गर्भावस्था टेस्ट किटमा दुई वटा लाइन देखिएपछिको त्यो समय म शब्दमा व्यक्त गर्नै सक्दिनँ। खुसी धेरै भएपछि गला अवरुद्ध हुने रहेछ। समय एकछिन टक्क रोकिएको जस्तो भयो। मैले आफ्नो पेटमा हात राखेर ऐना हेर्दै एक्लै मुस्कुराएँ।
अहिले पनि सम्झना लाग्छ, त्यो क्षण यो जीवनभरकै सबैभन्दा सुख र सन्तुष्टिको क्षण थियो। त्यसपछि टेस्ट पोजिटिभ आएको कुरा मैले श्रीमान्लाई र आमालाई बताएँ।
मेरो गर्भावस्थाका सुरुवाती दिनहरू एकदमै उत्साहपूर्ण थिए। हामी श्रीमान्-श्रीमती अत्यन्तै खुसी थियौँ। सुरुवाती दिनहरू रमाइलैसँग बिते। अथवा भनौँ, गर्भावस्थाको प्रथम चरण सजिलैसँग बित्यो। जब म गर्भावस्थाको दोस्रो चरणमा प्रवेश गरेँ, त्यसपछि बिस्तारै मेरा दिनहरू कठिन बन्दै गए।
भन्न त गर्भावस्थाको ‘सेकेन्ड ट्राइमेस्टर’ लाई हनिमुन फेज’ भन्छन् क्यारे, तर मेरो हकमा भने बिलकुलै फरक भइदियो। गर्भावस्थाको तीन चरणमध्ये सबैभन्दा सजिलो भनिएको चरणमा पुगेपछि म अकस्मात् बिरामी भएँ।
मलाई श्वास फेर्न एकदमै गाह्रो हुने, कहिल्यै हुन नसक्ने र डरलाग्दा विचारहरू मनमा आउने र ती विचार बारम्बार दोहोरिने अनि तिनै विचारलाई लिएर म घण्टौँसम्म सोचेर बस्ने हुन थालेँ। रातमा निद्रा नलाग्ने, अत्यास लाग्ने, डर लाग्ने हुन थाल्यो। र यो क्रम दिनदिनै बढ्दै गयो।
धेरै दिनसम्म लगातार यस्तो भएपछि हामी (श्रीमान्-श्रीमती) हस्पिटल गयौँ। मानसिक रोग विशेषज्ञ डाक्टर भेट्यौँ र परामर्श लियौँ। डाक्टरले मलाई एन्जाइटी+ओसिडी भएको भनेर बताउनुभयो। र हामीलाई औषधि सुरुवात गर्न सल्लाह दिनुभयो।
उहाँको अनुसार गर्भावस्थामा सुरक्षित हुने औषधि हुन्छन् र त्यो लिनुस् भन्ने थियो। तर एउटा आमा मनले त्यो निर्णय गरिहाल्न मानेन, किनकि पेटमा भएको बच्चालाई कुनै किसिमको जोखिम नहोस् भनेर हामीले औषधि नलिने निर्णय गर्यौँ। लगातार ५/६ सेसन काउन्सेलिङ गर्यौँ। काउन्सेलिङ गरेको केही दिन अलि सहज लाग्थ्यो, फेरि उस्तै मन भारी हुन्थ्यो। काउन्सेलिङ ले सुधार नभएको होइन, तर उल्लेख्य सुधार हुन सकेन।
कहिलेकाहीँ म लगातार ४/५ रातसम्म निदाउन सक्दिनथेँ। त्यो समयमा मलाई मेरो श्रीमान्ले एकदमै केयर गर्नुभयो, उहाँको अफिस टाइमबाहेक अरू सबै समय मलाई दिनुभयो, मलाई सुनिदिनुभयो। त्यसरी जसोतसो म गर्भावस्थाको अन्तिम चरणमा आइपुगेँ र ३८औँ हप्ताको चेकअपपछि डाक्टरको सल्लाहबमोजिम प्रसूतिको लागि अस्पताल भर्ना भएँ।
पीडापछिको पल
अस्पतालमा सकेसम्म नेचुरल डेलिभरी होस् भन्ने कामना थियो र त्यहीअनुसार प्रसूति व्यथा सुरु हुने औषधि चलाइयो। असोज २३ गते राती १० बजेबाट औषधि चलाइयो, प्रसूति व्यथा लाग्यो तर असोज २४ गते बेलुका ५/६ बजेसम्म पनि व्यथा सुधारोन्मुख भएन। डाक्टरको भनाइअनुसार अब नर्मल डेलिभरी हुन सक्दैन भन्नुभयो।
