फेक रेस्क्यू प्रकरणको अनुसन्धान भइरहँदा प्रमाण नष्ट गर्नतिर लागेका हवाई विज्ञ राजेन्द्रबहादुर सिंहविरूद्ध मुद्दा दर्ता भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार उनीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
पर्वतारोहणमा जाने पर्यटकलाई बिरामी भएको बताउँदै बीमा रकम असुल गरेको विषय बाहिरिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको थियो।
सिंहले भने यो अनुसन्धानमाथि नै हानि पुग्नसक्ने गरी प्रमाणहरू नष्ट गर्न लागिपरेको प्रमाण फेला परेको थियो। प्रमाण फेला परेपछि सिआइबीले उनलाई फागुन १३ गते पक्राउ गरेको थियो।
उनी माउन्टेन हेलिकप्टर प्रालिका प्रबन्धक हुन्। यो कम्पनीमा पूर्वएआइजी विज्ञानराज शर्मा अध्यक्ष छन्। सिंह विमान सेवा सञ्चालक संघ नेपालका पूर्वउपाध्यक्ष समेत हुन्।
सिआइबीले फेक रेस्क्यू प्रकरणमा ३३ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेको थियो। तर सरकारी वकिल कार्यालय काठमाडौंले चैत ८ गते ३२ जनाविरूद्ध मात्रै मुद्दा दर्ता गर्यो। अन्य सबै जनाविरूद्ध मुद्दा दर्ता गर्दा राजेन्द्रबहादुर सिंहमाथि भने मुद्दा नचलाउने निर्णय गरिएको थियो।
स्रोतका अनुसार मुद्दा नचलाउन सरकारी वकिल कार्यालयले कुनै कारण पेस गरेको थिएन। सिंहमाथि 'मुद्दा चलाउन आवश्यक नभएको' मात्रै उल्लेख गरी निर्णय गरिएको थियो। यही कारणले सिंहले उन्मुक्ति पाएका थिए।
यसरी उन्मुक्ति दिएकै कारण तत्कालीन कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेको कारबाहीस्वरूप सरूवा भएको स्रोतको दाबी छ।
यसबीच फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भयो। महान्यायाधिवक्ता नारायणदत्त कँडेलको निर्देशनमा यस मुद्दामा उनीमाथिको अभियोजन गर्न निर्देशन भएपछि पुन: फाइल खोलेर अभियोजन अघि बढेको स्रोतले बतायो।
उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकालले चैत ८ गते भएको मुद्दा नचलाउने निर्णयलाई बदर गरेका हुन्।
'अहिले सिआइबीकै अनुसन्धान बमोजिमको अभियोजन अघि बढेर मुद्दा दर्ता भएको हो,' स्रोतले भन्यो।
उक्त निर्णय बदर भएसँगै सिंहविरूद्ध आपराधिक समूहसँग मिलेर संगठित रूपमा अपराध गरेको आरोपको मुद्दा दर्ता भएको छ। त्यस्तै राष्ट्रहित प्रतिकूलको काम गर्न नहुने कसुर पनि अभियोग लगाइएको छ।
के गरेका थिए राजेन्द्रबहादुर सिंहले? के छन् उनीविरूद्धका प्रमाण?
फेक रेस्क्यू प्रकरणमा सिंहको भूमिका तथ्य, प्रमाण लुकाउन र सिआइबीकै अनुसन्धानमा समेत प्रभाव पार्न खोजेको अभियोगमा देखिन्छ।
प्रहरीले उनले स्वाकन इन्टरनेसनल हस्पिटलका सञ्चालक श्यामसुन्दर कडेलसँगको गोप्य संवाद र सहमतिको अडियो प्राप्त गरेको छ।
अनुसन्धानबाट बच्न प्रमाण नष्ट गर्न तथा उडान डेटा नै फेरबदल गर्न उनले चलखेल गरेको देखिएको हो। सिआइबीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान विवरणहरू मागेको थियो।
तर त्यस विवरणमा 'रेस्क्यू' भन्ने शब्द नै नराख्न र सबै उडानलाई 'चार्टर फ्लाइट' मात्रै देखाउने भनेर उड्डयन प्राधिकरणका कार्यवाहक महानिर्देशक देवचन्द्रलाल कर्णसँग आफूले कुरा गरिसकेको भन्ने उक्त अडियोमार्फत खुलेको हो।
सिआइबीले मागेको विवरणको जबाफ दिनलाई 'रेस्क्यूको डेटा छैन' भन्ने भनेर सहमति समेत गरेको तथ्य अडियोमार्फत खुलेको हो।
'उनले यसरी कुराकानी गरेको खुलेपछि हामीले महानिर्देशक कर्णलाई बोलाएर बयान कागज गराएका थियौं। करिब ४ घन्टा उहाँसँग सोधपुछ भएको थियो,' सिआइबी स्रोतले भन्यो, 'उहाँले भने अनुसन्धानमा सहयोग गर्नुभयो।'
यसरी अडियोमार्फत खुले अनुसार सिआइबीले हेलिकप्टर कम्पनीको तथ्यांक पाएको थिएन। अल्टिट्युड एयरलाइन्स प्रालि बाहेक अन्य हेलिकप्टर कम्पनीले तथ्यांक विवरण उपलब्ध गराएन।
'हेलिकप्टर कम्पनीसँग रेस्क्यूको छुट्टै डेटा हुँदैन र सबैलाई चार्टर्डफ्लाइटको रूपमा देखाउन पर्छ भनेर तथ्यांक लुकाउनमा उनको भूमिका छ,' स्रोतले भन्यो।
सिंहले आफ्नो कसुरबाट उन्मुक्ति पाउन प्रमाण नष्ट गर्ने, तोडफोड गर्ने, अनुसन्धान गर्ने निकायलाई गलत तथ्य दिएर बाधा पुर्याउने, वास्तविक तथ्यांक नै आधिकारिक निकायलाई उपलब्ध नगराउने र नियामक निकायमा समेत प्रभाव पारेको आरोप छ।
वास्तविक उडान विवरण परिवर्तन गर्न लगाएको समेत आरोप छ।
धरौटीमा छुटे १० आरोपी
यसअघि मुद्दा दायर हुँदा १० जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडेको थियो।
चैत १९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले १० जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।
एभरेस्ट एक्सपेरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारीलाई जनही ३० लाख धरौटीमा छाडिएको थियो।
श्रृद्धी इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना, माउन्टेन रेस्क्यूका म्यानेजर विवेक पाण्डे, पानोरमा हिमालय ट्रेकिङ एन्ड एक्स्पिडिसनका सञ्चालक पासाङ शेर्पालाई जनही ५ लाखमा छाड्न आदेश भएको थियो।
त्यसैगरी रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दिप तिवारी, खोमराज अधिकारीलाई जनही ५ लाख र नेपाल चार्टर्ड सर्भिसका अपरेसन म्यानेजर विवेकराज थपलियालाई एक लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।