अक्सर सोधिने प्रश्नमध्ये पर्ने एक प्रश्न हो- जागिर कता हो?
यो आम प्रश्न हो। लाग्छ जागिर बिनाको जीवन बेकार छ, मानौँ बेरोजगार हुनु हुँदैन। जीवनको अर्थ छैन तर जमिनको प्रश्न सोधिँदैन, जहानको बारेमा पनि सोधिन्छ नै तर बढी चासो राखिन्न।
‘मानिसहरू खानका लागि बाँच्छन् या बाँच्नका लागि खान्छन्?’ प्रश्न हो तर जो खानका लागि बाँचिरहेका छन् उनीहरूलाई सायद उनीहरू खानैका लागि बाँचेको अनुभूति हुँदो हो त अबदेखि बाँच्नका लागि खान्थे होलान्। सायद हामी यति अज्ञानी छौँ कि आफूले गरेको ठिक बेठिक आफै छुट्ट्याउन जान्दैनौँ।
जीवन के हो? सपना के हो? बाँच्ने किन? यो प्रश्न सबैले सोध्छन् तर कमैले बुझ्छन्, साह्रै थोरैले मात्र लागु गर्दछन् जीवनमा। यहाँ जहान परिवार यानि श्रीमान्-श्रीमती र सन्तानको जतन प्रेमले कम, पैसाले बढी गर्छ र पनि हामी प्रेमले गर्छ भन्ने भ्रममा छौँ। हामीकहाँ सबै तागत, धाक, रवाफ, बर्गत, क्षमता जमिन राख्नेसँग नै हुन्छ किनकि अफ्रिकी तथा एसियाली मुलुकमा जमिन हुने वर्ग धनी नै हो। ऊ सबै जोहो जमिनबाटै पूरा गर्छ।
जागिर जे होस, धेरथोर बाँच्ने आधार जागिर पनि हो। ऊ, हामी, तपाईं, सारा मानिस यही तरिकाले बाँचेका छौँ। जागिर आखिर जागिर नै हो। ठुलो सानो हुँदैन र पनि मानिसहरू फलानोको यस्तो जागिर तिलानोको यस्तो जागिर भनिरहन्छन्। जागिर जगाउने, जरुरतमन्द, जाँगर गराउने एउटा माध्यम पनि हो जसको साथमा केही द्रव्य पनि आउँछ। हेर्दा मानिसहरू त्यही द्रव्यलाई आधार मान्छन्। तर जागिर द्रव्य मात्र कदापि होइन। सिकाइ र भोगाइ आफूलाई अद्यावधि राख्ने माध्यम पनि हो। कोही यसलाई भुल्ने दिन कटाउने बाटो पनि भन्दछन् तर जागिर दिनेहरू त्यो मान्दैनन्।
एक जना दाइलाई के छ काम धन्दा सोधेँ। उहाँ भन्नुहुन्थ्यो- ‘खाने मेसो छ, जोड्न केही सकिएको छैन, हातमुख जोर्न पुगेकै छ।’
उत्तरमा हैरानी छ, निराश छ तर काम चलेकै छ।
संसार नै एउटा कर्म क्षेत्र हो, आउने हरेक अवसरहरूलाई अँगाल्नुस् भन्ने दार्शनिकहरूको मत छ। सरकार तीन सन्तान जन्माउन भन्छ, बुज्रुक सरकारले पाल्दैन आफैले पाल्नपर्छ के गर्ने भन्छन्। सरकारको ठाउँमा सरकार ठिक किनभने मान्छे अर्थात् श्रमिक नभएर हैरान, उता नागरिक महँगीले परिवार पाल्न नसकेर हैरान। यस कारण दुवै सत्य हुन्।
जहान आफूले बनाएको, जमिन पिता पुर्खाले बनाएको, जागिर आफूले बनाएको सबै महत्त्वपूर्ण छन् र पनि मानिस किन जागिर? जागिरमा केही धेरथोर पैसा आउँछ तत्काल, यस कारण मानिस जागिरमा भुलेको छ। पर्यन्तमा के हुन्छ कसलाई थाहा छ, सबै अस्थायी नै हुन्।