त्यसपछि मलाई अप्रेसन कोठामा लगियो। अप्रेसन कोठामा लगिँदै गर्दा धेरैजसो बिरामीको मनमा डर हुन्छ, तर मेरो मनमा भने आशा थियो, अब मेरो बच्चा सकुशल जन्मन्छ र म पनि बाँच्न पाउँछु भन्ने आशा। किनकि मलाई त्यो लामो प्रसव पीडाबाट मुक्ति मिल्दै थियो र मेरो लागि त्यो निकै ठुलो कुरा थियो।
मलाई एनेस्थेसिया दिइयो र सुरु भयो मेरो मेजर अप्रेसन। अप्रेसन चलिरहँदाको समय मलाई प्रायः सबै कुरा याद छ। बेलुका ७ बजेर २ मिनेटमा मेरो छोराको जन्म भयो। र अप्रेसन कक्षबाट बाहिर लगिएपछि थोरै समयको लागि आमा र बच्चालाई सँगै राखियो।
पहिलोपटक मेरो छोराको अनुहार हेर्दा उसलाई छातीमा राख्दाको त्यो अनुभव व्यक्त गर्ने शब्द मसँग छैन। केही समयपछि बच्चालाई र मलाई छुट्टै राखियो। त्यो रात आलो घाउको दुखाइ र बच्चासँगको दूरीले गर्दा होला, म राम्ररी निदाउन सकिनँ।
भोलिपल्ट बिहान १० बजे मलाई वार्डमा सारियो। त्यसपछि मेरो असली परीक्षा सुरु भयो, बच्चालाई खुवाउन पर्याप्त दूध आएन र बच्चाले दूध तान्नै मानेन। उसलाई फर्मुला मिल्क खुवाउन पर्ने भयो। मेरो दूध एकदमै कम आउने त्यसमाथि उसले तान्न नसक्ने। सायद गर्भावस्थाभरिको चिन्ता र तनावको असरले दूध कम आएको हुनुपर्छ भन्ने अनुमान थियो मेरो, तर थाहा छैन किन हो, फेरि नेचुरल डेलिभरीमा जस्तो आफूलाई मन लागेको खाना खान नपाइने, अप्रेसनको घाउ पाक्ने डरले मुख बारेको थिएँ।
अब मेरो सबैभन्दा ठुलो चिन्ताको विषय थपियो, बच्चालाई खुवाउने दूध आएन। उसलाई फर्मुला मिल्क तयार गरेर चम्चाले खुवाउँदा मेरो आँखा भरिन्थे। उसलाई खान पुग्ने दूध आइदियोस् भनेर म प्रार्थना गर्थेँ तर मेरो प्रार्थनाले काम गरेन। सायद प्रार्थनाभन्दा पोषण र स्याहार जरुरी थियो मलाई।
बच्चालाई खुवाउने दूध नआएको कुरामा अझ बढाइचढाइ गरेर मेरो बच्चाप्रतिको ममतामाथि प्रश्न उठाएर मलाई वचन लगाउनेहरू मेरै वरिपरि थिए। म एकदम आत्तिन्थेँ, रुन्थेँ तर गर्भावस्थामा जस्तो खुलेर रुन पाउने अवस्था अब थिएन। किनकि मैले मेरो छोराको ख्याल राख्नुथियो।
एन्जाइटी माथि थपिएको अर्को तनावले गर्दा मैले स्वास्थ्यको ख्याल राख्न सकिनँ, मेरो घाउमा इन्फेक्सन भएछ। एकातिर मानसिक दुखाइ, अर्कोतिर शारीरिक दुखाइ, मेरो लागि ती दिनहरू नर्क समान भए।
वचनको घाउ
मलाई सहन अति गाह्रो भइरहेको थियो। त्यसैबिच मैले मेरो मनबुझ्ने भाउजू डा. प्रतिभा पौडेलसँग कुरा गरेँ। उहाँले किन्तु परन्तु केही नभनी तुरुन्तै गाडी लिएर मकहाँ आउनुभयो र मेरो श्रीमान्सहित हामी अस्पताल गयौँ।
मेरो घाउमा इन्फेक्सन भएको रहेछ र इन्फेक्सनको मुख्य कारण पोषणको कमी भन्नुभयो डाक्टरले। किनकि म शुद्ध शाकाहारी मान्छे, त्यसमाथि त्यो समयमा मैले शाकाहारी खाना पनि मजाले खान सकेको थिइनँ। मेरो इन्फेक्सन भएको स्थानमा ड्रेसिङ गरी एक हप्ताको लागि पेनकिलर थपिदिनुभयो। तर मनको घाउको के गर्ने? जसले विगत ६ महिनादेखि मलाई दुखाइरहेको थियो।
