समाजले सोधिरहने एउटै प्रश्न छ–
‘तिमी साँच्चै के काम गर्छौ?’
हामी भन्छौँ–
‘हामी शब्दहरू जोड्ने काम गर्छौँ,
टाकुरोबाट समाजको अनुहार हेर्छौँ,
समाचारको सुतीरो कात्छौँ,
र, मसीले इतिहासको धड्कन सुनिदिन्छौँ।
समाज टुलुटुलु हेर्छ
अनि फेरि सोध्छ
‘पत्रकारिता गर्नु, समाचार पढ्नु र लेख्नु–
के यो पनि कुनै काम हो र?
यो त अल्छीहरूको भट्टीमा पाक्ने गफ हो,
हातमा बुम ठड्याउनु र ड्रोन उडाउनु त
केवल फुर्सदको तमासा हो !
तर उनीहरूले कहिल्यै देखेनन्–
कम्प्युटरको नीलो उज्यालोमा
कचेरा पग्लिएका र आँसु सुकेका आँखाहरू,
रातका घडीहरूसँग जुधेर
तथ्यको छाती चिर्ने मस्तिष्क,
र, सत्यको भारीले थिचिएर निहुरिएको मेरुदण्ड!
के हेमानको भारी बोकेर सिँढी चढेभन्दा
धेरै गुणा गह्रौँ छैनन् र ती शब्दहरू?
जसले एउटा झुटो व्यवस्थाको
सिङ्गो महललाई धुलोपिठो पार्छन् !
समाचार पढ्नु भनेको–
देशको जिउँदो चिहानमा
कान थापेर उच्छ्वास सुन्नु हो,
र लेख्नु भनेको–
त्यही चिहानबाट सत्यलाई बाहिर निकालेर
टन्टलापुर घाममा उभ्याउनु हो।
के आफैमा सिम्बोलिक छैनन् र हाम्रा श्रमहरू?
तर जसले श्रमको मूल्य
केवल नोटको गन्तीमा मात्र नाप्छ,
उसले कसरी बुझोस्–
मस्तिष्कको कारखानामा बग्ने अदृश्य पसिनाको रङ?
हो, हामीसँग बैंकमा थुपारिएको अथाह धन छैन,
हामी कसैको घाँटी रेटेर उक्लिने भर्याङ पनि होइनौँ।
तर, विचारको यो खानीमा
इमानको कोइला खनिरहने मान्छेहरूलाई
‘बेरोजगार’ वा ‘फुर्सदिला’ भन्नु–
आफैँले आफ्नो चेतनाको शिर छेद्नु हो।
यदि शब्दमा देशको ज्वरो नाप्नु
र मसीले समयको अनुहारमा रेखांकन गर्नु
काम होइन भने–
भन, यो समाजलाई मान्छे बनाउने
अर्को कठिन काम कुन चाहिँ हो?
अनि अझै भन,
लेख्नुभन्दा कठिन अर्को श्रम के हो?