बुढापाकाले भने जस्तै कुरकुरे बैँस लाग्दै थियो। गाउँबाट एसएलसी पास गरेपछि उच्च शिक्षाको लागि काठमाडौँ आउन पर्ने भयो। सामान्य परिवारको म काम गर्दै पढ्नु पर्ने बाध्यता थियो। पहिला त रुम खोजेँ, काम खोजेँ अनि कलेज। करिब एक महिना काम गरेपछि कलेज भर्ना गरेँ।
बिहानको कलेज थियो, दिउँसो काम गर्न जान्थेँ। कलेज सुरु भएकै दिन मनमनै दङ्ग थिएँ। ओहो! म त कलेज पढ्ने भएँ। १६ वर्षे कुरकुरे बैँसले छपक्कै छोपेको थियो। अब त कलेजमा लभ गर्नु पर्छ भनेको जस्तै केटी पाइयो भने, मनमा यस्तै-यस्तै सोच आउँथ्यो।
नयाँ कलेज, नयाँ ठाउँ, नयाँ संसार जस्तै मनमा नौलो सपना बोकेर कलेज हिँडियो। कक्षामा पहिलो दिन भएकोले मलाई कक्षा देखाएदिनु भयो। मलाई मात्र हो कि अरूलाई पनि यस्तै हुन्छ कि हुँदैन! मेरो ध्यान पढ्ने भन्दा पनि कस्ता-कस्ता मान्छे रहेछन्ऽ अब कस्तो साथी बनाउनेमा ध्यान थियो। म एकदम चन्चले स्वभावको थिएँ। बोलिराख्नु पर्ने, कोहीसँग नबोली बस्नै नसक्ने चुलबुल चुलबुल।
दिनहरू बित्दै गए, हल्काफुल्का पढ्दै अनि आफ्नो लागि एक सुन्दर परी पनि खोज्दै। क्याम्पस पढ्ने सबैसँग बोलियो, हाँसियो, जिस्कियो। कसैसँग पनि खासै दिल बसेन। करिब छ महिनापछि बल्ल थाहा भयो मलाई एकजना साथीले मन पराउँदी रहिछिन्। प्रस्ताव राखिन्। त्यति बेला खोइ किन हो मेरो बुद्धि भ्रष्ट भएर होला उनको प्रस्ताव अस्वीकार गरिदिएँ।
यसै गरी मेरो कक्षा ११ सकियो, १२ सुरु भयो। १२ मा पनि कोसिस जारी राखेँ। अहँ! भेटिनँ। ख्यालख्यालमै १२ कक्षाको पनि पढाइ सकियो। मैले आफ्नो मनको परी भेट्टाउन सकिनँ। यति बेलासम्म मैले हार मानेको थिइनँ। पढाइ सकिए पनि आफूले जागिर खाने ठाउँ बाटो हिँड्दा, जात्रा, मेला, पर्व, आफन्त यी सबै ठाउँ खोजेँ। अहँ भेटिनँ!
कक्षा १२ पछि क्याम्पस जान छोडियो। अब क्याम्पस तिरबाट आस मर्यो। उमेर बढ्दै थियो, जवानीको रङ बढ्दै थियो, मनको कौतुहलता पनि। अब यस्तो कुरा सबैलाई भन्ने कुरा पनि हुँदैन। कस्लाई भन्ने? मैले आफैले खोज्न थालेको पनि अहिले १२ वर्ष भइसकेछ। अहँ! मैले भेटिनँ। अब बिहे गर्ने बेला भयो। घरबाट पनि बिहे गर भन्न थाले। मैले एकै जवाफमा भनिहालेँ- मलाई केटी खोजिदिनु गर्छु।
घरकाले धेरै खोजिदिए, खोइ किन हो मन खाने भएन। मेरो मन नै के हो के खै आफूलाई मिल्ने सुहाउँदो जोडी भेटिनँ। कोही कोही त मन पनि पर्थ्यो, आफूलाई मन पर्नेले ‘विदेश जाने भए मात्र बिहे गर्छु म त, अमेरिका अस्ट्रेलिया, नत्र नेपालमा बस्नेसँग गर्दिनँ’ भन्छन्। उनीहरूको जवाफले म हैरानीमा छु। तर हरेस खाएको भने छैन।
अझै बाटो हिँड्दा सिनेमाघर पार्क तिर गइरहन्छु। अलि राम्री देखे हेरेर मुसुक्क हाँसिदिन्छु। कतै उनको मन चोर्न पो सक्छु कि! मन चोर्ने चोर हुँदैन, कतै उजुरी गर्न पनि मिल्दैन, दिल चोरेको केशमा आजसम्म कोही पनि कारावास (जेल) चलान पनि भएका छैनन्। कसैको मन चोरेर सुटुक्क दिलभित्र बसेर मेरो मन भित्रको मुटुको कुनामा राख्न मन छ तर खै मेरी मनकी रानी कहाँ भेटिन्छिन्?
