बालविकासदेखि उच्च माध्यमिकसम्मको सिकाइको निरन्तरताले विद्यार्थीलाई अन्ततः कस्तो सोच्ने, कति बौद्धिक सक्षमता भएको र कस्ता मानव मूल्यसहितको नागरिक बनाउँछ भन्ने रूपरेखा पाठ्यक्रममा छर्लंग हुनुपर्छ। यसै अनुरूप यसको दर्शन निर्माण र दूरगामी दृष्टिको खाका कोरिनुपर्छ।
उपर्युक्त पंक्तिलाई आधार मानेर यस लेखको मर्म राखेको छु।
अबको राष्ट्रिय पाठ्यक्रम विद्यालयहरूलाई रोक्ने पर्खालभन्दा सबै बालबालिकालाई उभिन दिने बलियो आधार बन्नुपर्छ। यसको केन्द्रमा विद्यालय वा शिक्षालाई नियन्त्रण होइन, बालबालिकाको शैक्षिक उन्नयन हुनुपर्छ।
विद्यालय शिक्षा सुधारको बहस गर्दा हामी प्रायः विषय, पाठ्यपुस्तक, परीक्षा, घण्टी र कक्षागत समस्याबाट सुरु गर्छौं। पाठ्यक्रम निर्माणका मूल प्रश्न यिनमध्ये कुनै पनि होइनन्। ती पाठ्यक्रमले सम्बोधन गर्ने तपसिलका पक्षहरू मात्र हुन्।
पाठ्यक्रम लेखनको एक मात्र मूल प्रश्न हो — बालविकासदेखि उच्च माध्यमिकसम्मको शैक्षिक यात्रा पूरा गरेका विद्यार्थीहरू हामी कस्ता नागरिक बनेका देख्न चाहन्छौं?
विद्यार्थीले पढेर कति कुरा जानेका छन् भन्दा पनि तिनले के बुझेका छन्, कसरी सोच्छन्, आफ्ना विचारलाई कसरी परिमार्जन गर्छन्, समस्या कसरी हल गर्छन्, अरूसँग काम कसरी गर्छन्, जिम्मेवारी कसरी लिन्छन् र नयाँ कुरा आफै सिक्न कति सक्षम हुन्छन् भन्ने तत्त्वहरूलाई विद्यालय पाठ्यक्रमले मूलतः समेट्नुपर्छ।
उल्लिखित तत्त्वहरूको विकासले विद्यार्थीको अन्तिम समग्र स्वरूप निर्धारण गर्छ। यही स्वरूप या चरित्रका समूहहरू मिलेर दीर्घकालमा राष्ट्रको बृहत् चरित्र बन्छ।
ती तत्त्वहरूको विकास बालविकास कक्षाबाटै सुरू हुन्छ।
सानो बालकले पालो पर्खिन सिक्नु, प्रश्न सोध्नु, आफ्नो कुरा भन्नु, सुन्नु, कारण खोज्नु, गल्तीपछि फेरि प्रयास गर्नु नै यी पछि आउने जिम्मेवारी, तर्क, आत्मनियमन, सहकार्य जस्ता पक्षहरू सिकाइका प्रारम्भिक स्वरूप हुन्।
राष्ट्रिय पाठ्यक्रमले अन्तिम गन्तव्य तोकेर त्यसतर्फ जाने विकासक्रम कोर्नुपर्छ। बालविकास कक्षामा कुनै विद्यार्थीमा देखिएको कुनै एउटा गुण कक्षा ३ मा कस्तो बन्छ, अनि कक्षा ६ मा कति गहिरो हुन्छ र यसै क्रममा कक्षा १२ मा पुग्दा उसले कति परिपक्व रूप लिन्छ— यो सम्बन्ध पाठ्यक्रमको खाकामा स्पष्ट हुनुपर्छ।
हाल पाठ्यक्रम निर्माणमा जुटेकाले शैक्षिक गन्तव्य स्पष्ट गर्नुपर्छ। त्यसपछि मात्र कुन डिजाइन सिद्धान्त (design principles), कुन पाठ्यक्रम नमूना, कस्तो विषय संरचना र मूल्यांकनका कुन आधार लिन मिल्छ भन्ने निर्क्यौल गर्नुपर्छ।
