एक पटक पोर्चुगलको जेजेर नदी किनार पुग्दा रमेश भट्टराईलाई सिस्नोले चसक्क पोल्यो।
सिस्नोको त्यो पोलाइले उनलाई पुर्ख्यौली घर पाल्पाको अर्गली जाँदाको सम्झना दिलायो। त्यो बेला उनलाई सिस्नोले त्यसैगरी पोलेको थियो।
अझ रोचक कुरा, उनका हजुरबुबाले पाल्पाबाट तराई झर्दा सिस्नो ल्याएर रोपेका थिए। रमेशहरूले नपढ्दा त्यो सिस्नो लगाइदिने डर देखाउँथे।
'त्यो सिस्नो कसरी मार्ने होला भनेर धेरै उपाय खोजिन्थ्यो। मलाई जेजेर नदी किनारले त्यो घटना पनि सम्झायो,' रमेशले भने।
पोर्चुगलको प्रसिद्ध पर्वतशृंखला सेरा दा एस्ट्रेल पुग्दा होस् वा दोर्नेस गाउँ, त्यहाँका कतिपय स्थानले उनलाई नेपालकै झल्को दिन्छन्। खोला, नदी, वनजंगल, डाँडाकाँडा पुग्दा आफ्नै देश सम्झिन्छन्।
युरोप छिर्ने सपना बोकेकाहरूका लागि पोर्चुगल एउटा गन्तव्य हो। काम, कमाइ र कागजपत्रको खोजीमा पोर्चुगल छिर्ने र त्यहाँबाट युरोपका अन्य मुलुक जाने सपना बोकेर नेपालीहरू त्यहाँ पुग्छन्।
रमेश कामकै खोजीमा सन् २०१६ मा पोर्चुगल पुगेका हुन्।
'सुरूमा म भिजिट भिसामा डेनमार्क गएँ। केही दिन त्यहाँ बसेर पोर्चुगल गएको हुँ,' रमेशले सुनाए।
उनको कामको यात्रा एउटा पोर्चुगिज रेस्टुरेन्टमा हेल्पर भएर सुरू भयो। केही समयमै उनले सेफको जिम्मेवारी सम्हाले। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन। त्यही पोर्चुगिज रेस्टुरेन्टमा उनले १० वर्ष काम गरे।

त्यहाँ उनले पोर्चुगलकै चल्तीका परिकार पकाउँथे। बाकाल्याउ (नुनमा राखेर सुकाइएको माछाको परिकार), सार्डिन्हास आसादास (पोलेको सार्डिन माछा), पोल्भु (अक्टोपसको परिकार) जस्ता त्यहाँका लोकप्रिय परिकार हुन्।
पोर्चुगल सामुद्रिक परिकारका लागि प्रसिद्ध मानिन्छ। काम सहज र कमाइ पनि राम्रो भएकाले उनले लामो समय त्यही रेस्टुरेन्टमा काम गरे। निरन्तर १० वर्ष काम गरेपछि उनले आफ्नै रेस्टुरेन्ट खोले।
'एक जना साथीले केही गरौं भन्नुभयो। आफ्नै सीप सदुपयोग गरौं भनेर रेस्टुरेन्टमै लागियो,' रमेशले भने।
साथीसँग मिलेर उनले आल्कान्तारामा 'स्वागत सत्कार' नामक रेस्टुरेन्ट खोलेका छन्। भारतीयले चलाइरहेको क्याफे उनीहरूले एक वर्षअघि किनेर सञ्चालनमा ल्याएका हुन्।
रेस्टुरेन्टले विशेष गरी नेपाली स्वादका परिकार पस्किँदै आएको छ। यहाँको विशेष परिकार लोकल खसीको मासु हो। भुटन, टाउको साँधेको, पोलेको मासुजस्ता परिकार पाइन्छ। नेपाली स्वादको चिया पनि खान सकिन्छ।
तर यहाँका ग्राहक नेपाली मात्र छैनन्। स्थानीय बासिन्दा उत्तिकै आउँछन्। हाल रेस्टुरेन्टमा २५ जनासम्म अट्छन्। अब ३५ जना क्षमताको बनाउने योजना छ।
'पोर्चुगिजहरूले पनि खानेकुरा मनपराएका छन्,' रमेशले भने।
रमेशको वैदेशिक यात्रा भने दुबईबाट सुरू भएको हो। सन् २००६ मा उनी पहिलो पटक भिजिट भिसामा दुबई गएका थिए। पछि वर्क पर्मिट बनाएर त्यहीँ एक रेस्टुरेन्टमा कुकका हेल्पर भएर काम गर्न थाले।
हेल्परका रूपमा उनको काम तरकारी केलाउने, काट्ने लगायत हुन्थ्यो।


