आज लोकसेवाको नतिजा आउने दिन थियो। घरमा एक हप्तादेखि नै सबैजना नतिजाको प्रतीक्षामा थियौँ। राति ९:५६ बजे मोबाइलको म्यासेज बक्समा एउटा सन्देश आयो। त्यो सन्देश सिफारिसको थियो।
मेरो शरीर बेस्सरी काम्यो। मैले ठूलो स्वरमा बहिनीलाई सुनाएँ। त्यसपछि ममी र बाबालाई सुनाएँ। सबैजना खुसीले करायौँ। केही क्षणमै घरको माहोल खुसीयालीले भरियो। मैले मेरा नजिकका साथीहरूलाई पनि सुनाएँ। सबै जना खुसी भए।
यो खुसीको खबर सुनाउनुपर्ने मानिसहरू पनि निकै थोरै थिए। केहीबेरपछि म आफ्नो कोठामा आएर बेडमा पल्टिएँ। अनि सम्झिन थालेँ— मेरो लोकसेवा तर्फको यात्रा…
मलाई सानैदेखि निजामती सेवाप्रति प्रेम थियो। म कक्षा १ मा हुँदा विद्यालय छुटेपछि बाबाको कार्यालयमा जान्थेँ। बाबाको कार्यालय विद्यालयबाट करिब पाँच मिनेटको दूरीमा थियो। धेरै कुरा त याद छैन, तर बाबाको कार्यालयमा घुम्ने कुर्सी थियो। म त्यही कुर्सीमा बसेर घुम्थेँ र त्यसको रमाइलो लिन्थेँ। अनि बाबा भन्नुहुन्थ्यो, ‘पछि ठूलो भएपछि म जस्तै बन्नुपर्छ है।’
ठूलो हुँदै गएँ। जीवनमा मेरा लक्ष्यहरू पनि परिवर्तन हुँदै गए। मैले वकिल बन्ने सपना देख्न थालेँ। त्यतिबेला पनि म निर्विकल्प थिएँ— मलाई वकिल नै बन्नु छ भन्ने सोच थियो। जब म कक्षा १० को अन्तिम–अन्तिम समयमा थिएँ र विद्यालयको अन्तिम दिन पनि थियो, पहिलो कक्षा चलिरहेको थियो। सबै व्यस्त थिए।
मैले सरलाई भनेँ, ‘सर, म अब कानुन पढ्ने हो।’
तर उहाँले ‘सक्दिनस् तँ, एकदम गाह्रो हुन्छ,’ भन्नुभयो। त्यो सुनेर मेरो मन खिन्न भयो। ती सर पुराना हुनुहुन्थ्यो। हामीलाई पढाउने शिक्षकहरूलाई पनि उहाँले पढाउनुभएको थियो। उहाँसँग धेरै अनुभव छ, त्यसैले त भन्नुभयो होला लाग्यो।
त्यसपछि मैले कानुन पढ्ने निर्णयबाट पछि हटेँ। पढाइमा नराम्रो पनि थिइनँ, राम्रै थिएँ, तर पनि आँट आएन। कक्षा १० पछि के पढ्ने, के बन्ने भन्ने कुरामा म अलमलिएँ। सुरु गर्नुपर्ने उमेरमा नै म भड्किएको थिएँ।
त्यसपछि व्यवस्थापन पढेर चार्टर्ड एकाउन्टेन्ट बन्छु भन्ने भयो। प्रवेश परीक्षा दिएँ। दुई–तीन वटा कलेजमा, त्यो मध्येबाट पनि कुमारीपाटीको मोलिस कलेजमा मैले र मेरो साथीले ७५ प्रतिशत छात्रवृत्ति पायौँ र त्यहीँ पढ्यौँ। ती दुई वर्ष एकैछिनमा बिते। त्यस समयमा भविष्यको धेरै चिन्ता पनि भएन। कक्षा १२ पनि सकियो। मलाई के थाहा, वास्तविक जीवन त त्यहाँबाट सुरु हुने रहेछ भन्ने!