अन्तिम गन्तव्य नबुझी बीचका साधनहरूलाई हचुवामा प्रयोग गरियो भने पाठ्यक्रम सतही रूपमा राम्रो देखिएला, तर पाठ्यक्रमका ती जीवन्त पक्षहरूले गन्तव्य दिशातर्फ काम गर्न सक्दैनन्।
मेरो विचारमा यस गन्तव्यको केन्द्रमा मानव मूल्यसहितको सोचको सक्षमता (thinking performance) हुनुपर्छ। यो भनेको ज्ञानको आधार लिएर विचार सक्षमताको विकास गर्ने हो।
विद्यार्थीले अवधारणागत तथ्य बुझ्न वा सम्झिन सक्छ कि सक्दैन भन्नेबाट सोचको सक्षमता सुरूआत हुन सक्छ।
तर उसले त्यसको आधारमा मौलिक व्याख्या गर्न सक्छ कि सक्दैन, तुलना गर्न सक्छ कि सक्दैन, कारण दिन सक्छ कि सक्दैन, प्रमाण छुट्ट्याउन सक्छ कि सक्दैन, नयाँ परिस्थितिसँग जोड्न सक्छ कि सक्दैन, आफ्नै निष्कर्ष आफैले जाँच्न सक्छ कि सक्दैन, यावत् कुराहरू शिक्षाको क्रममा गहिरिँदै जाने विचारका कार्यहरू हुन्।
पाठ्यक्रम केवल विषयवस्तुहरूको सूचीका रूपमा लिन हुँदैन। ती विषयगत आधार मात्र हुन सक्छन्। यथार्थमा विषयगत ज्ञान वा तथ्यहरू सोचको सक्षमता विकास गर्ने माध्यम हुन्। त्यस कारण के पढाउनेभन्दा कुन विषयवस्तुको आधारमा सोचको सक्षमता विकास हुन्छ, त्यसलाई पाठ्यक्रम लेखनमा मध्यनजर गरिनु पर्छ।
पाठ्यक्रममा विषयको क्षेत्रमा कुन तहसम्म के के सिकाइ समेटिने भन्ने स्पष्ट हुनुपर्छ। यसका लागि सिकाइको क्रम (sequence) मा कुन कुरा अघि र कुन कुरा पछि आउने भन्ने तार्किक आधारमा रहेको प्रणाली आवश्यक हुन्छ।
तर क्षेत्र र क्रम तोक्दैमा शैक्षिक प्रगति सुनिश्चित हुँदैन। यसलाई पाठ्यक्रम विज्ञहरूले विशेष ख्याल राख्नुपर्छ।
कति स्थानमा प्राविधिक तवरले क्षेत्र र क्रम मिलेको देखिन सक्छ, तर यहाँ बुझ्नुपर्ने के छ भने, त्यस्तो अवस्थालाई नजिकबाट जाँचिएन भने र त्रुटि रहेमा पुरानो शैली दोहोरिन सक्छ।
यसका साथै पाठ्यक्रमको बौद्धिक खाका एउटै रह्यो भने विद्यार्थीले प्रगति गर्न सक्दैनन्।
उदाहरण, कक्षा ३ मा कारण चिन्ने विद्यार्थी कक्षा ६ मा कारण तुलना गर्न, कक्षा ९ मा प्रमाण जाँच्न र कक्षा १२ मा विभिन्न प्रमाणको बल, सीमा र सम्भावित पक्षहरू विचार गरेर मौलिक निष्कर्ष बनाउन सक्ने हुनुपर्छ।
यसलाई सिकाइको क्रमबद्ध प्रगति (progression) भनिन्छ। उल्लेख गरिएका बौद्धिक खाकाको स्वरूपलाई पाठ्यक्रमको प्रक्रियागत ढंगले निर्देशित गर्नुपर्छ।
क्रम भनेको बाटो हो र क्षेत्र भनेको बाटो कति फराकिलो छ वा त्यसले समग्रमा कति स्थान ओगटेको छ भनेको जस्तो हो। प्रगतिक्रम भनेको विद्यार्थीको वैचारिक सक्षमतामा कति पर पुग्ने भन्ने हो।
यी तीन पक्षहरू पाठ्यक्रममा मेल खानुपर्छ। पाठ्यक्रम विज्ञहरूले यस मेललाई विशेष ध्यान पुर्याउनुपर्छ।
