कोरोनाभाइरसको महामारी फैलिएपछि हाम्रो दैनिकी फेरिएको छ।
दुई महिना हुन लाग्यो, मानिसहरू कामका लागि घरबाहिर जान पाएका छैनन्।
इतिहास हेर्दा पनि हामी नेपाली प्रत्येक ५ देखि १० वर्षको अन्तरालमा फरक प्रकृतिका चुनौति र असहज अवस्थामा पिल्सिँदै आएका छौं।
कालो बादलमा चम्किलो चाँदीको घेरा हुन्छ भनेझैं समस्यासँगै समाधान हुन्छ। चुनौतिमा अवसर हुन्छ र दु:खपछि सुख आउँछ भनि गाना गाउने हामीलाई साँच्चै व्यवहारिक र जिम्मेवार हुने समय आएको छ।
आज कति चाँडै अँध्यारो भएको भन्ने जब लाग्छ नि हजुरलाई भोलि विहान चाँडै उज्यालो हुनेछ यो शास्वत सत्य हो। म यस मानेमा खुसी हुनुहोस् भन्दैछु कि हामी यो अँध्यारो महशुस गरिरहेछौं। अब आउने उज्यालो नयाँ सम्भावना हो। नयाँ भविष्य हो। नयाँ लक्ष्य हो। नयाँ गन्तब्य हो। र परिणाम आशातित प्राप्ति हो, खुसी हो सन्तुष्टी हो।
हामीले ध्यान नै नदिएका र साना लाग्ने कुराले जीवनलाई सकारात्मक बाटोतिर लान सक्छ।
सेवाग्राहीलाई हाँसेर सेवा दिउँ भन्ने भनाइ अब हामी सबैले जहाँकहीँ भेटेका जो कसैलाई मुस्कान दिऔं। लकडाउनपछि घरमै बस्दा वाक्कदिक्क लागेका मनहरूमा तेज थपौं।
हरेक समय भरसक मुस्कुराइ रहनुहोस् र बारम्बार हाँस्नुहा्स्। हामी सहजै र आफैंमा पाउने हाँसो बाँडौं, खुसी थपौं।
मैले योग ध्यान सकाएर ल्यापटप खोलेँ। ट्विट हेर्दै थिएँ, एक जना धनाढ्य महाशयले ट्विट गरेको फोटोले छोयो।
कुकुरलाई काजु, पेस्ता, बदाम खुवाउँदै गरेको एउटा तस्वीर राखेका थिए। मन ढक्क फुलेर आयो। उनी हामीलाई गिज्याउँदै छन् कि जस्तो लाग्यो। तिनलाई फोन गरेरै भनिदिए- त्यो तस्वीर हटाउनू।
तपाईं पैसा हुनेहरू मानव सेवामा सन्तुष्टि खोज्नुहोस्। तपाईं सेवा नै धर्म हो भन्ने मान्नुहुन्छ भने पूजाआजा र दानमा गरिने खर्च, अनधिकृत सुविधामा गरिने अनावश्यक खर्च कटाएर खान लगाउन नपाएकालाई दिनुहोस्।
मलाई थाहा छ कि तपाईं आफ्नो परिवारको लागि खर्च जुटाउन, परिवारको भविष्यको सुनिश्चितताको लागि बचत गर्न, आफू अनुकूलको पेशामा उच्च पद हासिल गर्न र व्यवसायमा सम्वृद्धि प्राप्त गर्न चाहनुहुन्छ।
तर अस्तब्यस्त दैनिकीमा तपाईं आफ्नो वृत्तिविकासको लागि ज्ञान, कला, क्षमता, अभिवृद्धिका लागि भनि समय छुट्याउन भ्याउनुभएको थिएन।
म समय पाएँ भने समाजमा आफ्नो फरक पहिचान बनाउने थिएँ भनि सोच्नुहुन्थ्यो भने अहिले प्राप्त गर्नु भएको एकान्तवासको शान्त समय फेरि नआउन सक्छ। समय पाउनुभएको छ, उपयोगी बनाउनुहोस्।
लगनशील र रणनीतिक बनौं। हामी कैयौंमा आफ्नो पेशाप्रति हेय भाव छ जसले उच्चतम उपलब्धी निकाल्नमा रोकिरहेको छ। पेशागत विशेषज्ञताको मूल्य झनै बढेको छ।