भाउजू आफैँ डाक्टर हुनुभएको हुँदा उहाँको चिनजानमार्फत हामीले त्यही दिन त्यही हस्पिटलमै मानसिक रोग विशेषज्ञ डाक्टरलाई पनि भेट्यौँ। र उहाँसँगको परामर्शपछि मलाई औषधि सुरु गरियो।
म बिरामी भएको करिब ७ महिनापछि हामीले औषधि सुरु गर्यौँ तर उपचारका सुरुवाती दिनहरू एकदम कष्टकर बने। मलाई निद्रा लाग्ने औषधि दिइएको थियो तर त्यो औषधि खाँदा पनि मलाई निद्रा लागिरहेको थिएन। बिस्तारै औषधिसँग अभ्यस्त हुन थालेपछि म निदाउने भएँ तर म आम रूपमा भन्दा बढी निदाउने भएँ, रातमा उठेर राम्ररी बच्चा हेर्न सक्दिनथेँ।
त्यसपछि फेरि सुरु भएको मेरो मानसिक दुखाइ, आमा भएर बच्चालाई दूध खुवाउन नसक्ने पनि के आमा? बच्चालाई खुवाउने दूध नै नआएपछि आमा भए पनि नभए पनि के अर्थ? जस्ता वचनहरू मैले दैनिक सुन्नुपर्थ्यो। त्यो समयमा म आफ्नो छोरालाई हेरेर धेरै रुन्थेँ, आफू संसारकै सबैभन्दा अभागी आमा हुँ कि जस्तो लाग्थ्यो।
त्यतिका बच्चा निर्माण गर्न सक्ने मेरो शरीरले बच्चालाई खुवाउने दूध निर्माण गर्न किन सकेन भन्ने प्रश्न मनमा बारम्बार आइरहन्थ्यो। त्यो समय मैले आफूलाई धेरै धिक्कारेँ, मेरो जीवनभरलाई पुग्ने जति आँसु बगाएँ। तर त्यो सबै भइरहँदा एउटा कुरा स्पष्ट देखिएको थियो, जसले जे भने पनि मेरो छोरालाई मैले जति माया अरू कसैले दिन सक्दैन भन्ने कुरामा म स्पष्ट भएँ।
त्यो सत्यलाई मैले मनमनै दोहोर्याएँ, मैले मेरो बच्चाको लागि बाँच्नुपर्छ, उसको लागि भए पनि म निको हुनुपर्छ भन्ने सङ्कल्प गरेँ। मेरो छोराको लागि त म नै उसको संसार हुँ। मेरो शरीरले पर्याप्त दूध निर्माण गर्न नसक्नु मेरो दोष होइन, रहर वा इच्छा पनि होइन।
दूध आएन भन्दैमा म खराब आमा हुने होइन, आखिर उसलाई जन्म त मैले नै दिएको हुँ नि, उसलाई प्रेमले काखमा राखेर दूध खुवाउने रहर मलाई पनि थियो नि। दूध नआउनुमा मेरो के गल्ती? त्यसैले मैले मनमनै भनेँ, बस् अब धेरै भयो, अब म रुन्नँ, अब कमजोर बन्दिनँ। मैले आफूलाई झकझकाएँ, आफैँलाई सम्झाएँ।
औषधि रहेछ आत्मविश्वास
मेरो छोरालाई जसरी पनि स्वस्थ रूपमा हुर्काउँछु भनेर प्रण गरेँ। त्यसरी लगभग १.५ महिनापछि मलाई मेरो भाइ र आमाले सुत्केरी स्याहारको लागि माइत लानुभयो। मेरो अवस्था बारे मेरो आमा भाइलाई थाहा थियो, आमाले अत्यन्तै राम्ररी मेरो ख्याल राख्नुभयो, मेरो छोराको ख्याल राख्नुभयो। मलाई म हुनुको महत्त्व बुझाउनुभयो।
मैले एन्जाइटीको औषधि नियमित खाइरहेको थिएँ तर दुःखमा आफ्नो आमाले गरेको माया जस्तो अचुक औषधि के हुन्छ होला र। म बिस्तारै तन्दुरुस्त हुँदै गएँ, मेरो आमा र भाइको माया मेरो लागि औषधि समान भयो। किनकि ममा आत्मविश्वास भर्न मेरो शारीरिक तन्दुरुस्ती फर्काउन मेरो आमाले धेरै मेहनत गर्नुभएको थियो। फलस्वरूप म बिस्तारै निको हुन थालेँ। आफूलाई जन्मदिने मान्छे र आफूले जन्माएको मान्छेको वरिपरि भुल्दै गर्दा मेरो मनको घाउ बिस्तारै कम हुँदै गयो।
