सेयर बजार विश्लेषणका विभिन्न औजारहरू हुन्छन्। सामान्यतयाः प्राविधिक विश्लेषणका औजारहरूलाई नेपाली लगानीकर्ताहरूले 'जोखना' भनेर व्यंग्यात्मक रूपमा पनि प्रयोग गर्छन्।
जोखनामा सूर्य, राहु, केतुको खेल भएजस्तै सेयर बजारमा प्रयोग हुने मैनबत्ती चित्र विश्लेषणमा ताराहरूको पनि महत्त्व हुन्छ।
यस्ता ताराहरूलाई दोजी स्टार पनि भनिन्छ। अहिले सेयर बजारमा पनि यस्तै तारा देखिएका छन्।
यी ताराले के संकेत गर्छन्?
दोजी स्टारले बजारमा अनिश्चयको अवस्था देखाउँछन्। विशेष गरेर बजार बढ्छ र घट्छ भन्ने दुवै शक्ति बलियो हुँदा यस्तो मैनबत्ती आकृति देखा पर्छ।
सामान्यतया यस्तो दोजी स्टारमा मैनबत्ती आकृतिको शरीर हुँदैन वा सानो मात्र हुन्छ। यो भनेको यस्तो मैनबत्ती आकृति बनाएको दिनमा सुरू वा अन्त्य विन्दु एउटै जस्तो वा नजिक हुन्छन्। उच्च विन्दु सुरू वा अन्त्यभन्दा केही माथि र न्यून विन्दु केही तल हुन्छ।
बढिरहेको बजारमा यस्तो दोजी स्टार देखा पर्दा लगानीकर्ताको वृद्धिप्रतिको विश्वास धर्मराउन थालेको हो कि भन्ने संकेत हुन्छ।
त्यस्तै, घटिरहेको बजारमा यी आकृति देखिँदा अब बजार धेरै घट्नुपर्ने अवस्था छैन कि भन्ने संकेत पनि हुन्छ।

त्यसबाहेक यी आकृति बन्नुअघिका अन्य मैनबत्तीले बनाएको प्रवृत्तिको आधारमा पनि विश्लेषण गर्न सकिन्छ।
अहिले भने बजारमा घट्दो क्रममा यस्ता आकृति देखिएका हुन्। विगत चार कारोबार दिनमा अन्तिम दुई दिनमा यी आकृति देखिए।
सोमबार बजारमा लामो रातो मैनबत्ती आकृति बन्यो। यसमा सुरू विन्दुभन्दा तल आएर बजार बन्द भयो। यो दिन २६३२ मा बजार खुल्यो, बन्द हुँदा घटेर २६१३ मा आयो।
मंगलबार बजार खुल्दा नेप्से २६१० मा थियो, बजार बन्द हुँदा २६०३ मा झर्यो। यस दिन केही सानो शरीरसहितको रातो मैनबत्ती बन्यो। तर मैनबत्तीका दुवैतर्फ धागो रह्यो। किनभने बजार बढ्दा २६१५ हाराहारी र न्यूनतम विन्दु २५८८ विन्दुसम्म ओर्लियो।
बुधबार बजार २५९८.३० बाट खुल्यो, बढ्दा २६०६ सम्म पुग्यो। घट्दा २५८८ सम्म पुग्यो। बजार बन्द हुँदा २५९८.८९ मा रह्यो। यो दिन सानो वा लगभग शरीरविहीन दोजी बन्यो।
बिहीबार २५९७ बाट बजार खुल्यो। घट्दा २५८९ सम्म र बढ्दा २६०५ सम्म पुग्यो। बन्द हुँदा नेप्से २५९९ मा रह्यो। यस दिन पनि दुवैतर्फ लामो धागो भएका मैनबत्ती आकृति बन्यो।
यी चार दिनका मैनबत्तीले बनाएको प्रवृत्तिलाई 'ब्रेकअवे बुलिस' बन्ने तयारीको रूपमा विश्लेषण गर्न सकिन्छ।
शुक्रबार बजार बलियो रूपमा बढेर लामो हरियो मैनबत्ती बनेमा र त्यसले पहिलो तथा दोस्रो दिनबीच बनेको दुरी (ग्याप) भित्र रहेमा ब्रेकअवे बुलिस आकृति पूरा हुन सक्छ।
अर्थात् सोमबारको बन्द विन्दु तल र मंगलबारको सुरू विन्दुभन्दा माथि शुक्रबारको बन्द विन्दु रहेको हुनुपर्छ।
यसले अल्पकालमा बजार बियरिस प्रवृत्तिबाट बुलिस प्रवृत्तिमा जान लागेको संकेत गर्छ। यो मध्यम संकेत हो।