'मैले त घर हुँदा ग्यास पनि बालेको थिइनँ। पकाउने काममा कहिल्यै संलग्न थिइनँ। अरूले पकाएर दिएको खाएको मान्छे, किचनमै काम पर्यो। तैपनि बिस्तारै गर्दै गएँ,' रमेशले भने, 'काम थालेको ६ महिनापछि नै कुकको काम गर्न थालेँ।'
त्यो रेस्टुरेन्टमा उनले सन् २०१२ सम्म काम गरे। त्यहीँ काम गर्दा उनले युरोप जाने योजना बनाइरहेका थिए। युरोपमा भएका साथीहरूले राम्रो कमाइ, सुरक्षा व्यवस्था लगायत कुरा सुनाउँदा उनी पनि आकर्षित भए।
युरोप छिर्ने चक्करमै एक पटक उनी नेपाल फर्किएर रसियासम्म पुगे। त्यहाँबाट जान सफल नभएपछि फेरि दुबई नै गए।
दुबईमा अर्को रेस्टुरेन्टमा काम गर्न थाले।
'त्यो रेस्टुरेन्टमा काम गर्दा मलाई धेरै सहयोग भयो। एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बनाइदियो। त्यसपछि म डेनमार्क हुँदै पोर्चुगल आएको हुँ,' उनले भने।
करिब ६ लाख रूपैयाँ खर्च गरेर भिजिट भिसामा डेनमार्क गए। गन्तव्य त पोर्चुगल नै थियो। उनका आफन्तहरू पोर्चुगलमा कृषि क्षेत्रमा काम गर्थे। केही नभए पनि कृषिमा काम गर्छु भन्ने उनलाई थियो।
तर सुरूमै रेस्टुरेन्टमा काम पाए। अहिले आफ्नै रेस्टुरेन्टमा व्यस्त छन्।
स्थायी बसोबास कार्डसमेत पाइसकेका रमेशले दुई वर्षअघि त्यहीँ अपार्टमेन्ट पनि किनेका छन्।
रमेशका अनुसार पोर्चुगलमा नियमित काम भएकालाई सरकारले बिना धितो ऋण दिन्छ। १० देखि २० प्रतिशत डाउनपेमेन्ट भए पुग्छ।
'अहिले काम गरेर हामी सरकारलाई कर तिरिरहेका छौं। हामीले नसक्ने भएपछि सरकारले सामाजिक सुरक्षा ग्यारेन्टी गर्छ,' उनले भने, '६७ वर्ष ९ महिनाको उमेरपछि अवकाश पाइन्छ। नसक्ने भएपछि सरकारले जिम्मा लिन्छ।'

सन् २०२० देखि उनको परिवार पनि सँगै छ। छोराछोरी पोर्चुगलमै पढ्छन्।
धेरै नेपालीहरू पोर्चुगलबाट अन्य युरोपेली सेन्जेन मुलुक— जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स लगायत जान्छन्। पोर्चुगलमा भन्दा राम्रो सेवासुविधा र उच्च जीवनस्तरका लागि उनीहरू देश परिवर्तन गर्छन्।
रमेश भने तत्काल अर्को देश जाने सोचमा छैनन्।
नेपालसँग मिल्दोजुल्दो हावापानी भएकाले पोर्चुगलले नै तानिरहेको उनले बताए।
'यहाँ अरू युरोपका देशजस्तो धेरै हिउँ परिरहँदैन। धेरै चिसो हुँदैन। वातावरण एकदम राम्रो छ। कृषि पनि सोचेभन्दा भव्य छ। बच्चाहरू पनि पढ्दैछन्। व्यवसाय पनि भर्खरै सुरू गरेको छु,' रमेशले भने, 'अहिले यतै रमाएको छु।'