सभ्य देश,
फराकिला सडक मात्र होइनन्
ती सडकमा हिँड्ने संस्कार पनि हुन्
अग्ला भवनसँगै
अग्ला चेतनाहरू पनि हुन्।
हामी प्रविधि चाहन्छौँ
कृत्रिम बुद्धिमत्ता चाहन्छौँ
अनेक ग्रहहरूमा सयर गर्न चाहन्छौँ
तर एउटा सानो संस्कार
बाटो काट्दा रातो बत्तीमा रोकिने
धैर्य पनि सँगसँगै चाहन्छौँ।
सभ्य देश,
सिमानामा मात्र नदेखिन सक्छ
झन्डा फहराएर मात्र महान् नहुन सक्छ
ठुला पुल, चौडा सडक
र चम्किला सहरले मात्र
विश्वमा परिचित नहुन सक्छ।
देश त त्यो सभ्यताले देखाउँछ
जहाँ मानिसले फोहोर बाटोमा होइन
डस्टबिन नदेख्दा खल्तीमै राख्छ
कानुन पालना गर्न प्रहरीको डन्डा चाहिँदैन
लाइनमा तछाँडमछाँड नगरी
आफ्नो पालो पर्खेर बस्छ।
देश त्यहाँ झल्किन्छ
जहाँ अधिकार माग्ने हातले
अधिकार खोस्दैन
असहमति बिचका आवाज उठ्दा
हात उठ्दैनन्
अनि विचार फरक हुँदा
शब्द हतियार बन्दैन
र सामाजिक सञ्जालको पर्दापछाडि बसेर
मानिसले मानवता बिर्सँदैन।
सभ्य देशमा
शिक्षा, मानिसको व्यवहारमा देखिने
अदृश्य हस्ताक्षर हो
नैतिकता, एक्लै हुँदा पनि
गलत नगर्ने चेतना हो
कर्तव्य, प्रत्येक नागरिकको अधिकारलाई
आफ्नै अधिकारजस्तो सम्मान गर्नु हो।
देशमा कानुन चाहिन्छ
प्रहरी चाहिन्छ, अदालत चाहिन्छ
तर हरेक मानिसको पछाडि
एउटा प्रहरी उभ्याएर सभ्य देश बन्दैन
मानिसभित्रै प्रहरी जाग्नुपर्छ
जसको नाम हो विवेक
मानिसभित्रै अदालत जन्मिनुपर्छ
जसको नाम हो नैतिकता
र मानिसभित्रै संविधान लेखिनुपर्छ
जसको पहिलो धाराले भन्छ
म कर्तव्यनिष्ठ स्वतन्त्र नागरिक हुँ
त्यसैले
देश बनाउँदै गर्दा
सभ्य मानिस पनि सँगै बनाऔँ।
देश बदल्ने सपना ठुलो हो
तर सुरुवात सानोबाट हुन्छ
पहिले आफूलाई बदलौँ
व्यवहार बदलौँ,
संस्कार बदलौँ
किनकि अन्ततः
देश भनेको नक्सा मात्र होइन
देश भनेको सभ्यता हो
र सभ्यता
हामी सभ्य भयौँ भने मात्र बन्नेछ।