१२ पछि म दोधारमा थिएँ—के गर्ने, के नगर्ने भनेर। चार्टर्ड एकाउन्टेन्ट पढ्ने मन पनि हराइसकेको थियो। १२ को नतिजा पनि आयो। त्यसपछि के गर्ने भन्ने सोच्दै थिएँ। एक दिन युट्युबमा कानुनमा स्नातकको प्रवेश परीक्षाको लागि फाराम खुलेको रहेछ भन्ने कुरा देखेँ। हेरेँ, अझै समय रहेछ। करिब एक महिना बाँकी थियो। त्यही बीचमा दशैँ–तिहार पनि थियो। मैले फाराम भरेँ।
त्यति बेलासम्म अरू विश्वविद्यालयका प्रवेश परीक्षाहरू भइसकेका रहेछन्। त्रिभुवन विश्वविद्यालय र ख्वपको मात्र बाँकी रहेछ। मैले त्रिभुवन विश्वविद्यालयको फाराम भरेँ। समावेशीसहित करिब ३८० वटा सिट रहेछन्।
अरूहरूले त जेठदेखि नै प्रवेश परीक्षाको तयारी गर्न सुरु गरिसकेका रहेछन्। मेरो हातमा भने जम्मा एक महिना थियो। मैले प्रवेश परीक्षाको तयारीका लागि किताब किनेँ। अरू प्रवेश परीक्षा जस्तो वस्तुगत मात्र थिएन, विषयगत पनि थियो। जति भ्याएँ, त्यति पढेँ। लगभग २० दिनजति राम्रोसँग पढेको हुँला। सबै पढेर सकिएको पनि थिएन, तर जति सकिन्छ त्यति पढिरहेँ।
अन्ततः परीक्षा दिएँ। परीक्षा ठीकै भएको थियो, सबै प्रश्न गरेकी थिएँ। नतिजा आयो। ६०५ मा नाम आएछ। म खुसी नै भएँ। किनकि अरूहरूले छ महिनादेखि पढिरहेका थिए, मेरो भने २०–२५ दिन मात्र थियो। अलि अगाडिदेखि पढेको भए नाम निकाल्न सक्ने रहेछु भन्ने लाग्यो।
सरले ‘सक्दिनस्’ भन्नुभएको थियो, तर अब मलाई ‘म सक्छु’ भन्ने विश्वास भइसकेको थियो। मनमनै ती सरलाई गाली पनि गरेँ। तर मलाई वर्ष खेर फाल्न आँट आएन। आफू कनिष्ठ हुन्छु जस्तो लाग्यो। त्यसैले मैले अहिले बिबिएस पढ्छु अनि पछि एलएलबी गर्छु भन्ने सोचेँ।
अब मेरो लक्ष्य स्पष्ट भइसकेको थियो। मलाई जसरी पनि स्नातक सक्नु थियो अनि एलएलबी गर्नु थियो। तर मलाई के थाहा, मेरो बढ्दो उमेरले मलाई त्यसरी नै बसिरहन दिँदैन रहेछ भन्ने।
त्यही क्रममा मैले लोकसेवा दिने सोचेँ। कसैले ‘के गर्दै छौ?’ भनेर सोध्यो भने ‘लोकसेवा पढ्दै छु’ भन्थेँ। तर मलाई पढ्न फिटिक्कै मन लाग्दैनथ्यो। किताब हेर्नेबित्तिकै झ्याउ लाग्थ्यो। फाराम पनि भर्थेँ, परीक्षा पनि दिन्थेँ। परीक्षा दिएको दिन अरूलाई देख्दा एक दिन पढ्न मन लाग्थ्यो, अर्को दिन फेरि उस्तै हुन्थ्यो।