कहिलेकाहीँ आफूलाई मन पर्ने पनि भेटाउँछु। तर भनिहाल्न सक्दिनँ। कतै डर पनि लाग्छ, चप्पल हानी हाल्छन् कि भनेर। बिहे गर्ने बेला पनि भयो तर न आफूले खोज्न सकियो न अरूले खोजेको आफूलाई मन नै पर्यो। अब त आफन्तहरूले पनि बिहे भोज खुवाउन पर्यो, लभ गरेको होला नि भन्छन्। म नि हाँसी मजाकमा छैन भनी पनि हाल्छु। आफ्नो छोरो विदेश पठाउने, म नेपालमा बस्नेलाई कसले छोरी दिन्छन् र बिहे गर्नलाई? खोजिदिनु न गरिहाल्छु अनि बिहे भोज खानु होला भनिदिन्छु।
सबैले बिहे गर भन्छन् तर खोजिदिँदैन। मैले पनि आजकल तपाईंकै साली छ नि, तपाईंकै भान्जी, साथीहरूका दिदी-बहिनी छन् नि भन्न थालेको छु। सबै सबैलाई सोध्न थालेको छु। कसैले सिङ्गल छु भन्दैन, सबैको लभ परेको छ भन्छन्। कोही कोही सिङ्गल भेटिहाले भने पनि ‘म त अहिले बिहे गर्दिनँ, विदेश जाने हो’ भन्छन्। अब आफन्त हरूले पनि कुरा ल्याउँदैनन्। आफूले पनि भेटिएन। आजकल त कता-कता मनमा चिसो पस्न लागिसक्यो; मेरो त अब बिहे पनि हुँदैन कि, बुढेसकालमा एक्लै पो पर्ने हो कि भनेर डर लाग्न थालेको छ।
तर मेरो मन भने अझै अँध्यारोमै छ। उमेरले ३० नाघिसक्यो, गाउँका सबैजना बिहे गरेर आ-आफ्नो परिवारमा व्यस्त भइसके। मेरो बिहे भने बारम्बार कुरा उठेर पनि टुङ्गोमा पुग्दैन।
‘के हो भरत, तिम्रो बिहे कहिले?’
यो प्रश्न मैले दिनहुँ जसो सुनिनु परेको छ; कहिले छिमेकीबाट, कहिले आफन्तबाट, त कहिले आफ्नै आमाबाट।
आमा कहिलेकाहीँ चिन्तित स्वरमा भन्नुहुन्छ, ‘छोरा, अब त बिहे गर है, मान्छेहरू के-के भन्न थालिसके।’
म मुस्कुराउने प्रयास गर्छु तर भित्रभित्रै मलाई लाग्छ— बिहे हुँदैन कि भन्ने…
मैले धेरै पटक प्रयास गरेको थिएँ। कहिले कुरा मिल्दामिल्दै भत्किन्थ्यो, कहिले आफैँलाई मन नपर्ने, कहिले अर्कोपट्टिको मान्छेले अस्वीकार गर्ने। कहिलेकाहीँ त आफूले आफूलाई नै सोध्न मन लाग्छ- ‘के ममा केही कमी छ?’
‘सर्लक्क परेको काँक्राको चिरा जस्तो छु। यतिको मान्छेलाई पनि...’ मुसुक्क हाँस्छु। रुमको एउटा भित्तामा अडिएको दराजको सिसामा हेर्छु। दङ्ग परेर छक्क हुन्छु। अनि फेरि मोबाइल हेर्छु, टिकटक हेर्छु। टिकटकमा आउने गीतले मुटुसम्म छुने गरी फिल आउँछ। आफूलाई त्यसैमा भुलाउँछु।
बरु एक्लै जीवन कटाउन सकिएला, बाँडिएको मायाले सकिँदैन, चुँडिएको मन सिलाउने मन छ। अझैसम्म पनि पाएको छैन, अब लभ गर्ने हुत्ती पनि छैन। कुरा थुप्रै ठाउँबाट आउने गर्छन् तर मन मिल्ने हुँदैनन्। म अलि सरल स्वभावको पनि भएर होला सायद यो रङिन दुनियाँमा सरल, सोझी र इमानदार नपाएको सायद।
अहिले यस्तै समस्याहरू सुनिन्छ- मेरो पनि छोरा, भतिज, भाइ छन्, लौन बिहे गर्न केटी खोजिदेऊ न।
राम्रो जागिर, कुल, इमानदार केटाले पनि केटी पाउनै गाह्रो भइरहेको छ। त्यसैले म अचेल साथीभाइलाई भन्ने गर्छु- ‘लभ गर केटा हो, लभ, गर नत्र बिहे गर्न अचेल केटी पाउनै गाह्रो छ।’