हामी समथर भूभाग- झापा, चितवन, बुटवल, नेपालगन्ज र धनगढीतिर बस्ने बासिन्दालाई पहाड कहाँ सोध्छौ। उनीहरू मध्ये कतिलाई खै मलाई थाहा छैन कहाँ हो भन्दछन्।
गाउँमा जमिन छ। त्यो पिता पुर्खाले आर्जेको जमिन नयाँ पुस्तालाई थाहा छैन। जमिन अहिले प्राथमिकता छैन न त अहिले विवाह गर्न कुनिहो, भकारी, रोपनी, बिगाहा देखाउनु पर्दैन न ठुलो घर देखाउनुपर्छ।
जहानको बारेमा सबैले सोध्छन्- केटाकेटी के गर्छन्? कति पढ्छन्? परिवार के गर्छन्? कहाँ जागिर गर्छन्? जहान परिवार कति के-के छन् भन्ने प्रश्नमा श्रीमान् यसो गर्छन्, श्रीमती यसो गर्छिन् त्यसपछि बच्चा आउँछन्।
एक जना दाइ मैले बेहोरेको; उहाँ बाहिर नजाने, अरूसँग नघुल्ने, आम्दानी जागिर पेसा थिएन, केराको गाना, तरुल, भ्याकुर उसिनेर खाने। ‘दाइ के खानुभयो?’ सोध्दा बस ठिक छ, खाइयो भन्नुहुन्थ्यो। उहाँको परिवार थिएन न श्रीमती न सन्तान तर उहाँ आफै खुसी हुनुहुन्थ्यो। जहान भनेको खासमा के हो, श्रीमती या सन्तान?
जमिन प्रायः पैतृक हुन छन्। यसमा लगाव छैन न राज्यको न व्यक्तिको किनकि जमिनमा उब्जनी छैन। जमिन सहरदेखि टाढा भए। मानिस सहरमा रमाए। जमिनमा जाने, टेक्ने, उब्जाउने न धैर्यता छ न त समय, उत्प्रेरणा या प्राथमिकता। पहिलाका ती जमिन सम्पत्ति जो अधिकार, शक्ति र तागतका आधार थिए ती रहेनन्। राज्यको रोजाइमा जमिन परेन, राज्यको रोजाइमा बस्तु वा सेवा परे, सहर परे। उत्पादन रोकियो, जमिन सकियो, बाझियो।
उता जागिर सबैको रोजाइमा रह्यो र पनि सबै जना खुसी भने छैनन्। तर पनि धानिरहेका छन् किनकि त्यो देखाउने ठाउँ रह्यो। मानिस त्यही क्षणिक कुरामा रमाइरहेका छन् जुन हस्तान्तरण होइन।
जमिन, जहान र जागिर तिनै शब्द उर्दु हो। जसको अर्थमा परिपूरक पनि छन्। खैर जागिर गर्न, जहान पाल्न र जमिन कमाउन आवश्यक छ।
खेतीपाती, नोकरी चाकरी र जहान परिवार भनिन्छ, आखिर परिवार चाहिँ केही खास छ। जसमा खेतीमा पाती उम्रियो, जागिरमा चाकरी मौलायो तर परिवारले घर पूर्ण हुन्छ।
मार्क ट्विनले भने झैँ यस्तो जागिर यस्तो खोज जुन गर्दा आनन्द मिलोस्, तब तिमीलाई कुनै पनि दिन कहिल्यै पनि काम गर्न पर्दैन। अर्थात् मन पर्दो काम, माया गर्ने श्रीमती र बस्ने ओत भए जीवन पूर्ण हुन्छ। यस कारण जहान, जमिन र जागिरलाई जतन गरौँ ताकि महाकवि लक्ष्मीप्रसादको यो पङ्क्ति जस्तै नहोस्-
रहेछ संसार निशा समान,
आएन जिउँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो ज्ञान न भो विवेक।