आकाशमा भौँतारिँदै उडिरहेको चरीझैँ
आमा पनि परिवारकै लागि दिनरात भौँतारिइरहन्छिन्
एक एक त्यान्द्रा बटुलेर
सानो संसार बनाउँछिन्,
आफू भोकै बसेर पनि
सन्तानको मुखमा गाँस पुर्याउँछिन्
आमा सन्तानको न्यानोपन र शीतल छहारी हुन्।
आमा आफ्ना सन्तानलाई
गुँडभित्र मात्र सीमित राख्न चाहन्नन्
बरु जीवनका रङिन आकाशहरूमा
पंख फिँजाइ उड्न सिकाउँछिन्
लडेर फेरि उठ्न सिकाउँछिन्
हारभित्र पनि आशा खोज्न सिकाउँछिन्।
कसैले प्रेमको अर्थ सोधे
म आमालाई देखाउने छु
आमाको अथाह संघर्ष देखाउने छु
आमाका अनिदा रातहरू देखाउने छु
आमाको त्यागका कैयौँ गाथा सुनाउने छु।
मैले मायाको वास्तविक अर्थ
आमाको निस्वार्थ प्रेममा देखेको हुँ
अनेकौँ त्याग, अनेकौँ तपस्या,
दुख र पीडालाई मुस्कानभित्र लुकाएर
परिवारका लागि बाँचेको
त्यो समर्पणमा देखेको हुँ।
सायद आमा भनेकै
असंख्य जिम्मेवारीहरूको काँध हुन्
सहनशीलताको अथाह खानी हुन्
न भोकको पर्बाह हुन्छ,
न शोकको गुनासो हुन्छ।
परिवारमा आउने हरेक दुख, पीडालाई
आफ्नै छातीमा थामेर
अरूलाई सुरक्षित राख्ने साहस हुन्
जीवनका गोरेटोमा थाकेका सपनाहरूलाई
फेरि उठाउन सक्ने एउटा अदृश्य ऊर्जा हुन्।
आमा,
आफ्ना चाहनाहरूको बलिदान हुन्
आफ्ना रहरहरूको तिलाञ्जली हुन्
सन्तानहरूको प्यास मेटाउन पानी हुन्।
आमा त्यो जून हुन्,
जसले आफ्नै उज्यालो घटाएर
सन्तानको जीवन उज्यालो बनाइरहन्छिन्
आमा त्यो फूल हुन्,
जसले आफ्ना पीडाहरू ओइलाउन दिएर
घरभरि सुवास छरिरहन्छिन्।
सायद यही कारणले
यो संसारमा भगवान् खोज्न
मन्दिर धाउनुपर्दैन
आमा भगवान् हुन्,
जीवनकी सृष्टिकर्ता हुन्,
प्रेरणा, हर्ष, साहस, र अस्तित्व हुन्।
सन्तानको सफलता,
आमाको अधुरा सपनाहरूको परिणाम हो
आमाका अनिदा रातहरूको परिणाम हो
आमाको रहरहरूको बलिदानको परिणाम हो
त्यसैले,
आमा हुनु भनेको
प्रेमको आभास हुनु हो,
मायाको सच्चा अनुभूति हुनु हो,
त्यागको अर्को नाम हुनु हो,
जिम्मेवारीको बोध हुनु हो
र जीवनका सबै एक्लोपनहरूको पूर्णविराम हुनु हो।