स्मरण रहोस्, पाठ्यक्रमको क्षेत्र विद्यालयका लागि पर्खाल बन्नु हुँदैन, यसले शैक्षिक जगको काम गर्नुपर्छ।
तर यसको दुरूपयोग रोक्न तोकिएका राष्ट्रिय शैक्षिक उद्देश्यका आधारमा एक राष्ट्रिय निर्देशिकाको निर्माण गरिनुपर्छ।
राष्ट्रिय पाठ्यक्रमले के सिक्नुपर्छ भन्ने सीमा दिन सक्छ। त्यस सीमाभित्र कति गहिराइमा जाने, कुन उदाहरण प्रयोग गर्ने, कुन सन्दर्भसँग जोड्ने, कति अभ्यास गराउने, कुन चरणमा सिकाइ समृद्ध गर्ने र विद्यार्थी तयार भएपछि कसरी अगाडि बढाउने भन्नेमा स्पष्ट मार्गदर्शनसहित विद्यालयलाई पाठ्यक्रमको स्वतन्त्र कार्यान्वयनका लागि ठाउँ दिनुपर्छ।
यो भनेको पाठ्यक्रमबाहिर जाने स्वतन्त्रता होइन। यो पाठ्यक्रमभित्र खुलेर काम गर्न पाउने स्वतन्त्रता हो। यसलाई पनि पाठ्यक्रम विकास केन्द्रले बुझेर आत्मसात गरी नयाँ पाठ्यक्रमको खाका कोर्नुपर्छ।
यदि पाठ्यक्रमको क्षेत्र र क्रमलाई जडताका साथ अन्तिम सीमा तोकियो भने सक्षम विद्यालयले पनि विद्यार्थीले पहिले नै हासिल गरेको सिकाइ फेरि दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ र शैक्षिक गहनताको मार्ग अवरूद्ध हुन सक्छ।
अर्कोतर्फ अत्यधिक खुलापन दिइयो भने राष्ट्रिय अपेक्षा कमजोर हुन सक्छ। यही सन्तुलन पाठ्यक्रम विज्ञहरूले मिलाउन आवश्यक छ। यो महत्त्वपूर्ण र कठिन कार्यलाई पाठ्यक्रम विकास केन्द्रका विज्ञहरूले गम्भीरताका साथ लिनुपर्ने देखिन्छ।
शैक्षिक वर्ष एक सीमित समय हो। नयाँ आवश्यकता देखिनेबित्तिकै नयाँ विषय वा नयाँ अध्याय थप्दै जाँदा गहिरो सिकाइका लागि समय घट्छ। पढाइ, लेखाइ, छलफल, अभ्यास, पुनरावृत्ति, प्रतिक्रिया, सुधार र प्रयोगका लागि समय पुग्दैन।
पाठ्यक्रममा समावेश गरिनुपर्ने हजारौं कुराहरू छन् र ती सबै समावेश गराइन सम्भव पनि छैन। तर पाठ्यक्रम क्षेत्र र क्रमको स्वायत्तताले अनावश्यक विषयवस्तु घटाउन मद्दत गर्छ। आवश्यकलाई बढाउन सकिन्छ।
त्यसैले पाठ्यवस्तु हल्का राख्दा उपयुक्त हुन्छ।
यहाँ पाठ्यक्रम हल्का राख्नु भनेको शैक्षिक अपेक्षा घटाउनु होइन। अनावश्यक सामग्री घटाएर महत्त्वपूर्ण सिकाइमा गहिराइ बढाउनु हो।
कम विषयवस्तु, स्पष्ट प्रगतिको खाका र विद्यालयलाई दिइएको क्षेत्रगत स्वतन्त्रताले शैक्षिक वर्षलाई यथार्थपरक कार्यान्वयन गर्न मद्दत गर्छ। सक्षम विद्यालयले राष्ट्रिय अपेक्षाभित्रै सिकाइ समृद्धि, विस्तार र गहिराइमा काम गर्न सक्छन्। स्रोत अपुग विद्यालयले आधारभूत सिकाइ सुरक्षित गर्न समय पाउँछन्।
अर्को अति महत्त्वपूर्ण कुरा उल्लेख गर्छु।
राष्ट्रिय पाठ्यक्रमलाई केवल लिखित पाठ्यक्रमका रूपमा मात्र बुझिन हुँदैन। यसले जडता सिर्जना गर्छ। मुख्य प्रश्न सूक्ष्म रूपमा लक्षित पाठ्यक्रमलाई लिखित पाठ्यक्रमले कसरी सम्बोधन गरेको छ भन्ने हो।