कलेज पनि जाँदिनथेँ। हप्तामा एक–दुई दिन बल्लतल्ल जान्थेँ। त्यसरी नै प्रथम वर्ष सकिन लाग्यो। भित्रभित्रै मलाई धेरै कुराले खाइरहेको थियो। मेरा साथीहरू एकपछि अर्को गर्दै विदेश जाँदै थिए। कोही इन्जिनियर पढ्दै थिए, कोही सूचना प्रविधि पढ्दै थिए। सबैजना आफ्नो भविष्य बनाउँदै थिए। म भने अरूलाई हेरेर र आफूले केही पनि नगरेको देखेर निराश हुन्थेँ। दिमागमा तनाव थियो, निराशा थियो, तर म केही पनि गरिरहेकी थिइनँ। दिनभरि, रातभरि तनाव लिएर बस्थेँ, तर केही गर्दिनथेँ।
म कुमारीपाटीको कलेजमा पढ्थेँ। प्रथम वर्षको बोर्ड परीक्षाको सूचना आयो। मैले कलेज परिवर्तन गर्ने सोचेँ र पाटनमा पढ्छु भन्ने विचार गरेँ। पाटनमा त्यतिबेला अन्तिम समयसम्म पनि भर्ना गर्न मिल्ने व्यवस्था थियो। मैले सोचेँ—मलाई बैंकिङतिर खासै रुचि छैन। म कानुन पढ्ने हो। अहिले बिए गर्छु, पछि एलएलबी गर्छु। त्यस्तै सोचेँ।
प्रथम वर्षको बोर्ड परीक्षा भयो। तीन वटा विषयमा पास भएँ, दुई वटामा फेल भएँ। मेरा साथीहरू भने सबै विषयमा पास भए। जिन्दगी झ्याउ लाग्ने पारामा चलिरहेको थियो। दिन बिताउन गाह्रो, रात बिताउन गाह्रो। म २४ घण्टामा लगभग १८ घण्टा त ओछ्यानमै हुन्थेँ। मलाई काम गर्न पनि जाँगर चल्दैनथ्यो।
काम गर्न नगएको पनि होइन। मार्टमा करिब दुई महिना काम गरेँ, तर न तलब पाएँ, न केही। मेरो आत्मविश्वास, सञ्चार सीप—सबै शून्यजस्तै भइसकेको थियो। म बस् सुतिरहन्थेँ, निराश भएर।
एक दिन मलाई ठुलीममीकी छोरीले दाइहरूलाई टीका लगाइदिने यो पालि कोही भएन, ‘तिमी गइदेऊ न, म पैसा हालिदिन्छु’ भन्नुभयो। म खुसी भएर निस्किएँ—ललितपुरदेखि रुकुम। म रुकुमको मान्छे भए पनि मेरो जीवनको केही समयबाहेक मैले लगभग सबै समय ललितपुरमै बिताएकी थिएँ। हामी रुकुम धेरै जाँदैनथ्यौँ, किनकि टाढा थियो र जान–आउनमै धेरै खर्च हुन्थ्यो।
त्यो बेला म एक्लै रुकुम जाँदै थिएँ। म एकदम उत्साहित थिएँ। बसपार्क, कलंकी, नौबिसे हुँदै धादिङ, तनहुँ हुँदै गाडी रुकुमतिर गइरहेको थियो। म जुन गाडीमा थिएँ, त्यसमा पश्चिमेली परिवेश थियो। मेरो छेउको मान्छेसँग पनि बोलिनँ। म अन्तर्मुखी भइसकेकी थिएँ।
जति–जति गाडी गुड्दै गइरहेको थियो, त्यति–त्यति म मेरो बाल्यकालमा फर्किँदै थिएँ। मेरो मस्तिष्कमा बाल्यकालकी गीता खेलिरहेकी थिई। त्यो गीता, जसलाई जीवनमा केही बन्नु थियो। गीतालाई साधारण मान्छे बन्नु थिएन, नालायक पनि बन्नु थिएन। गीता पढाइमा राम्री थिई। चञ्चल थिई। विद्यालयमा उपकप्तान पनि भएकी थिई। गीता धेरै बोल्थी। सबै साथीहरू उसको नजिकै थिए। सबै शिक्षकहरूसँग पनि ऊ नजिक थिई।