लगभग २ महिनाको माइत बसाइँपछि म घर फर्किएँ। मेरो घर भन्नू मेरो श्रीमान्को साथ हो। उहाँकै साथले गर्दा ममा हिम्मत थियो। गर्भावस्था र सुत्केरीमा पाएको दुःखले मलाई को आफ्नो, को पराइ राम्ररी चिनायो। मैले त्यो समयमा औँलाले गन्न सकिने थोरै मानिसको मात्र साथ सहयोग पाएँ अनि धेरैको असली अनुहार चिनेँ। जीवनमा दुःख एक्लै नआउने रहेछ, दुःखले ठुलो शिक्षा पनि आफूसँगै लिएर आउने रहेछ। मलाई त्यो समयले धेरै ठुलो शिक्षा दियो।
हुन त मानिसको स्वभावै यस्तो होला, सुखभन्दा दुःख बढी याद गर्ने, त्यसैले पनि मैले ती पीडादायी दिनहरू भुल्न सकेकी छैन। तर त्यो समयले मलाई आजको म बनायो, जसलाई अब सानातिना कुराले पिरोल्न सक्दैन।
आज म शारीरिक, मानसिक दुवै रूपमा बलियो भएको छु। अहिले मेरो छोरा ११ महिना पूरा भयो, आउँदो २४ गते उसको पहिलो जन्मदिन आउँदैछ। उसको स्वास्थ्य ठिकठाक छ, वृद्धिविकास राम्रो छ। हिजो बच्चालाई दूध नआउँदा मेरो ममता माथि नै प्रश्न उठाउनेहरू आज मप्रति सहानुभूति देखाउँछन्, मेरो छोरालाई माया गरेझैँ गर्छन्। तर मैले ती मान्छेको असली अनुहार चिनेको छु।
म लडेँ तर फेरि उठेँ। पहिलेभन्दा अझ दह्रो भएर उठेँ, यो कुरामा म खुसी छु। मैले यो लेख लेख्नुको उद्देश्य मजस्तै मानसिक तनावसँग जुधिरहेका आमाहरूलाई प्रेरणा मिलोस् भन्ने हो। मानसिक समस्याले दिने दुःख र अशान्ति जतिको ठुलो पीडा सायदै केही छैन। त्यसैले आमा बन्दै गर्नुभएका र आमा बनिसक्नुभएका सबै महिला दिदीबहिनीहरूलाई एउटा अनुरोध गर्छु।
आफ्नो मानसिक स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। आफूलाई कहिल्यै कमजोर नठान्नुहोस्। आत्मविश्वास बलियो राख्नुहोस्, किनकि आत्मविश्वास जतिको भरपर्दो साथी यो संसारमै कोही छैन।
सुत्केरी स्याहार, पोषण र मानसिक स्वास्थ्यको बारेमा हाम्रो समाज जति सचेत हुनुपर्ने हो, त्यति भएको छैन। आज पनि सुत्केरी स्याहारलाई एकदम कम महत्त्वको विषय बनाइएको छ तर यो कम महत्त्वपूर्ण विषय भने पक्कै होइन। यो त आमा र एक नयाँ जीवनसँग जोडिएको विषय हो, आमाको स्वास्थ्य स्थिति बिग्रँदा शिशुको स्याहार र हेरचाहमा प्रत्यक्ष असर पर्दछ र भोलि त्यो शिशु कस्तो बन्ला भन्ने कुरा एउटा परिवारको लागि मात्र हैन, समाजकै लागि महत्त्वपूर्ण कुरा हो।
अन्त्यमा, मेरो त्यो कठिन समयमा हरपल मलाई साथ दिने मेरो श्रीमान्, मलाई धेरै माया गर्ने मेरो आमा र भाइ, मेरो आदरणीय भाउजू, म हस्पिटल हुँदा आफ्नो निद्रा माया मारेर मेरो र छोराको ख्याल राख्ने मेरो कान्छी सानिमा अनि साथी नबिनलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको मायाको कारण नै आज म यतिको छु। तपाईँहरू सबैको जय होस्, मङ्गल होस्।