यो भनेको राष्ट्रले आफ्ना बालबालिकालाई वास्तवमा कस्तो सिकाइ अनुभव, कस्तो ज्ञान, कस्तो सोच र कस्तो मानवीय विकासतर्फ लैजान चाहेको छ भन्ने हो।
लिखित पाठ्यक्रम र अभिप्रेत वा लक्षित पाठ्यक्रमबीच दूरी भयो भने दस्तावेजमा ठूलाठूला र सुन्दर शब्दहरू आउलान् तर कक्षामा त्यसको कार्यान्वयन गर्न सकिँदैन।
उदाहरणका लागि, 'आलोचनात्मक सोच', 'सिर्जशीलता', 'नागरिकता', 'सहकार्य' वा 'जीवनोपयोगी सीप' लेख्न सजिलो छ।
ती गुणहरू बालविकासदेखि कक्षा १२ सम्म कुन कुन सिकाइ अनुभवबाट, कुन विषयगत ज्ञानसँग जोडिएर र कुन स्तरको कार्यसम्पादनमा विकसित हुन्छन् भन्ने स्पष्टता पाठ्यक्रमबाट दिनु चाहिँ कठिन काम हो।
त्यसैले विद्यार्थीको समग्र स्वरूप र सोचको कार्यसम्पादन पाठ्यक्रममा राखिएका सजावटी शब्दहरू होइनन्, तर ती शब्दहरूले विषयवस्तु, सिकाइ परिणाम, प्रगति र मूल्यांकनलाई कसरी मेल गराउन सक्छन् भन्ने हो।
यस्तै गरी विषयगत ज्ञान र मानवीय गुणलाई अलग अलग हेर्ने बानी गलत हो। शैक्षिक उत्कृष्टता र असल नागरिक बन्ने प्रक्रिया दुई छुट्टाछुट्टै परियोजना होइनन्। यी दुई कुराहरू पनि पाठ्यक्रम विकासका विज्ञहरूले पाठ्यक्रम निर्माण क्रममा सुसम्बद्ध गरून्।
उदाहरणका लागि, कुनै विद्यार्थीले विषयको प्रमाण नजाँची निष्कर्ष दिन्छ भने त्यो शैक्षिक कमजोरी मात्र होइन, निर्णय क्षमताको कमजोरी पनि हो। यहाँ प्रमाण नजाँचिनुले मानवीय मूल्य देखाउँछ भने विषयवस्तुले त्यो गुण विकास गर्ने माध्यम प्रदान गर्छ।
यस्तै उसले असहमति सुन्न सक्दैन भने त्यो केवल सामाजिक समस्या होइन, सिकाइको समस्या पनि हो।
स्पष्ट र प्रभावकारी पाठ्यक्रमले विषयगत ज्ञान, विचारको सक्षमता र मानवीय गुणलाई एउटै विकासक्रमको प्रक्रियामा राख्छ। तिनलाई मेल गराउँछ र त्यसरी पाठ्यक्रम मानवमूल्यसहित बन्छ।
प्रारम्भिक तहमा एकीकृत सिकाइको शैली महत्त्वपूर्ण छ। सानो बालकले भाषा, संख्या, प्रकृति, समाज, कला र खेललाई छुट्टाछुट्टै भाँडामा राखेर संसार बुझ्दैन।
एकीकृत पाठ्यक्रमको अर्थ विषयगत आधार हटाउनु पटक्कै होइन। पढाइ, लेखाइ, गणितीय सोच, विज्ञान सम्बन्धी ज्ञान र सामाजिक बुझाइ कुन क्रममा बढिरहेका छन् भन्ने स्पष्ट नक्साका आधारमा शिक्षण गर्नु पनि हो।
तसर्थ शैक्षिक विकास क्रममा जोडिएको प्रारम्भिक सिकाइबाट क्रमशः माथिल्ला कक्षा चढ्दै जाँदा विषयगत गहिराइतर्फ जाने संरचना पाठ्यक्रममा आवश्यक छ।
अबको पाठ्यक्रमले अपेक्षित सोचाइको स्तर पनि स्पष्ट गर्नुपर्छ। 'यो विषय पढाइयो' भन्नु पर्याप्त काम भएको होइन भन्ने कुरा स्पष्ट लेखिनुपर्छ।
