धानबाली हाम्रो नेपाली समाजमा केवल एक अन्नबाली मात्र नभई परम्परा र संस्कृति तथा हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको छ। हाम्रो जन्ममा न्वारनको रातो टिका होस या आशीर्वादको रातो अक्षता, अन्नप्राशन होस या मृत्युशय्या सेतो चामल हाम्रो खाद्य व्यवहार मात्र होइन, हाम्रो जीवन र जीवन पर्यन्तसम्म धानसँग कतै न कतै जोडिएका छौँ।
आज असार १५ मानो रोपेर मुरी फलाउने दिन, दही चिउरा खाँदै बेसीका खेतहरूमा असारे गीतहरू गाउँदै माटोमा बीउसँगै पसिना रोप्ने दिनको रूपमा आज दिनभर विभिन्न कार्यक्रम गर्दै ‘जलवायुमैत्री प्रविधि धान बालीमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ २३ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ।
प्रत्येक वर्ष लाखौँ मेट्रिक टनको आयात, अरबौँ रुपैयाँको कारोबारका बिच यस वर्ष धान दिवसको नाराले आफैँमा हालको खेतीमा हाम्रो चुनौती, त्यसको समाधान, भावी कार्यदिशा र लक्ष्य सबै समेटेको देखिन्छ।
हाल नेपालको कृषि मुख्यतः जलवायु जन्य समस्याबाट ग्रसित छ। मौसम विभागले यस अघि नै यस वर्ष सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिसकेको छ। अघिल्लो वर्षहरूमा पनि सुक्खा मौसमका कारण ठुलो नोक्सानी बेहोर्न परेको कुरा सबैमा जाहेर छ। हाल नेपाल जलवायुजन्य समस्याबाट निरन्तर गुज्रिरहेको अवस्थामा यस वर्षको धान दिवसले जलवायुमैत्री खेती प्रविधिको उपाय अगाडि सार्नु अत्यन्तै सापेक्ष देखिन्छ।
खडेरी, डुबान, खण्ड वृष्टि, अतिवृष्टि, बढ्दो जलवायुजन्य रोग किराको प्रकोपले हामीलाई ग्रसित गरेको छ र यसको समाधान जलवायुमैत्री खेतीमा लुकेको छ। सुक्खा सहन सक्ने धानका जातहरू (सुख्खा-३, सुख्खा-५, सुख्खा-६ आदि) प्रयोग गर्ने, डुबान सम्भावित ठाउँमा डुबान सहन सक्ने जातहरू (स्वर्ण सब-१, साँवा मन्सुली सब-१, गंगासागर आदि) जातहरूको प्रयोगमा प्रोत्साहन गर्ने, रोग किरा प्रतिरोधी धानका उन्नत जातहरूको प्रयोग गर्ने आदि जस्ता सामान्य व्यवहारिक परिवर्तन गर्न सके धेरै हदसम्म जलवायुजन्य असरहरू न्यूनीकरण गर्न सकिन्छ।
यसका अलावा छरुवा विधिबाट उत्पादन (डिएसआर), सधन धान खेती प्रविधि (एसआरआई), खेतलाई भिजाउने र सुकाउने विधि (अल्टर्नेट वेटिङ एन्ड ड्राइङ) लगायत हाल पूर्वी तराईमा प्रचलनमा आइसकेको ट्रेमा बीउ राखी मेसिनको सहायताले धान रोप्ने प्रविधि जलवायुमैत्री धान खेतीका राम्रा अभ्यास हुन्।
ट्रेमा बीउ राखी मेसिनको सहायताले धान रोप्ने प्रविधि (राइस ट्रान्सप्लान्टर) को प्रयोगले छरुवा विधि वा सधन धान खेती झैँ जलवायु मैत्री धान खेतीसँग सिधा सम्बन्ध नदेखिए पनि नर्सरीमा बिरुवा हुर्काउने, कम बीउदर लाग्ने, कलिलो बिरुवा रोपिने आदीजस्ता जलवायुमैत्री अभ्यासले यो यान्त्रीकरण मात्र नभई समय सापेक्ष जलवायुमैत्री अभ्यासको रूपमा उदाउँदो छ।
जलवायुमैत्री धान खेतीको अभ्यासले यो विकराल समस्यामा मलम लगाई बढ्दो धान खेतीको आयात र घट्दो उत्पादनमा सकारात्मक भूमिका खेल्नेछ भन्नेमा हामी प्राविधिकहरू आशावादी छौँ।
उत्पादन बढाउँदै आत्मनिर्भरतामा लैजाने र दिगो खाद्य सुरक्षामा टेवा पुग्ने बाटो अब जलवायुमैत्री धान खेती हुँदै तय गर्नुपर्ने आजको आवश्यकता बनेको छ। अतः आत्मनिर्भरता हुँदै समृद्धिको बाटो तय गर्न साथै समग्र देशको खाद्य संकट टार्ने चाबी जलवायुमैत्री प्रविधि अपनाउनुमा छ।
(लेखक कृषि ज्ञान केन्द्र, झापाका बागवानी विकास अधिकृत हुन्।)