कहिलेकाहीँ साथीहरू ‘आज प्रश्न सोधेर कक्षा सक है’ भनेर उसलाई उक्साउँथे, अनि ऊ प्रश्न सोधेर पनि कक्षा सकाउँथी। ऊ गफाडी थिई, रमाइलो गर्ने मान्छे थिई, आत्मविश्वासी थिई। आफूलाई आफैँ ‘खत्रा छु’ भन्ने सोच्थी। तर अहिले म त्यस्तो केही पनि थिइनँ। न अरूसँग बोल्न सक्थेँ, न आत्मविश्वास नै बाँकी थियो। म त धेरै अन्तर्मुखी भइसकेकी थिएँ।
गन्तव्य टाढा थियो। दिमागमा अनेक कुरा चलिरहेका थिए। हिजो दिउँसो ११ बजे हिँडेको गाडी बिहान ९ बजेतिर म मामाघर पुगेँ। मामाघर झर्नेबित्तिकै सबैलाई नमस्कार गरेँ। त्यसपछि नुहाउन गएँ र खाना खाएँ। माइजूले थाकेकी भए सुत भन्नुभयो। बाहिर घाममा म्याट बिछ्याइएको थियो। म त्यहीँ पल्टिएँ र केहीबेरमै निदाएँ।
करिब तीन घण्टा घाममा सुतेपछि बिउँझिएँ। यताउता हेरेँ। कति सफा थियो मौसम! काठमाडौं जस्तो प्रदूषित थिएन। घरहरूको चाप थिएन। वरिपरि सफा थियो र प्राकृतिक सुन्दरताले भरिएको थियो। मनलाई नै आनन्द भइरहेको थियो। गाडीमा त्यस्तो दृश्य पहिले नदेखेको होइन, तर त्यतिबेला ध्यान नै गएको थिएन।
मेरो मनमा अनेक कुराहरूको खेल चलिरहेको थियो। अनि मैले सोचेँ—अब म राम्रोसँग पढ्छु। नाम निकाल्छु। कानुन पनि पढ्छु तर प्रशासनको बाटो हिँड्छु किनभने अब म बुझ्ने भइसकेकी थिएँ, मलाई कतातिर जानु छ भनेर। सचिवसम्म बन्ने लक्ष्य राखेँ।
मैले ती सबै बन्ने निर्णय लिएँ, जुन मैले सानो छँदा बन्ने सोच राखेकी थिएँ। मैले ममीलाई फोन गरेँ। बाबालाई फोन गरेँ। ‘अहिलेसम्म म भड्किएकी थिएँ, अब आएर पढ्छु है’ भनेँ। उहाँहरूले पनि सहज रूपमा ‘हुन्छ’ भन्नुभयो।
म रुकुम आएको पर्सिपल्ट नै घर फर्किएँ। अनि २०८१ साल कार्तिक ११ गते मैले बागबजारको वेभ इन्स्टिच्युटमा प्रवेश गरेँ र पढ्न थालेँ।
त्यसपछि मैले धेरै मेहनत गरेँ। योभन्दा अगाडि पनि वैकल्पिकमा परेको थिएँ। केही क्षण दुःखी भएकी थिएँ, तर फेरि पढ्न थालेँ। आजको दिनसम्म आइपुग्दा यसबीचमा मैले धेरै कुरा अनुभव गरेँ। निरन्तरता, धैर्यता, लगनशीलता र मेहनतको अर्थ अनुभव गर्दै सिकेँ र बुझेँ। हिम्मतलाई पनि हिम्मत दिँदै अगाडि बढ्न सिकेँ।
फर्केर हेर्दा, मैले धेरैपटक आफूलाई भड्किएको पाएँ, तर आफैँलाई बुझ्दै गएँ। अनि आज मलाई लाग्दैछ—म फेरि आफ्नै गन्तव्यतिर फर्किँदै छु।