्छ। यसबाट सामाज विरोधी व्यवहार देखिनुका साथै सामाजिक कलहसम्म हुनसक्ने देखिन्छ। यसको अन्य असरमा समाजमा मनोरोगी साथै अन्य रोगी बढ्ने हुँदा मानव जनशक्ति र सामाजिक भलाईमा असर पर्ने देखिन्छ।
आर्थिक समस्या निराकरणको लागि विभिन्न आर्थिक प्याकेजहरु व्यवस्था गर्न सकिन्छ जसमा सहुलियत ऋण र कर छुट हुन सक्नेछन्। कृषिमा तथा पर्यटनमा आधारित व्यवसायको लागि बिउ पुँजी वितरण गर्नु पर्दछ।सुचना प्रविधिको क्षेत्रको विश्वमा राम्रो हुँदै गएको हुदाँ यसको लागि नेपाली युवालाई बिउ पुँजी वितरण गर्नु पर्दछ।
आर्थिक विकासको लागि परिमाणात्मकभन्दा गुणात्मक वस्तु उत्पादनमा दिई फाइदा र अवसर हेर्दै अन्तर्राष्ट्रिय बजार भाग लिदैजादाँ रोजगारीका नयाँ-नयाँ अवसर सिर्जना गर्न सकिन्छ। थप उत्पन्न हुने सामाजिक र मनोवैज्ञानिक समस्याको लागि समाज शास्त्री र डाक्टरहरु परिचालन गर्न सकिन्छ।
हामी सबैले जे काम गर्छौँ, त्यो सामाजिक उन्नतीको लागि हो। समाज विभिन्न क्षेत्रको समिश्रणबाट तयार हुने भएको हुदाँ महामारीको समाधान र सामाजिक उन्नतीको लागि क्षेत्रका विद्वानसँग छलफल गर्दै पुर्व-साबधानी अपानाउनु पर्ने देखिन्छ।