तसर्थ आफनो पेशाप्रति आत्मसम्मान जगाउनुहोस्। तपाईंले हाल गर्दै आएको पेशाबाट तत्कालको लागि फुर्सद पाउनुभएको छ भने अल्पकालिन पेशा के हुन सक्छ बद्लिएको समयअनुसार आफूलाई अभ्यस्त गराउनुहोस्। जुन गुण नै तपाईं मानव हुनुको फरक पहिचान हो।
अब आउँदा दिन सहज छैन जस्तो लाग्छ। उच्च प्रतिस्पर्धी हुनेमा दुईमत छैन। आफूलाई तयार राख्नुहोस्।
अहिले हरेकको हातमा मोबाइल छ। आफूलाई अनलाइन गेम खेल्न सामाजिक सञ्जालमा ब्यस्त हुन्छन्। फिल्म हेर्न मात्र सीमित नराखेर तपाईंको आवश्यकता र इच्छाअनुसार आफ्नो पेशा ब्यवसायको बारेमा सुक्ष्म अध्ययन गर्न सक्नुहुन्छ। बिषयगत पुस्तक तथा अनलाइन शिक्षा लिन पनि सकिन्छ। नयाँ सम्भावनाको खोजी गर्ने गर्नुपर्छ।
सुख, शान्ति, आनन्द के भन्नु हुन्छ यी सब अमुर्त तर जीवनले खोजिरहने तत्व हो। सुख, खुसी र सन्तुष्टिको खोजिमा हामी भौतारिइरहेछौं।
मानव स्वभावले नै महत्वाकांक्षी छ। यसो भैदिए, त्यसो भैदिए हुन्थ्यो भन्दछौं। तर सोच्नुस् त तपाईं महत्वाकांक्षा प्राप्तिका लागि आफूलाई समय दिनुभएको थियो त? अनावश्यक महत्वकांक्षा कम गरौं। चिन्ता होइन चिन्तन गर्नुहोस्। संयमता अपनाऔं।
चामल बोराबाट आउँछ, तरकारी डोकोमा आउँछ भन्ने धेरै बालबालिकालाई जीवनका विभिन्न आयामबारे सचेत गराउने र दुःख बुझाउने मौका मिलेको छ। खास बच्चाको लागि आमाबाबु पहिलो शिक्षक हुन्। लगभग सबै बाबुआमाले विभिन्न कारण, चाहे जति समय आफ्नो बच्चालाई दिन सकेका थिएनन्।
उनीहरूलाई रचनात्मक कार्य जस्तै- नृत्य, गायन, वतृत्वकला लगायत जुनमा झुकाव छ, त्यसलाई बिस्तार र बिकास गर्न प्रेरित गर्नुहोस्। ज्ञान बढाउन उत्प्रेरणात्मक भनाइ अध्ययन गर्न निर्देशित गर्नुहोस्, दर्शन, विज्ञान, साहित्य, कला, इतिहास, भुगोल, खोज अनुसन्धानात्मक लेख पढ्ने बानिको बिकास गराउनुहोस्।
प्रयोगात्मक सीप सिकाउनुहोस्, सकारात्मक सोँचको बिकास गर्न, आत्म बिश्वासी बन्न आकर्षित गर्नुहोस्। आशावादी हुन र क्षमता अभिबृद्धि का विविध पक्षहरुलाई उनीहरूलाई अनुकुल माध्यम अपनाउनुहोस्।
सकारात्मक सोँचको बिकास गराउनुहोस्। आफैंले आफूलाई परिक्षण गर्ने तरिका बारे उत्प्रेरित गर्नुहोस्। जसले गर्दा उनीहरूमा आलस्यता, अल्छिपना घटेर जानेछ, निराशा हट्नेछ, स्फुर्ति जाग्नेछ।
बन्दाबन्दिको समयमा एउटा विवाहमा निम्तो मान्न गइयो। त्यही विवाह हो अधिकतम १० जनाको उपस्थिति र २, ४ हजारको खर्चमा पनि सम्भव हुने रहेछ।
यसअघि विवाह मात्र होइनमा अन्य कार्यमा पनि धेरै खर्च गर्ने र मानिसहरू भेला गर्ने चलन थियो।
अब हरेक कुराले नयाँ मोड लिने छ। आवश्यकता के हो सुविधा के हो छुट्याउनुहोस्। आवश्यकता टार्दा नै रमाउने बन्नुस्। आशा छ सुनचाँदी र हिरा जन्य महँगा धातुले निम्त्याएको जोखिम र अपराध कम हुँदै जानेछ।