विद्यार्थीले कस्तो काम गर्न सक्यो भने उसले अपेक्षित स्तर हासिल गरेको मान्ने भन्ने कुरा विद्यालय र शिक्षकले बुझ्न सक्ने खाका पाठ्यक्रमले दिनुपर्छ।
यो स्पष्टताबिना पाठ्यक्रमले एउटा कुरा, पाठ्यपुस्तकले अर्को र परीक्षाले तेस्रो कुरा माग्न सक्छ। त्यस्तो अवस्थामा पढाइ फेरि परीक्षाको परिणाम केन्द्रित बन्ने जोखिम रहन्छ।
मूल्यांकन पूर्ण रूपमा पाठ्यक्रमको उद्देश्यसँग मेल खानुपर्छ। यदि हामी सोचको कार्यसम्पादन, जिम्मेवारी, प्रयोग र सही निर्णयलाई महत्त्व दिन्छौं भने मूल्यांकनले पनि विद्यार्थीमा ती कुरा विकसित भइरहेका छन् कि छैनन् भन्ने जाँच्नुपर्छ।
मूल्यांकन कसरी गर्ने भन्ने प्राविधिक बहसभन्दा चुरो कुरा यसको निर्दिष्ट दिशा हो। यो भनेको पाठ्यक्रमले जे महत्त्वपूर्ण भन्छ, मूल्यांकनले पनि त्यही महत्त्वपूर्ण मान्नुपर्छ। यही मेल आउने पाठ्यक्रममा कसिलो होस्।
भाषा, स्थानीयता, व्यावहारिक सिकाइ र व्यावसायिक चेतनाका प्रश्न पनि यही ठूलो राष्ट्रिय पाठ्यक्रमको संरचनाभित्र आउँछन्।
नेपाल बहुभाषिक देश भएकाले भाषिक लचकता आवश्यक छ। यस्तै स्थानीय पाठ्यक्रमले साझा राष्ट्रिय आधारसँग सन्दर्भ मिलाउन पर्छ तर विद्यार्थीलाई अनावश्यक बोझ थप्न हुँदैन।
उदाहरणका लागि, कुनै स्थानीय तहमा भाषा विशेषको बाहुल्यता छ भने त्यो भाषा अन्य भाषीहरूलाई अनिवार्य गरिनु हुँदैन।
अन्तिममा अति महत्त्वपूर्ण कुरा राख्छु — पाठ्यक्रमको गुणस्तरलाई दस्तावेज कति राम्रोसँग लेखिएको छ भन्नेले तय गर्दैन। यसले नेपाली बालबालिकालाई कहाँ पुर्याउँछ भन्नेले तय गर्छ।
अरू सफल राष्ट्रबाट शिक्षा लिन सकिन्छ तर नेपालको सन्दर्भ कायम राखेर मात्र।
हामीलाई यस्तो राष्ट्रिय पाठ्यक्रम चाहिन्छ जसले बालविकासदेखि कक्षा १२ सम्म एउटै शैक्षिक दिशा देखाओस्, विद्यार्थीको समग्र स्वरूप क्रमशः विकास गरोस्, ज्ञानलाई सोच सक्षमताको आधार बनाओस्, सोचको कार्यसम्पादन देखाओस्, विषयको क्षेत्र स्पष्ट गरोस् तर त्यसलाई पर्खाल नबनाओस्, क्रम दिओस् तर प्रगतिलाई केन्द्रमा राखोस् र मूल्याङ्कनलाई ती पक्षहरूसँग बाँधोस्।
स्मरण राखौं, राष्ट्रिय पाठ्यक्रमको उद्देश्य सबै विद्यालयलाई उस्तै अनुहारका बनाउनु होइन। यसको काम सबै बालबालिकालाई शैक्षिक विकासको बलियो साझा आधार दिनु र त्यसको जगमाथि अझ राम्रो गर्न सक्ने विद्यालयलाई जिम्मेवार रूपमा अगाडि बढ्न दिनु हो।
***
(लेखक प्रविज्ञ रेग्मी एजुकेसन फर द नेक्स्टजेन र न्यू मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक अध्यक्ष हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)