नेपालमा एउटा अचम्म लाग्दो तर गम्भीर कुरा देखिन्छ। राज्यका नीति, योजना र भाषणहरूमा कृषि, खाद्य सुरक्षा र आत्मनिर्भरता निरन्तर प्राथमिकतामा राखिन्छ। तर विद्यालयका पाठ्यपुस्तक र सामाजिक चेतनामा कृषिलाई अझै पनि गरिबी, दुःख र अन्तिम विकल्पको पेसाजस्तो चित्रित गरिन्छ।
म विद्यालय पढ्दा सामाजिक शिक्षाका पुस्तकहरूमा विभिन्न पेसाका चित्रहरू राखिएका हुन्थे। डाक्टर र इन्जिनियरका चित्रहरू सफा, आकर्षक र सम्मानजनक देखिन्थे; तर किसानको चित्र भने प्रायः फाटेको टोपी, हिलो लागेको कपडा र थाकेको अनुहारसहित देखाइन्थ्यो। सानो उमेरमा त्यो केवल एउटा चित्र जस्तो लाग्थ्यो तर त्यसले दिएको सन्देश गहिरो थियो— डाक्टर र इन्जिनियर बन्ने मानिस सफल र सम्मानित हुन्छ, किसान बन्ने मानिस दुःखी हुन्छ। घर–परिवार र समाजको बोली पनि त्यही सन्देशको विस्तार थियो।
‘राम्ररी पढ, नत्र हली–गोठालो हुन्छस्’ भन्ने वाक्य नेपाली समाजमा सामान्य चेतावनीको रूपमा प्रयोग गरिन्छ। ‘पढ्ने मानिस अफिसर बन्ने, नपढ्ने मानिस किसान बन्ने’ यस्तो धारणा समाजको मानसिकतामा गहिरो गरी रोपिएको छ। यसरी सानैदेखि कृषिलाई असफलताको प्रतीकका रूपमा प्रस्तुत गरिँदा बालबालिकाको सोच, आकांक्षा र पेसा छनोटमा दीर्घकालीन नकारात्मक प्रभाव पर्छ।
यथार्थ भने एकदम फरक छ, देशको खाद्य सुरक्षा र आर्थिक आधारको केन्द्रमा कृषि पेसा छ। नेपालमा अझै पनि ठुलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ र राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान महत्त्वपूर्ण छ। ग्रामीण जीवन, रोजगारी, पोषण र खाद्य सुरक्षासँग कृषि प्रत्यक्ष रूपमा जोडिएको छ। तर विडम्बना के छ भने यति ठुलो सम्भावना भएको देशले अन्न, तरकारी, फलफूल र अन्य कृषि उत्पादनका लागि अर्बौँ रुपैयाँ विदेश पठाइरहेको छ।
गाउँका धेरै खेत बाँझो छन् तर सहर र बजार विदेशी खाद्य वस्तुहरूले भरिएका छन्। यसको एउटा प्रमुख कारण युवापुस्ताको कृषिबाट टाढिँदै जानु पनि हो। हजारौँ युवा रोजगारीको खोजीमा विदेश गइरहेका छन्, जबकि कृषि क्षेत्रमा सम्भावना हुँदाहुँदै पनि त्यसलाई आकर्षक पेसाको रूपमा स्थापित गर्न सकिएको छैन। यसको दोष केवल कृषि प्रणालीको कमजोरीलाई मात्र दिन मिल्दैन; शिक्षा प्रणाली र सामाजिक सोचले पनि कृषिलाई कम प्रतिष्ठित पेसाको रूपमा प्रस्तुत गर्दै आएको छ।
जब बालबालिकालाई सानैदेखि कृषिलाई दुःखी पेसा भनेर देखाइन्छ, उनीहरूले कसरी कृषिमा भविष्य देख्ने?
आजको विश्व परिस्थितिले खाद्य सुरक्षाको महत्त्व अझ स्पष्ट बनाएको छ। अन्तर्राष्ट्रिय द्वन्द्व, जलवायु परिवर्तन, आपूर्ति श्रृंखलामा आउने अवरोध र प्राकृतिक विपत्तिका कारण धेरै देशहरूले खाद्य उत्पादनलाई राष्ट्रिय प्राथमिकतामा राखेका छन्। यस्तो अवस्थामा कृषि केवल आर्थिक क्षेत्र मात्र होइन, राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय बन्न थालेको छ। नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा कृषि उत्पादन बढाउने सम्भावना प्रशस्त छ, तर त्यसका लागि कृषिलाई सम्मानित र आकर्षक पेसाको रूपमा स्थापित गर्नुपर्छ। यसको सुरुवात शिक्षा प्रणालीबाट हुन सक्छ।
विद्यालय तहबाटै कृषिलाई आधुनिक, प्रविधिमैत्री र उद्यमशील पेसाका रूपमा प्रस्तुत गर्न सकिन्छ। व्यावसायिक कृषि, कृषि उद्यमशीलता, प्रविधि प्रयोग, जलवायु अनुकूल कृषि र सफल कृषकका उदाहरणहरू पाठ्यक्रममा समावेश गरिनुपर्छ। बालबालिकाले कृषिलाई केवल परम्परागत श्रमको काम होइन, ज्ञान, प्रविधि र उद्यमशीलतासँग जोडिएको आधुनिक व्यवसायका रूपमा बुझ्न थाले भने मात्र नयाँ पुस्ता कृषितर्फ आकर्षित हुन सक्छ।
तर केवल सोच परिवर्तनले मात्र पर्याप्त हुँदैन; राज्यले पनि कृषिलाई भरोसायोग्य, मर्यादित र सम्मानित पेसाका रूपमा स्थापित गर्न ठोस कदम चाल्नुपर्छ। किसानलाई उत्पादनमा आधारित प्रोत्साहन, सहुलियतपूर्ण ऋण, बिमा, बजार सुनिश्चितता र प्रविधि पहुँच जस्ता नीतिगत समर्थन आवश्यक छन्। त्यस्तै, लामो समय कृषि क्षेत्रमा योगदान पुर्याएका कृषकका लागि योगदानमा आधारित कृषक पेन्सन, उत्कृष्ट उत्पादन वा नवप्रवर्तन गर्ने कृषकलाई राष्ट्रिय स्तरका पुरस्कार र सम्मान, तथा कृषि उद्यमलाई दीर्घकालीन सुरक्षा दिने कार्यक्रमहरू सुरु गर्न सकिन्छ। जब राज्यले किसानलाई केवल उत्पादक मात्र होइन, राष्ट्रको खाद्य सुरक्षाका संरक्षकका रूपमा सम्मान गर्छ, तब मात्र कृषिलाई समाजमा मर्यादित पेसाका रूपमा स्थापित गर्न सकिन्छ।
अन्ततः प्रश्न पाठ्यपुस्तकको मात्र होइन, राष्ट्रिय सोचको पनि हो। यदि हामी खाद्य सुरक्षित, आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्न चाहन्छौँ भने बालबालिकाले डाक्टर, इन्जिनियर वा वैज्ञानिक बन्ने सपना मात्र होइन, आधुनिक र सफल कृषक बन्ने सपना पनि देख्न सक्ने वातावरण हामीले निर्माण गर्नै पर्छ। किनकि राष्ट्रको समृद्धि केवल सहरका कार्यालयहरूबाट होइन— खेत, बारी र उत्पादनबाट पनि निर्माण हुन्छ र सम्मानित कृषक बिना खाद्य सुरक्षा सम्भव हुँदैन।