दाइजो प्रथा, तडकभडक शुन्यमा झार्न सकिन्छ भन्ने पाठ सिकाएको छ। भोजभतेर नगरेर पनि धार्मिक सामाजिक र साँस्कृतिक पर्वहरू चलाउन सकिने रहेछ भन्ने आभास भएको छ।
रक्सि, चुरोट र सूर्तिजन्य पदार्थ सेवन र प्रयोग न्युन गर्ने वा छाड्ने अवसर हो। अनैतिक यौन सम्वन्ध आदि छ भने हटाउने प्रण गर्नुहोस्। आखिर अरू कसैलाई थाहा थिएन भने पनि तपाईं आफैंलाई त थाहा छ नि! सच्चिने प्रण गर्नुहोस्। आशा गरौ आर्थिक लैंगिक बर्गीय विभेद अनि हामीमा जरो गाडेर बसेको सानो र ठूलो को? भन्ने असामाजिक कुकृत्य हट्ने छ।
हिजोका दिन सम्झनुस् तपाईंसँग सकारात्मक सोच, उच्च मनोबल र गहिरो इच्छाशक्तिको कारण असम्भव र ठूलो लागेका कैयन कार्य सहजै पार गरेको प्रशस्तै उदाहरण। अहिले आफ्ने उज्ज्वल भविष्यका लागि तपाईंमा केहि कमजोरी छन् भने सुधार गर्ने समय हो यो।
सफलता ज्यामितिय वा गणितिय मात्र हुँदैन आत्म सन्तुष्टि र महसुश हो। आफूलाई सानो सानो कुरामा खुसी राख्नुस्। सन्तुष्ट हुनुस्। खेल्न जान्नेले खेलेर कर्म गरि जिम्मेवारी पूरा गरेको सम्झन्छन् भने खेल खेल्न नजान्नेले हेरेर आनन्द लिन्छ।
पेट्रोलियम पदार्थको कम प्रयोगले बिश्वकै वायुमण्डल सफा भएको छ। धुलोले आक्रान्त शहरी जीवनले राहत पाएको छ। स्वास्थ्य मानसिकताले शारिरिक रूपमा स्वास्थ्य राख्नेमा द्विविधा छैन। एकान्त वासले धेरै कुरा सिकाएको छ सँगै प्राकृतिक वातावरणमा बिश्वभर एकाएक स्वच्छ र स्वस्थ बनेको छ।
भिडभाड भद्रगोल र अस्तब्यस्त जीवन पद्धती र घर बाहिरको खाना, खाजाले मनको रिस द्धेस तनाव र अहमतालाई बढाउँछ। अहिले भागदौड घटेको छ, घरमै बसेर सात्विक भोजन गर्दै हुनुहुन्छ। स्वस्थ हावा र शान्त वातावरण र आफैंलाई पनि शान्त पाउनुभएको छ।
अनावश्यक लोभ, अहमता र व्यक्तिगत स्वार्थ कम गरौं, मानवताको बिकास गरौं, नैतिकतालाई आँच आउन नदिउँ बिश्वासको वातावरण नधुमिल्याउँ। मनव जीवन सार्थक त्यतिबेला हुन्छ, जब हरेक परिस्थितिलाई सामान्य बनाएर सोहि अनुसार बानिको विकास गर्न सकिन्छ।
आजको आवश्यकता यो हो कि दैनिकीलाई पहिलाजस्तै सामान्य बनाउने र हामीलाई आइपरेको यो विषम परिस्थितिमाथि विजयी हुने।
मानिस जन्मदै विवेक र जिम्मेवारी लिएर जन्मिएको प्राणी हो। हामीले अहिले कायम गर्दै आएको सुरक्षाका उपाय र सामाजिक दुरी अनन्त कालसम्म अझै कडा रूपमा पालना गर्नुपर्ने हुन सक्छ। तसर्थ आफूलाई अब यो भन्दा विकराल अवस्था आयो भने पनि तयार राख्नुस् र समयसँग सम्झौता गर्न सिक्नुस्। धैर्य गरौँ र सावधानीका सम्पूर्ण उपाय लगाऔं, पक्का सहज अवतरण गर्नेछौं।